s

गैरकानुनी रूपमा मलेसियामा रहेका ६ हजार नेपाली फर्किन इच्छुक

मलेसियामा गैरकानुनी रूपमा रहँदै आएका करिब ६ हजार नेपाली कामदारले स्वदेश फर्किनका लागि नेपाली दूतावासमा निवेदन दिएका छन् । मलेसिया सरकारले अवैध रूपमा काम गर्दै आएका आप्रवासीका लागि घोषणा गरेको ब्याक फर गुड कार्यक्रममार्फत स्वदेश फर्किनका लागि ५ हजार ७ सय कामदारले निवेदन दिएका हुन् ।

मलेसियामा नेपाल, इन्डोनेसिया, बंगलादेश, म्यानमारलगायतका मुलुकबाट ठूलो संख्यामा रोजगारीका लागि पुगेका छन् । भ्रमण भिसामा जाने, कम्पनी परिवर्तन गर्ने, भिसा नवीकरणको म्याद गुजार्नेलगायतका कारणले कतिपय कामदार गैरकानुनी रूपमा मलेसियामा रहँदै आएका छन् । यस्ता कामदरालाई स्वदेश फिर्ता गराउन मलेसिया सरकारले ब्याक फर गुड कार्यक्रमको घोषणा गरेको हो । यस कार्यक्रममार्फत गैरकानुनी रूपमा मलेसियामा रहँदै आएका कामदार स्वदेश फर्किन सक्नेछन् । मलेसिया सरकारले अगस्ट १ गतेदेखि स्वदेश फिर्ता हुन चाहने कामदारलाई आवेदन दिन दिएको समय डिसेम्बर ३१ मा सकिएको छ । नेपाली दूतावासमा निवेदन दिएकामध्ये केही फर्किसकेका छन् भने अधिकांश फर्किने प्रक्रियामा रहेको मलेसियास्थित नेपाली दूतावासकी भिसा कन्सुलर एसु बस्नेतले बताइन् ।

ट्राभल डकुमेन्ट चाहिने

मलेसियन सरकारले घोषणा गरेको ब्याक फर गुड कार्यक्रममा सहभागी हुन कामदारसँग ट्राभल डकुमेन्ट हुनुपर्नेछ । अवधि रहेका राहदानी वा आपत्कालीन कागजपत्र भएका विदेशी कामदार यस कार्यक्रममा सहभागी हुन पाउनेछन् । ट्राभल डकुमेन्ट नभएका कामदारले सम्बन्धित मुलुकको दूतावास वा उच्च आयोगमा निवेदन दिनुपर्नेछ । भिसा अवधिभन्दा बढी समय रहेका विदेशी कामदार, मान्यताप्राप्त पास वा अनुमति नभएका कामदार पनि यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रममा सहभागी हुन कामदारले ७ दिनअगाडिको हवाई टिकट निवेदनका साथ बुझाउनुपर्नेछ ।

७ सय रिंगेट जरिवाना

स्वदेश फिर्ता कार्यक्रमबाट नेपाल फर्किन चाहने नेपाली कामदारले जरिवानास्वरूप ७ सय रिंगेट बुझाउनुपर्नेछ । पासपोर्ट नहुनेहरूले एकतर्फी यात्रा अनुमतिपत्र बनाउन दूतावासलाई १ सय ६० रिंगेट भुक्तानी गर्नुपर्छे । दूतावासका अनुसार मलेसियाबाट नेपाल फिर्ता हुन चाहने कामदार आफैँले हवाई टिकट काट्नुपर्नेछ । राहदानी वा दूतावासबाट बनाइएको एकतर्फी यात्रा अनुमतिपत्र लिएर सीधै मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्नेछ । अध्यागमन कार्यालयमा निवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकट बुकिङको प्रतिलिपिसमेत अनिवार्य साथमा लिएर जानुपर्नेछ ।

कार्यक्रममा सहभागी नहुनेलाई धरपकड गर्ने

मलेसियन सरकारले जारी गरेको सूचनाअनुसार घर फिर्ता कार्यक्रममा सहभागी नहुने गैरकानुनी कामदारलाई कारावास सजाय हुनुका साथै कोर्रा लगाइने र जरिवानासमेत हुनेछ । मलेसियन सरकारले २०११ देखि गैरकानुनी कामदार हटाउने अभियान चलाएको हो ।

मलेसियाले आममाफी, वैधानिकीकरण, पुनः रोजगारीलगायत विभिन्न आधा दर्जन अवसरयुक्त कार्यक्रम सञ्चालन गरिसकेको छ । तर, अपेक्षित रूपमा त्यस्ता कामदारको संख्या घट्न सकेको छैन । त्यसैले त्यस्ता कामदारविरुद्ध खोजी र धरपकड अभियानसमेत सँगसँगै चलाउँदै आएको छ ।

किन गैरकानुनीमा रूपमा बस्छन् नेपालीहरू ?

नेपालबाट बर्सेनि करिब साढे ५ लाख नेपाली वैैदेशिक रोजगारीका लागि बिदेसिन्छन् । अधिकांश नेपाली कामदारको गन्तव्य मुलुक मलेसिया हो । मलेसिया अन्य मुलुकको तुलनामा कानुनी रूपमा खुला भएकाले धेरै नेपाली कामदार गैरकानुनी रूपमा रहने गरेको नेपाली दूतावासले जनाएको छ । कतिपय भ्रमण र सामाजिक कार्यक्रमका लागि मलेसिया जाने नेपाली कामदार फर्किंदैनन् । यस्ता मानिस मलेसियाका लागि गैरकानुनी हुन्छन् ।

मलेसियामा गैरकानुनी रूपमा बस्दा के हुन्छ ?

मलेसियामा करिब ३ लाख ५० हजार नेपाली कामदार छन् । जसमध्ये करिब १५ हजार गैरकानुनी रूपमा रहेको मलेसियास्थित नेपाली दूतावासको अनुमान छ । जसमध्ये करिब आधाले स्वदेश फिर्ताका लागि आवेदन दिएका छन् । तर, अझै करिब ७ हजार कामदार गैरकानुनी रूपमा मलेसियामा रहेको दूतावासको अनुमान छ ।

गैरकानुनी कामदारले रोजगारदाताले तलब, अन्य सुविधा नदिएको खण्डमा दाबी गर्न पाउँदैनन् । इमिग्रेसनले समातेको खण्डमा ३ हजार रिंगेट (९० हजार रुपैयाँ) जरिवाना र १ सय रिंगेट (३ हजार रुपैयाँ) अन्य शुल्कसहित नेपाली ९३ हजार रुपैयाँ भुक्तानी गरेर स्वदेश फर्किनुपर्छ । त्यसका लागि कामदार आफैँले हवाई टिकट खरिद गर्नुपर्छ । तर, मलेसिया सरकारले हाल सञ्चालन गरेको ब्याक फर गुड कार्यक्रममा सहभागी भएर स्वदेश फर्केमा वास्तविक जरिवानाको २५ प्रतिशत अर्थात् ७ सय रिंगेट (२१ हजार रुपैयाँ) भुक्तानी गरेर फर्किन सक्नेछन् । धरपकड गरिएका कामदारलाई मलेसियन सरकारले टिडेसन क्याम्पमा दुई महिनासम्म राख्नेछ । त्यसपछि आफैँले टिकट काटेर फर्किनुपर्नेछ ।

Published on: 1 January 2020 | Naya Patrika

Link

Back to list

;