s

गाउँमै रोकिए युवा

पूर्ण विके 

दुबईबाट बिदामा घर फिरेका बिहुँ ७ बिहुँकोटका ३३ वर्षीय राजेन्द्र सापकोटा श्रम स्वीकृति गराएर पुन: रोजगारदाता कम्पनीमै फर्कने योजनामा थिए । तर, स्थानीय तहको निर्वाचनको मिति घोषणापछि उनले विदेश जाने योजना तत्कालका लागि पर सारेका छन् । उनलाई अब चुनाव हेर्न र सहभागी हुन मन छ ।

‘पूरै देश चुनावमय हुने बेला कसरी विदेश जाने त खै ?,’ फागुन मसान्तसम्म फर्किने गरी बिदा लिएर आएका उनले भने, ‘विदेशमा रहेका अरू साथीलाई पनि निर्वाचनमा सघाउन पर्‍यो भन्दै बोलाएको छु ।’ स्थानीय तहका नेता कस्ता छनोट गर्ने भन्ने जिम्मेवारीबाट पन्छिन नहुने ठानेर आफूसहित खाडीबाट बिदामा फर्किएका अन्य दुई–तीन जना साथी मिलेर निर्वाचनमा राम्रो र युवा शक्तिलाई जिताउन अभियान थाल्ने योजना बनाएको उनले सुनाए 

पढेलेखेका र सम्पन्न युवा युरोपमा र गाउँका गरिब युवा रोजगारीका लागि खाडी जाने प्रचलनले गर्दा मुलुक झनै गरिब बन्दै गएको कतारबाट १५ दिनअघि घर फिरेका भकुन्डे २ का ३८ वर्षीय रामबहादुर घर्तीले बताए । घरकी वृद्धा आमालाई छाडेर खाडी जान्न भनेको तर आफू पनि रोजगारी नपाएपछि ८ वर्षअघि कतार हान्निएको उनले बताए । ‘कतार जानु पहिले पोखरामा मजदुरी गर्थें,’ उनले भने, ‘तर रोजगारी पाउनै हम्मे परेपछि हान्निनु पर्‍यो ।’

कतारमा आफू रहँदा मासिक ३५ हजार रुपैयाँ जति कमाइ हुने भए पनि २० हजार रुपैयाँभन्दा धेरै बचाउन नसकिने उनले बताए । उनी त्यहाँ कृषि फारममा काम गर्थे । यस पटकको निर्वाचनमा बिदामा घरमा नै बस्ने भएकाले विकासप्रेमी, युवा शक्तिलाई बुझ्ने र युवा उम्मेदवारलाई जिताउन अभियान थाल्ने योजनामा रहेको बताए । आफूहरूजस्तो युवाकै शक्तिले गर्दा खाडीका मुलुक अहिले विकसित भएको उनको अनुभव छ ।

‘हाम्रै श्रमले गर्दा मरुभूमिमा तरकारी फलेको छ,’ उनले भने, ‘तर स्वदेशमै केही इलम गर्ने वातावरण नेताहरूले बनाउन सकेनन् । अब युवाले मुलुक चलाउनुपर्छ, अनि मुलुक बन्छ ।’ युवालाई विदेश पठाउने भन्दा पनि स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ मुलुकका नेताहरू नलागेकाले आफूहरू खाडी जानुपर्ने बाध्यता परेको रेश घर भई सदरमुकाम बागलुङ बस्दै आएका ४५ वर्षीय रामशरण कँडेलले बताए । ‘हामी घरपरिवार र मुलुक छाडदा रुँदै जहाज चढ्ने गर्छौं,’ उनले भने, ‘स्वदेशमा नै रोजगारी पाए को खाडी जाला र ?’ 

यस पटकको निर्वाचनमा युवालाई जिताएर नयाँ प्रयोग गर्न उनले सबैमा आग्रहसमेत गरे । दलका मुख्य नेताहरूसमेत ५० वर्ष कटिसकेका धेरै भएकाले गर्दा पनि युवाले प्राथमिकता पाउन नसक्दा मुलुकमा विकास हुन नसकेको बहराइनबाट २ वर्षअघि फर्किएका सदरमुकाम बागलुङका जितबहादुर पुनले बताए । ‘दुई वर्ष भयो विदेशबाट फर्किएको,’ उनले भने, ‘रोजगारी त के पाउनु र ? स्वरोजगार गर्छु भन्दासमेत बैंकले धितो पुगेन भनेर पैसा दिएन । त्यसैले पाका उमेरका नेतालाई बिदा गर्नुपर्छ ।’

जनगणना २०६८ अनुसार बागलुङको जनसंख्या २ लाख ६८ हजार ६ सय १३ रहेको छ । तीमध्ये ३० देखि ४९ वर्ष उमेर समूहका ४१ दशमलव ६८ प्रतिशत रहेको तथ्यांक कार्यालय बागलुङले जनाएको छ । बागलुङबाट वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेकाहरूको संख्या ४ हजार ४ सय ४३ महिलासहित ४२ हजार ६ सय २३ जना रहेका छन् । 

निर्वाचन शिक्षा
बझाङ– निर्वाचन कार्यालयले जिल्लाभरिका शिक्षकलाई ‘निर्वाचन शिक्षा’ तालिम दिएको छ । विभिन्न विद्यालयमा सामाजिक शिक्षा पढाउने शिक्षकलाई ३ समूह बनाएर प्रशिक्षित गरिएको हो ।

सामाजिक विषय अध्यापन गर्ने शिक्षकलाई तालिम दिएर विद्यार्थीमार्फत अभिभावकलाई सचेतीकरण गर्न तालिमको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ‘निर्वाचनसम्बन्धी शिक्षा दिने कुरामा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ,’ जिल्ला निर्वाचन अधिकारी अजय मिश्रले भने, ‘संविधानमा भएका निर्वाचनसम्बन्धी प्रावधान, मतदाता शिक्षालगायत निर्वाचन र यससँग सम्बन्धित विषय विद्यार्थीमार्फत अभिभावकमा पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।’

जिल्लाभरिबाट ७८ शिक्षक सहभागी रहेको उक्त तालिमले भावी मतदाता र अहिलेको चुनावमा सहभागी हुने निरक्षर र ग्रामीण क्षेत्रका मतदातालाई मतपत्रमा छाप लगाउने, मतदान स्थलमा गर्नुपर्ने व्यवहारलगायत विषयमा जानकारी हुने र निर्वाचनलाई स्वस्थ, शान्तिपूर्ण र मर्यादित गर्न सहयोग पुग्ने निर्वाचन कार्यालयले अपेक्षा गरेको छ । 

घर फिर्दै मुस्ताङी
मुस्ताङ– हिमालपारिको जिल्ला मुस्ताङमा चुनावी चहलपहल बढेको छ । तोकिएकै समयमा चुनाव हुनुपर्ने भन्दै सबै राजनीति दल र निर्वाचन कार्यालयले तयारी थालेका छन् । काठमाडौं र पोखरालगायतका स्थानमा बसेका नेता आ–आफ्ना पार्टीलाई जिताउन जिल्ला फर्कन थालेका छन् । 

फागुन लागेपछि मौसम अनुकूल हुँदै गएकाले चुनाव प्रचारका लागि जिल्ला आउन स्थानीयलाई सजिलो भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गरेर आयोगको केन्द्रीय कार्यालयसमक्ष पठाइसकेको छ । यसपाली मंसिर, पुस र माघको हिउँमै पनि निर्वाचन कार्यालयले आफ्नो काम अघि बढाएर मतदाता नामावली संकलन गरेको थियो । 

‘अब सीमांकनको पर्खाइमा छौं,’ जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले भने, ‘आयोगको निर्देशन बमोजिम सबै काम सकेका छौं ।’ सीमांकन निर्धारण भएर क्षेत्र तोकेपछि निर्वाचन कार्यालय र दलहरूको चुनावी गतिविधि तीव्र हुने उनले बताए । पाँच गाउँपालिका बनाउने प्रस्तावसहितको मस्यौदा स्थानीय तह राज्य पुन:संरचना आयोगसमक्ष पठाइसकिएको छ । 
स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिमार्फत पठाइएको संरचनाअनुसार लोमान्थाङ, छोसेर र छोन्हुप गाविस मिसाएर लोमान्थाङ गाउँपालिका, घमी, चराङ र सुर्खाङ गाविस मिसाएर डालमे गाउँपालिका, छुसाङ, कागवेनी, मुक्तिनाथ र झोङ मिसाएर बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, जोमसोम र मार्फा गाविसबाट घरपझोङ गाउँपालिका र टुकुचे, लेते, कोबाङ र कुन्जो गाविस मिलाएर थासाङ गाउँपालिका हुने भएको छ ।

दलहरूले यही संरचनाका आधारमा आफ्नो चुनावी प्रचारमा लागेका छन् । कांग्रेस जिल्ला सचिव धारा गुरुङले पार्टीको निर्देशन बमोजिम चुनावको तयारी थालिएको बताए । ‘अब चुनाव जसरी पनि सफल गर्नैपर्छ,’ उनले भने, ‘योभन्दा ठूलो काम केही होइन ।’ एमाले अध्यक्ष चन्द्रमोहन गौचनले स्थानीय चुनावका लागि पार्टी आन्तरिक तयारीमा जुटिसकेको बताए । ‘स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा ठूलो समस्या भएकाले चुनाव सफल बनाएरै छाड्नेछौं,’ उनले भने, ‘अब चुनाव कसैले रोक्न सक्दैन ।’ 

चुनाव सफल बनाउन मुस्ताङवासी एकजुट रहेको उनले बताए । एमाओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल विकले सरकारले चुनावको मिति तोक्दा मुस्ताङवासीले खुसियाली मनाएको बताए । ‘चुनावमा पार्टीलाई कसरी विजयी बनाउने विषयमा बहस चलाएका छौं,’ उनले भने, ‘मुस्ताङमा तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र नै मुख्य प्रतिस्पर्धी दल हुन् ।’ यो चुनाव सफल बनाउन यहाँका सबै दलहरू एकमत रहेको उनले जानकारी गराए । २०७० सालको संविधानसभा निर्वाचनको तथ्यांकअनुसार मुस्ताङमा ७ हजार ९ सय ३६ जना मतदाता थिए । त्यसपछिको संकलनबाट थपिएपछि जिल्लाभरिमा ८ हजार ६ सय २७ जना मतदाता पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ । 

Published: 27 February 2017 | Kantipur

Back to list

;