s

गैरआवासीय नेपाली र दोहोरो नागरिकता

देवमान हिराचन

विश्वभरि छरिएर रहेका नेपालीको साझा संगठन 'गैरआवासीय नेपाली संगठन' पाँचौँ विश्वसम्मेलनको संघारमा छ । विश्वभरका नेपालीलाई एकै मञ्चमा उभ्याएर उनीहरूका आशा-आकांक्षालाई संस्थागत रूपमा प्रतिबिम्बित गर्दै मातृमूमि नेपाल र नेपालीको उन्नति एवं प्रगतिमा सहभागी बन्ने/बनाउने उद्देश्यले नौ वर्षअघि गैरआवासीय नेपाली संगठन स्थापना हुँदा संस्थाको भविष्यबारे कुनै अन्योल या द्विविधा थिएन । तथापि, यात्रा सहज थिएन र उद्देश्यलाई कसरी साकार रूप दिने भन्नेमा किञ्चित अन्योल रहनु पनि अस्वाभाभिक थिएन । तर, पवित्र उद्देश्यले स्थापित संस्था र उद्देश्य प्राप्तिका लागि निःस्वार्थ एवं इमानदारीसाथ लागिपर्ने अगुवा एनआरएनका अग्रज र विश्वभर फैलिएर मातृभूमिप्रतिको प्रेमबाट विमुख नभई लागिपर्ने गैरआवासीय नेपालीको अथक परिश्रमका कारण आज यसले उद्देश्यअनुरूप एउटा सुदृढ स्वरूप र गति लिइसकेकामा सन्देह छैन ।

यसरी एनआरएनएको दुःखसुखपूर्ण लगभग नौ वर्ष गुजि्रसकेको छ र स्थापनाकालयताको पाँचौं कार्यसमिति हाल क्रियाशील छ । ०६६ को असोजमा सम्पन्न चौथो सम्मेलनबाट नयाँ नेतृत्व चुनिएयता गैरआवासीय नेपाली संगठनले धेरै काम सम्पन्न गरिसकेको छ । वर्तमान कार्यकालको आरम्भताका डेनमार्कको कोपनहेगनमा आयोजित जलवायु परिवर्तन सम्मेलनमा आयोजित र्‍यालीमा सहभागिता जनाउने कामबाट सुरु भएको यात्रामा दोहोरो नागरिकतासम्बन्धी कार्यदल लगायत दर्जनभन्दा बढी कार्यदल तथा कमिटी गठन गर्ने काम सम्पन्न भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सयौंको संख्यामा ट्रली वितरण गर्ने, नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा इलम प्रशिक्षण केन्द्रलाई सघाउन लाखौँ आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने, नेपाल हस्तकला महासंघसँग समझदारी गरी गैरआवासीय नेपालीको सहयोगमा स्वदेशी हस्तकलाका सामान मुलुकबाहिर निर्यात गरी नेपालको अर्थतन्त्रमा सहयोग पुर्‍याउने, खुला विश्वविद्यालय सञ्चालनार्थ पहलकदमी लिने, नेपाल भ्रमण वर्ष २०११ लाई सार्थक बनाउने उद्देश्यले सम्बन्धित निकायहरूसँगको सहकार्यमा पर्यटन प्रवर्द्धनार्थ विभिन्न कार्यक्रम गर्नेजस्ता काम बितेका डेढ-दुई वर्षमा एनआरएनएले गरेका प्रमुख काम हुन् ।

यसैगरी नेपाल तथा विदेशमा सहभागिता जनाइएका विभिन्न सभा, सम्मेलन तथा गोष्ठीहरूको छुट्टै फेहरिस्त बन्न सक्छ जो गैरआवासीय नेपाली र नेपाल राष्ट्रकै बहुआयामिक हितमा समर्पित थिए । यस क्रममा सर्वाधिक महत्त्वसाथ गैरआवासीय नेपाली संघले पहलकदमी लिएको र निकै हदसम्म सफलता पनि हासिल गरेको कामचाहिँ एनआरएनलाई दोहोरो नागरिकता दिलाउने नै हो ।

नेपाल यतिबेला राजनीतिक रूपले संक्रमणको अवस्थाबाट गुजि्ररहेको यथार्थसँग कोही अनजान छैन । राजनीतिक रूपले अशान्त र अस्थिर भएपछि आर्थिक, सामाजिक र सुरक्षाका दृष्टिले पनि देश कमजोर हुनु स्वाभाविक नै छ, जो नेपालले यतिबेला भोगिरहेको यथार्थ हो । मातृभूमिलाई माया गर्ने प्रत्येक गैरआवासीय नेपाली मुलुकको यस्तो अवस्थाप्रति दुःखित र चिन्तित छन् । सबैको सरोकारको विषय यतिबेला मुलुकको शान्ति र स्थायित्व नै बनेको छ । यसबाट एनआरएनए अलग रहन सक्दैन । अर्थात्, हाम्रो साझा सपना नै सुन्दर, शान्त र समृद्ध नेपाल हो । हामीले भन्दै आएका छौँ, जहाँ रहे पनि हामीले खोजेको र रोजेको नेपाल यही हो- सुन्दर, शान्त र समृद्ध ! मुलुक शान्त र समृद्ध भए मात्र विश्वको जुन कुनामा रहे पनि एउटा नेपालीको छाती गर्वले फराकिलो बन्न सक्छ । तसर्थ, गैरआवासीय नेपालीको यो भावना बुझ्दै मुलुकको विकासका लागि हाम्रो भूमिकाको खोजी गर्नु, आकषिर्त तुल्याउने पूरापूर प्रयत्नका साथ सहजीकरण गर्नु नेपाल सरकारको दायित्व हो ।

गैरआवासीय नेपालीलाई नेपालआमाकै सन्ततिका रूपमा बुझेर मुलुकका लागि केही गरौँ भन्ने उनीहरूको आकांक्षालाई कदर गर्नुपर्छ । गैरआवासीय नेपालीको सीप, ज्ञान र लगानी देशमा यथशीघ्र र यथाशक्य बढी भित्रियोस् भन्ने ध्येय सरकारको हुनुपर्छ र यसका लागि छिटोभन्दा छिटो एनआरएनले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्छ । मूल रूपमा दोहोरो नागरिकताको व्यवस्थासम्बन्धी जुन आवाज हामीले उठाउँदै आएका छौँ यसप्रति विशेष रूपले सरकार तथा समस्त सरोकारवाला निकाय गम्भीर बनेर तत्काल निर्णयमा पुग्नु अत्यावश्यक छ ।

नेपाल र नेपाली समृद्ध भए मात्र हामी गैरआवासीय नेपाली पनि समृद्ध तथा शक्तिशाली हुन्छौँ भन्ने हामीलाई राम्रोसँग ज्ञान छ । गैरआवासीय नेपालीको हकअधिकार सुनिश्चित गरी उनीहरूलाई मातृभूमि नेपालसँग एक सूत्रमा बाँध्ने आधारको विकास गर्नु नेपाल सरकार र गैरआवासीय नेपाली दुवैको साझा कर्तव्य हो । नेपालको आर्थिक, सामाजिक, संस्कृतिक आदि बहुआयामिक विकासमा गैरआवासीय नेपालीको भूमिकालाई परिस्कृत र व्यापक बनाउँदै विकास कार्यमा साझेदार बनाउनु आजको आवश्यकता हो भन्नेमा ध्यान पुग्नुपर्छ । यतिबेला विश्वभर छरिएर रहेका नेपालीबीच आपसी एकता र मातृभूमिका लागि केही गर्दै नेपाललाई विश्वमा चिनाउनुपर्छ भन्ने सामूहिक भावनाको विकास भएको छ । यसले नेपाली हुनुको गर्व महसुस गराउँदै नेपाल र नेपालीप्रति एक हदसम्म आफ्नो पनि दायित्व, कर्तव्य या जिम्मेवारी छ भन्ने गैरआवासीय नेपालीलाई बोध गराएको छ । यो अत्यन्त महत्वपूर्ण र सकारात्मक कुरा हो । जहाँसम्म दोहोरो नागरिकता प्रदान गरिनुपर्ने या एकपटक प्रदान गरिएको नेपाली नागरिकता नखोसियोस् भन्ने मागको सन्दर्भ छ, यसअघि 'एनआरएन परिचयपत्र' प्रदान गर्नुपर्ने मागको सम्बोधन गरेर नेपाल सरकारले गैरआवासीय नेपालीको कदर गर्ने सवालमा चुस्त कदम अघि सारिसकेको छ र अब दोहोरो नागरिकताको सवाललाई संविधानमा स्पष्ट उल्लेख गर्दै सम्बोधन गरिदिए एनआरएनहरूमा मातृभूमिप्रति थप जिम्मेवारी, थप प्रेम जागृत हुनेमा रत्तिभर सन्देह रहँदैन ।

गैरआवासीय नेपालीका सन्तानहरूलाई उनका पितापुर्खाको थलोसँग आत्मीयभावका साथ जोडेर सम्बन्ध अखण्ड र विकसित राख्नका लागि मात्र दोहोरो नागरिकताको मुद्दा सान्दर्भिक बन्न पुगेको होइन । यसले गैरआवासीय नेपालीमा नेपालप्रतिको राष्ट्रप्रेमको भावना बढाउने, सेवाभावमा अभिवृद्धि ल्याउने, नेपाली भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, मूल्य र मान्यतालाई संसारभर प्रचार गराउन मद्दत पुर्‍याउनेमा शतप्रतिशत विश्वस्त रहन सकिन्छ । अझ महत्त्वपूर्ण त हालको नेपाली पुँजी पलायनलाई रोक्न पनि मद्दत गर्नुका साथै समष्टिगत रूपमा नेपालको आर्थिक, भौतिक, सामाजिक तथा सर्वाङ्गीण विकासमा मेरुदण्डको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई उत्प्रेरणा मिल्नेछ । यसलाई सारमा भन्नुपर्दा दोहोरो नागरिकताको व्यवस्थाले 'एकपटकको नेपाली सधैंका लागि नेपाली' भन्ने अवधारणालाई सार्थक र संस्थागत तुल्याउनेछ ।

एनआरएनलाई दोहोरो नागरिकता प्रदान गर्नुपर्ने एजेन्डा लिएर बितेको वर्ष दिनभित्र गैरआवासीय नेपाली प्रतिनिधि मण्डलले सबैजसो प्रमुख राजनीतिक दल एवं दलका नेता, प्रधानमन्त्री, मन्त्रीहरू र अन्य निकायसँग पनि पटकपटक भेट गरी यसको आवश्यकता र उपयोगिताबारे अवगत गराउने काम भएको छ । सबैले यस मुद्दालाई सकारात्मक भनी स्वीकार गरेका पनि गरेका छन् । अब ढिलाइ नगरी संविधान निर्माण होस् र नयाँ संविधानमा दोहोरो नागरिकताको प्रावधान स्पष्ट रूपमा उल्लेख होस् भनी हामी आग्रह गर्छौं । लेखक एनआरएनएका अध्यक्ष हुन् ।

Published on: 7 September 2011 | Kantipur

Back to list

;