s

गैरकानुनी कामदारलाई कुवेतमा आममाफी

 
होम कार्की
 
पहिलो दिनमै २ सय ६१ जनाले ट्राभल डकुमेन्ट बनाए 
कानुनी हैसियतको लागि करिब दुई लाख लाग्ने 
 
कुवेतले आवासीय कानुन उलंघन गरी बिनाभिसा बस्दै आएका कामदारलाई आममाफी दिने एक महिने कार्यक्रम सोमबारबाट लागु गरेको छ ।
 
यसले अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि बिनासजाय स्वदेश फिर्ने अवसर मिलेको छ । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालका अनुसार यातायातमा प्रतिबन्ध लागेकाबाहेकका कामदारलाई आउदो २२ फेब्रुअरीभित्र कुवेत छाड्न पाउने सुबिधा दिइएको हो । स्वदेश फिर्नका लागि पहिलो दिनमै २ सय ६१ जनाले दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका छन् । जसमा १ सय ९७ महिला र ६४ जना पुरुष छन् ।
 
दूतावासका अनुसार कुवेतले बिना भिसा काम गरेका कामदारलाई जरिवाना (गरामा) तिरेर भिसा लगाएर कुवेतमा बस्न वा जरिवाना नतिरी आफ्नो देश फर्कन पाउने बिकल्प दिएको छ । जरिवाना निकै महुंगो पर्ने भएकाले अधिकांस नेपाली फर्किने पक्षमा देखिएका छन् । कानुनी हैसियतको लागि करिव दुई लाख रुपैयाँ जरिवाना भुक्तानी गर्नुपर्छ ।
 
‘आवासीय भिसा नलगाई कुवेतमा बसिरहेका र कुनै मुद्धा नभएका तथा यात्रा निषेध आदेश जारी नभएका नेपाली कामदारको हकमा आफूसँग सक्कल राहदानी भए टिकटको ब्यबस्था गरी सिधै कुवेत बिमानस्थलबाट स्वदेश फिर्न वा भिसा नवीकरण गर्न पाउने सुबिधा छ,’ उनले भने । आम माफीको यो अवसरको घरेलु कामदारहरुले फाइदा लिन सक्ने पनि राजदूत हमालले बताए ।
 
कुवेतमा झन्डै ३० हजार नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । घर मालिकको शारीरिक, मानसीक यातना र अत्याधीक श्रम शोषणामा परेका हाउसमेडहरु घर (स्पोन्सर) छाडेर भाग्ने गरेका छन् । उनीहरु बाहिर कोठा लिई अवैध ढंगले काम गर्दै आएका छन् । त्यसरी भागेर समस्या परेका नेपाली महिलाहरु प्रतिबन्धित कार्यमा समेत प्रयोग हुने गरेको पाइएको छ । कतिपय नेपालीले प्रलोभन देखाएर हाउसमेडलाई घरबाट भगाएर आफैसँग राख्ने कार्य समेत गर्दै आएका छन् ।
 
‘सिधै घर जान पाउने सुबिधाले म निकै खुसी छु । यो नरकबाट मुक्त हुन पाउने भएँ,’ ८ बर्षदेखि स्पोन्सरलाई छाडेर बसेकी सिन्धुपाल्चोककी रुपमाया थिङले भनिन्, ‘मालिक्नीले जति काम गर्दा पनि देख्न सकेकी थिइनन् । धेरै पिट्न थालेपछि भागेर बाहिर आएँ । बाहिर पनि त्यति नै सास्ती खेप्नुपरेको थियो ।’
 
दुतावासले आममाफीलाई अधिकतम सदुपयोग गर्न नेपालीलाई अपिल गरेको छ । ‘कम्पनी तथा रोजगारदाताको घरबाट भागेका भनी मुद्धा/उजुरी परेका नेपाली कामदारले आआफ्नो राहदानी, सिभिल आइडी, नागरीकताको सक्कल सहित वा फोटोकपी लिई दूतावासमा सम्र्पक राख्न अनुरोध छ,’ हमालले भने, ‘नेपाल फर्कन चाहने तर साथमा कुनै कागजात नभएकालाई पनि आवश्यक प्रक्रिया पुरा गरी नेपाल पठाउन दूतावासबाट सहजीकरण गर्नेछ ।’
 
भिसा नवीकरणका लागि कामदारहरु आवासीय मामिला विभागमा जानुपर्नेछ । ‘आपराधिक गतिबिधि तथा अन्य कुनै कसुरमा मुद्दा परेका, वैंकबाट ऋण लिएका, मोवाइल फोन लगायतका सामानहरु किस्तावन्दीमा लिए वापत सम्बन्धीत कम्पनीमा तिर्नुपर्ने रकम नतिरेका कारण यात्रा आदेश जारी भएकाहरु भने मुद्धाको फर्छयौट नभएसम्म नेपाल फिर्न मिल्दैन,’ हमालले भने ।
 
Published on: 30 January 2018 | Kantipur

Back to list

;