s

गाम्काबिना पनि ओमानको मेडिकल हुन सक्ने संकेत

गाम्का मेडिकल वाहेकका मेडिकल सेन्टरले गरेको स्वास्थ्य परिक्षणलाई मान्न ओमनका केही रोजगारदाता राजी भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार पदमराज पौडेलले ओमनको एक बहुराष्ट्रिय कम्पनीले गाम्का मेडिकल बाहेकका मान्यताप्राप्त स्वास्थ्थ संस्थाबाट गरेको मेडिकल रिपोर्टको सक्कलै प्रति पठाइदिए त्यहाँको सरकारसँग छलफल गरी भीषा प्रक्रियाामा सहयोग पुर्याउने बचन दिएको बताए ।
 
यसले साउदी अरबसहित तीन मुलुकमा रोजगारीमा जाने कामदारले अनलाइन आवेदन भरेर क्रेडिट वा मास्टर कार्डमार्फत शुल्क भुक्तानी गर्नुपर्ने वाध्यताले उत्पन्न समस्या समाधानमा अल्पकालीन भएपनि राहत पुग्ने अपेक्षा गरिएको पौडेलले बताए । अनलाइन आवेदन मार्फत क्रेडिट वा मास्टर कार्ड मार्फत दश डलर भुक्तानी गर्नुपर्ने भएपछि करीब १५ दिन अघिदेखि साउदी सहित तीन देश जाने कामदारको स्वास्थ्य परीक्षण हुन सकेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वास्थ्य परीक्षणको शुल्क भुक्तानीमा देखिएको समस्या समाधान नभए ती देशका लागि कामदार पठाउन बन्द गर्ने चेतावनी दिएको छ । यसअघि दैनिक ३ सय ५० जना कामदारले ती तीन देशका लागि मेडिकल गर्दै आएका थिए ।
 
ओमनका रोजगारदातासँग छलफल चलाएमा गाम्का मेडिकलभन्दा बाहिरका मेडिकल भएको कामदारहरुको स्वास्थ्य परीक्षण रिपोर्टले पनि भीषा आउनसक्ने व्यवसायीहरुको अनुभव छ । करीब २ वर्ष अघि ओमनको नेशनल ट्रान्सपोर्टमा ड्राइभर पठाउँदा रोजगारदाताले गाम्का बाहेकको मेडिकलबाट गरेको मेडिकल रिपोर्टलाई स्वीकार गरी भीषा उपलब्ध गराउन सहयोग पु¥याएको अर्का एक व्यवसायीले बताए ।
 
नेपालमा सरकारको उदासिनताले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा कमजोर प्रविधि र जनशक्ति भएका मेडिकल सेन्टरहरु हाभी हुँदै आएका छन् । आधुनिक उपकरण भएका विर अस्पताल वा टिचिङ अस्पताल जस्ता सरकारी अस्पतालले गरेको स्वास्थ्य परीक्षण मान्य नहुने तर अल्पकालका लागि खुलेका मेडिकल सेन्टरहरुले गरेको स्वास्थ्य परीक्षणलाई सजिलै स्वीकार गर्ने प्रवृत्ति देखिएको छ । हाल गाम्का अन्तरगतका मेडिकलले ५ हजार ५ सय शुल्क लिएर गर्ने स्वास्थ्य परीक्षण शिक्षण अस्पतालले २ हजार ८ सयमा गरिरहेको संघका अध्यक्ष रोहन गुरुङको भनाइ छ । तर सरकारी पक्षबाटै यसमा अडान लिने क्षमता प्रर्दशन हुन नसकेको व्यवसायीहरुको भनाइ छ ।
 
Published on: 11 March 2018 | Madhyanha

Back to list

;