s

गत चार सातामा विदेशमा थप १२ जना नेपालीको कोरोनाबाट निधन

चिरन शर्मा

 

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातामा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो।

संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ। 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन्।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार शनिबार साँझ (१० जुलाई) सम्म विदेशमा ९५ प्रतिशत नेपाली कोरोना संक्रमणमुक्त भएका छन्।

संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ। 

यसैबीच नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४ दशमलव ६ प्रतिशत अर्थात ६ लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणका कारण शनिबार  साँझसम्म ९ हजार ३ सय ८२ जनाको निधन भएको छ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ।

Published on: 13 July 2021 | Nagarik

Link

Back to list

;