s

गाडी धनीले ब्लडमनी नदिँदा जेलमा

होम कार्की

गाडी धनीले ब्लडमनी नतिर्दा चाँतरा बराहक्षेत्र ६, सुनसरीका ३६ वर्षीय भूपाल बस्नेत नौ महिनादेखि साउदी अरबको जेलमा छन् । 

बस्नेतलाई साउदी जाने क्रममा रियाद विमानस्थलबाटै गत २२ मेमा पक्राउ गरिएको थियो । ‘अर्को कम्पनीमा काम गर्न साउदी आएको थिएँ । पुरानो मालिकले साउदी नागरिकलाई दिनुपर्ने ब्लडमनी दिएका रहेनछन् । चालकको हैसियतले मलाई पक्राउ गरेर राखिएको छ,’ उनले फोनबाट भने, ‘ब्लडमनी नतिरेसम्म जेलमै राख्ने प्रहरीले बताएको छ ।’ 

उनलाई रियादबाट झन्डै ३५० किमि टाढा पर्ने आलकासिम बुरेदा जेलमा राखिएको छ । प्रहरीले बस्नेतलाई ब्लडमनीबापत मृतकका परिवारलाई ७५ हजार रियाल (२२ लाख ५० हजार रुपैयाँ) बुझाउनुपर्ने जानकारी दिएको छ ।

पाँच वर्षअघि जेद्दा रोडमा भएको सडक दुर्घटनामा एक जना साउदी नागरिक मारिएका थिए । ‘गाडी पञ्चट भएर सडक छेउमा लगेर पार्किङ गर्दै थिएँ । पछाडिबाट तीव्र गतिमा आएको गाडी छिर्‍यो । गाडी चालकको घटनास्थलमै मृत्यु भयो,’ उनले भने, ‘कम्पनीले गाडीको बिमा गरिदिएको थिएन ।’ 

यो घटना भएपछि उनले तीन वर्षसम्म साउदी अदालतमा तारेख धाएका थिए । ‘त्यतिखेर मलाई ब्लडमनी दिनुपर्ने दायित्व कम्पनीको भनेपछि म स्वदेश फिर्न पाएँ । मैले नै दिनुपर्ने भएको भए साउदीबाट फर्किन पाउँदैनथें,’ उनले भने, ‘फर्केर डेढ वर्ष घर बसेर पुन: साउदीमै अर्को कम्पनीमा काम गर्न गएका बेला विमानस्थलमा समातिएँ ।’ 

दुर्घटनाको जिम्मा पुरानो कम्पनी बुरेदा अलमहमिदले लिएको छैन । ‘मैले धेरैपटक पुरानो मालिकलाई फोन गरें । उनलाई ब्लडमनी दिन अनुरोध गरें । उनले आफूले नतिर्ने बताउँदै आएका छन्,’ उनले भने, ‘जेसुकै गर भन्छ ।’ 

उनले त्यत्रो रकम तिर्न सक्ने हैसियत आफ्नो नभएको भन्दै कूटनीतिक पहलमार्फत रिहाइ गरिदिन नेपाली दूतावासलाई अनुरोध गरेका छन् । ‘म दूतावासको नियमित सम्पर्कमा छु । कूटनीतिक माध्यमबाट ममाथि न्याय होस्,’ उनले भने, ‘कूटनीतिक माध्यमबाट नहुने अवस्था आए सहयोग गर्न सबैलाई अनुरोध गर्छु ।’ 


Published on: 7 January 2017 | Kantipur

Back to list

;