s

गाउँमै रोजगारी पाउँदा खुसी

तनहुँ, असार ७ गते । व्यास नगरपालिका–१४ का लेखविक्रम थापा यति बेला सडक खन्ने कार्यमा व्यस्त हुनुहुन्छ । आर्थिक विपन्नताले गर्दा परिवारको खर्च धान्न निकै असहज भएको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाबाट उहाँले सय दिन बराबरको रोजगारी पाउनुभएको छ। बेरोजगारको सूचीमा सूचीकृत भएपछि थापाले रोजगारी पाउनुभएको हो।

त्यस्तै ज्याला मजदुरी गरी परिवारको खर्च चलाउँदै आएकी व्यास–६ की रोजिना सुनारलाई एक वर्षअघिसम्म परिवारको साँझ/बिहानको छाक टार्न धौ धौ थियो। उहाँलाई काम पाएको दिन त परिवारको जसोतसो छाक टथ्र्याे, नपाएको दिन भने भोकै बस्नु पथ्र्याे। सुनारले भन्नुभयो, “एक वर्षअघिसम्म मलाई घर खर्च चलाउन निकै समस्या थियो। काम पाएको दिन खर्च चलाइन्थ्यो तर काम नपाएको दिन भने छाक टार्न समस्या हुन्थ्यो रोजगारी पाएपछि सहज भएको छ।” हाल उहाँ आफ्नो वडाको बाटो, नाली र चौतारी निर्माणमा व्यस्त हुनुहुन्छ । उहाँ दैनिक रूपमा ६१६ रुपियाँ ज्याला आम्दानी गर्नुहुन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनामा काम गर्न थालेपछि उहाँको परिवारको भोक कसरी टार्ने भन्ने समस्या हटेको छ। उक्त कार्यक्रममा मजदुरका रूपमा काम पाएपछि हाल उहाँको परिवारमा पहिलेजस्तो घर खर्चको समस्या छैन। सुनार भन्नुहुन्छ, “गाउँघरमै काम पाएपछि नुन, तेल, चामल किनेर दैनिक छाक टार्न र बच्चाबच्चीको शिक्षा, स्वास्थ्यका लागि ऋण खोज्नु परेको छैन।” आफ्नै कमाइबाट घर खर्च पुगेपछि उहाँ खुसी हुनुहुन्छ। थापा र सुनारजस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमले व्यास नगरपालिकाका ८७ जनालाई खुसी दिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारीसँगै विकास निर्माणमा पनि सघाउ पु-याएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो। न्यौपाने भन्नुहुन्छ, “यस कार्यक्रमबाट विशेष गरी विपन्न समुदाय लाभान्वित भएको महसुस गरेको छु।” बेरोजगारहरूले न्यूनतम १०० दिन रोजगारी पाउने भएकाले यसले उहाँहरूको आर्थिक अवस्था सुधार गर्न मद्दत पुगेको न्यौपाने बताउनुहुन्छ।

एकल महिला, दलित र सहिद परिवारसँगै न्यूनतम आय भएका, वर्षभरि खान नपुग्ने, दैनिक जीविकोपार्जन गर्न मुस्किल भएका, आम्दानीका स्रोत नभएका बेरोजगार व्यक्तिलाई कार्यक्रममा समावेश गरिएको छ। गरिब परिवारको जीवनस्तरमा सुधार भएको प्रधानमन्त्री रोजगार कार्यव्रmमको संयोजक शुचिता थापाले बताउनुभयो।

संयोजक थापाका अनुसार चालु आर्थिक वर्षमा मात्रै व्यास नगरपालिकामा ३५७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका थिए जसमा अहिले ८७ जनाले मात्र रोजगारी पाइसकेका छन्।

आर्थिक रूपमा अति विपन्न परिवारका महिला र एकल महिलालाई प्राथमिकतामा राखेर रोजगारीमा संलग्न गराइएको नगरपालिकाले जनाएको छ। आगामी आव २०८०/८१ का लागि फागुन १ गतेदेखि मसान्तसम्म बेरोजगारका लागि सूचीकृत हुनका लागि नगरपालिकाले कार्यव्रmम अगाडि बढाएको छ।

Published on: 22 June 2023 | Gorkhapatra

Link

Back to list

;