s

गैरआवासीय नेपालीमा कोरोना संक्रमणको दर घट्यो, हालसम्म एक सय २५ गैरआवासीय नेपालीको कोरोना संक्रमणबाट निधन

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार (६ जुन २०२०) साँझसम्म विदेशमा रहेका नेपालीहरूको मृत्यु र संक्रमणको दरमा उल्लेख्य रूपमा कमी आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यस साता विदेशमा ६ जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ भने पाँच हजार पाँच सय ९० जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणदर गतसाता भन्दा ७५ प्रतिशतले कमी हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता कतारमा चारजना, कुवेतमा एकजना, बेलायतमा एकजना गरी ६ जनाकाे कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

संघको पछिल्लो तथ्यांकअनुसार हालसम्म विभिन्न विदेशमा एक सय २५ जना गैरआवासीय नेपालीको कोरोनाका कारणले निधन भएको छ । 

संघअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपाल कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

१३ देशमा रहेका नेपालीको ज्यान गएको छ । 

कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार चार सय ५४ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । 

नेपाल फिर्तीलाई व्यावहारिक बनाउन आग्रह

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सुरुवातको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । 

सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागतयोग्य भएको बताए ।

सरकारले लकडाउन भएको ७४ दिन पहिलोपटक बर्माबाट २६ र युएईबाट एक सय ६८ जना नेपाली फर्काएको छ । 

विदेशबाट नेपाल फर्किन लागेका  अन्य नेपालीको फिर्ती प्रक्रियालाई व्यावहारिक बनाउन संघले नेपाल सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष पन्तले नेपालीको फिर्तीको लागि भोगेका समस्याबारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने बताए ।

Published on: 7 June 2020 | Nayapatrika

Link

Back to list

;