s

गैरकानुनी कामदारलाई उपचार समस्या

रामचन्द्र गिरी
एक निजी निवासमा सुरक्षा गार्ड सर्लाहीका मनोज यादव (नाम परिवर्तन) २ साताअघि टाउको दुख्ने र ज्वरो आउने समस्याले थलिए । सँगै कार्यरत झापाका किरण गुरागाईंले स्थानीय मेडिकलबाट औषधि ल्याएर खुवाए । ३ दिन बित्दा पनि निको भएन ।

‘अस्पताल लगौं गैरकानुनी हैसियतमा छन्, नलगौं अवस्था दयनीय हुँदै गयो,’ गुरागाईंले भने । त्यसपछि उनले जुक्ति निकाले, नबुझिने गरी आफ्नै राहदानीको एक प्रति फोटोकपी गराएर सोही आधारमा अस्पताल भर्ना गराए । अस्पतालमा उनको नाम मनोजबाट किरण भयो । ‘२ वर्षदेखि गैरकानुनी अवस्थामा छु,’ यादवले भने । ४ दिनको उपचारपछि क्वालालम्पुर जनेरल अस्पतालबाट डिस्चार्ज हुने क्रममा भेटिएका उनी गुरागाईंप्रति आभारी थिए ।

गत वर्ष एक नेपाली सडक दुर्घटनामा गम्भीर घाइते भए । बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले नजिकैको क्वालाकुवुबारु अस्पताल पुर्याभयो । उनका साथमा पहिचान खुल्ने कागजात थिएन । तैपनि, आकस्मिक उपचार थालियो । वर्ष दिनसम्मको उपचारमा स्वास्थ्यमा सुधार त आयो तर बोल्न सकेनन् । त्यसपछि अस्पतालले उनी नेपाली भएको शंकामा दूतावासलाई खबर गर्योर । करिब ३ महिनाको प्रयासपछि मात्र पाँचथरका धनकुमार राई भएको खुल्यो । ‘अस्पताल पुगेर थप बुझ्यौं अनि उनको हुलिया लिई प्रवासी नेपाली समन्वय समितिको सहकार्य र प्रमाणका आधारमा कागजात तयार पारेर स्वदेश फर्कायौं,’ दूतावासका श्रम सहचारी बुद्धिनाथ भट्टराईले भने, ‘आकस्मिक अवस्थाका बिरामीलाई अस्पतालले उपचार अनुमति दिन्छन् तर कागजपत्र नहुँदा उपचारमा
समस्या हुन्छ ।’

उनका अनुसार दूतावासले कम्पनी छाडेर भागेका र बिरामी परेकालाई कम्पनीमा सम्पर्क गरी जिम्मा लगाउने गरेको छ । बिरामी परेकाको हकमा मात्र नभई गैरकानुनी हैसियतमा हुनेहरूको मृत्यु भएमा झन जटिल समस्या आउँछ । ‘त्यस्तो अवस्थामा परिवारले मञ्जुरी जनाएपछि सकभर रोजगारदाता वा परिवार तथा त्यो सम्भव नभए वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको खर्चमा शव नेपाल पठाउनुपर्छ,’ भट्टराईले भने, ‘कतिपयको पहिचान खुल्न नसकेर महिनौंसम्म शव अलपत्र पर्छ ।’ एक शव नेपाल पठाउन ४ देखि ६ हजार रिंगिट खर्च हुन्छ । कतिपयको शव पठाउने खर्च परिवारले बेहोर्न नसक्दा पारिवारिक सहमतिमा मलेसियामै दाहसंस्कार गर्ने गरिएको छ । त्यसरी दाहसंस्कार गर्न ३ हजार रिंगिट खर्च हुन्छ ।

मलेसियामा गैरकानुनी हैसियतका विदेशी कामदारलाई कुनै स्वास्थ्य संस्थामा उपचार गराउनुअघि वैध अवस्थामा रहेको पहिचान खुल्ने कागजात चाहिन्छ । गैरकानुनी हैसियतमा हुनेहरू विरामी परे पक्राउ परिने डरले अस्पताल जान डराउँछन् । त्यस्ता व्यक्तिले यादवकै जस्तो नक्कली कागजात पेश गर्नु पर्छ । करारअवधिमा विरामी भए रोजगारदाताले उपचार खर्च बेहोर्छन् । केही रोजगारदाताले बेवास्ता गर्ने, खर्च तलबबाटै कटौती गर्ने
भएकाले कामदार मर्कामा पर्ने गरेका छन् ।


Published on: 1 August 2015 | Kantipur
 

Back to list

;