s

गाउँबस्ती पुरुषविहीन बन्दै

अर्जुन शाह

निर्वाचन सकिएपछि पुरुषहरू रोजगारीका लागि धमाधम भारत जान थालेपछि धेरैजसो गाउँघर पुरुषविहीन हुन थालेका छन् । हिउँदे खेतीपाती पनि सकिएको र गाउँमा आयआर्जनका माध्यम नभएकाले अधिकांश बेरोजगार पुरुषले घर छाडिसकेका छन् । अहिले गाउँघरमा महिला मात्रै भेटिन्छन् ।

कुल्देवमाडौंका लालबहादुर लोहार मतदान गरेको तेस्रो दिनमै भारत हानिए । 'चौकीदारी गरी गुजारा चलाउनुपर्ने बाध्यता भएकाले भारततिर काम खोज्दै हिँडे,' लालबहादुरले भने, 'चुनावमा भोट दिन मात्र आएको हुँ ।' अधिकांश समय भारतमै बस्ने भएकाले मतदाता नामावलीमा उनको नामसमेत थिएन । लालबहादुरसँगै उनको गाउँका १६ युवाले एकैदिन घर छाडेको स्थानीय काल्चे लोहारले बताए ।

जिल्लाका अधिकांश गाविसमा यही अवस्था रहेको स्थानीय बासिन्दा बताउँछन् । गुदुखातीका पदमबहादुर रावत भन्छन्, 'यतिबेला हाम्रो गाविसमा पुरुष भेटिने घर कमै छन्, छिमेकी गाउँघरको अवस्था पनि यही हो ।'

यो अवधिमा गाउँघरमा रोजगार तथा ज्याला मजदुरीका कुनै गतिविधि छैनन् । 'घरजहान पाल्न भारतमा चौकीदारी गर्न घर छड्नैपर्ने बाध्यता हुन्छ', कैलाशमाडौंको गडीगाउँका डम्म बुढाले भने । 'निर्वाचनपछि पुरुषहरू धमाधम भारत हानिएकाले हाम्रो गाउँमा त मर्दापर्दा पनि समस्या होलाजस्तो छ,' कैलाशमाडौंकै पार्वती बुढाले भनिन्, 'चुनावासम्म निकै रमाइलो हाम्रो गाउँमा अहिले मुस्किलले एकदुई परिवारमा मात्रै पुरुष होलान् ।' मंसिरदेखि चैत/वैशाखसम्म गाउँमा खासै काम नहुने भएकाले पुरुषहरू मजदुरी गरेर कमाई गर्न भारत जाने स्थानीय बासिन्दा बताउँछन् । यतिबेला घर छाडेकाहरू बिसु पर्वमा घर फर्किन्छन् ।

यतिबेला सरकारी निकायबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुनुपर्ने कुनै पनि विकासे गतिविधि सञ्चालन हुन सकेका छैनन् । कतिपय निकायहरूको समयमै बजेट निकासा भए पनि निर्वाचनको चटारोका कारण कार्यान्वयन तहमा भने जान नसकेको जिल्ला विकास समितिका कर्मचारीहरू बताउँछन् ।

Published on: 28 November 2013 | Kantipur

Back to list

;