s

गाउँमै रोजगार बैंक

तुलाराम पाण्डे

स्थानीय दुई हजार युवालाई रोजगारी, मासिक २१ हजार रुपैयाँ तलब श्रमयोग्य नागरिकलाई विकास निर्माणमा लगाइने, प्रतिव्यक्ति १० लाखको दुर्घटना बिमा

दक्ष जनशक्ति उत्पादन र परिचालन गर्न रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेको छ । बैंकका सदस्यले नगरका विकास निर्माण, उत्पादन, सामाजिक सुरक्षा, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनलगायत काम गर्नेछन् ।

कालीकोटको रास्कोट नगरपालिकाले खोलेको श्रम रोजगार बैंकका सदस्य । उनीहरूलाई नगरपालिकाले एकैखाले पोसाक व्यवस्था गरेको छ ।नगर प्रमुख काशीचन्द्र बरालले बिहीबार बैंक स्थापनाको घोषणा गर्दै युवालाई आफ्नै गाउँमा रोजगारी दिने उद्देश्य रहेको बताएका छन् । यसबाट भारतलगायतका मुलुकमा जोखिमपूर्ण काम गर्न युवा जाने क्रम रोकिने नगरपालिकाको विश्वास छ । ‘मानव स्रोत एकीकृत गरी दक्ष बनाएर परिचालन गर्छौं,’ नगर प्रमुख बरालले भने, ‘यो श्रमशक्तिले नयाँ रास्कोट निर्माण हुनेछ ।’

नगर उपप्रमुख मीमसरा बम शाहीले कार्यविधि निर्माण गरी प्रत्येक वडाबाट युवा छनोट गरिएको जानकारी दिइन् । १८ देखि ४० वर्षसम्मका महिला–पुरुष दुवैलाई बैंकको सदस्य बनाइएको छ । सबैलाई एकैखाले पोसाक व्यवस्था गरिएको छ । ज्यालाको भुक्तानी बैंक खातामार्फत हुनेछ । नगर प्रवक्ता टक्कबहादुर फर्सालका अनुसार साधारण लेखपढ गर्नेदेखि उच्च शिक्षा पढेका युवायुवतीलाई काम सुनिश्चित गरेर बैंकमा आबद्ध गराइने बताए ।

‘उनीहरूको पारिश्रमिकबाट १० प्रतिशत रकम बचत गर्न लगाउँछौं, थप १० प्रतिशत रकम नगरपालिकाले जम्मा गरिदिन्छ,’ उनले भने, ‘५० वर्ष उमेर पुगेर स्वतः अवकाश हुँदा बचत रकम एकमुष्ट दिन्छौं ।’ प्रतिसदस्य १० लाख रुपैयाँको दुर्घटना बिमा पनि नगरले गरेको छ । नगरपालिकाले २० जनाको समूह निर्माण गरेर काम दिने योजना बनाएको छ ।

उनीहरूलाई एक व्यवस्थापक र एक प्राविधिकमार्फत व्यवस्थित परिचालन गरिनेछ । नगरपालिकाले मुख्य व्यवस्थापक नियुक्ति गरी एक साताको तालिम पनि दिइसकेको छ । रोजगार बैंकका सदस्यलाई दिगो रोजगारीका लागि नियुक्तिसहितकोसदस्यता दिइनेछ ।

पहिलो चरणमा दुई सय सदस्यबाट सुरु गरिएको रोजगार बैंकले नगरका दुई हजार युवालाई रोजगार दिने लक्ष्य राखेको छ । उनीहरूलाई प्रतिमहिना करिब २१ हजार रुपैयाँ तलब दिनेगरी योजना बनाइएको वडा नं २ का अध्यक्ष दयाराम सिम्खडाले बताए ।

स्थानीय उत्पादन वृद्धि, सहज विकास निर्माण र आत्मनिर्भर अर्थतन्त्रका लागि नयाँ काम सुरु गरिएको निमित्त प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । नगरभित्रका श्रमयोग्य नागरिकलाई लक्षित गरेर अघि सारिएको यो योजनाबाट बेरोगार युवा उत्साहित छन् ।

Published on: 23 March 2019 । Kantipur

Back to list

;