s

गाउँबस्ती शून्य

काठमाडौंको एक गैरसरकारी संस्थामा काम गर्छन् सरोज कटुवाल । इलामको साङरुम्बाका उनी गाउँ कमै बस्छन् । वर्षमा एकपटक दसैंमा भने घर नआइछाडदैनन् । थोरै अवधिलाई भए पनि परिवार, साथीसंगीसँग बिताउन पाउँदा निकै रमाइलो मान्छन् । तर, दसैं सकिएलगत्तै उनलाई राजधानी फर्कने हतारो भइसकेको छ ।  ‘आफू हुर्केबढेको ठाउँ र साथीभाइ छाडेर फर्कनुपर्दा मन खिन्न हुन्छ,’ उनले भने, ‘के गर्ने, पेसाकै कारण पनि जानैपर्छ।’ अर्को दसैंमा फेरि आउने वाचा गरेर फर्किएका छन् कटुवाल। ‘यसपालि हाम्रो टीका लगाउन हुँदैनथ्यो,’ उनले भने, ‘आफन्त र साथीसँगीसँग रमाइलोका लागि व्यस्तता पन्छाएर आएको हुँ।’

इलामकै सन्दकपुर ५ का राजु खतिवडा पनि दसैंंको रमाइलो सकेर कार्यथलो फर्किएका छन्। काठमाडौंमा निजी कम्पनीमा जागिर खाने उनलाई अरू बेला गाउँ आउन कठिन हुन्छ। ‘तिहारसम्म बस्ने रहर भए पनि व्यस्तताले पाइँदैन,’ उनले भने, ‘गहु्रँगो मन बनाएर भए पनि फर्कनै पर्छ।’ जिल्लामा दसैं मनाउन आएकाहरू अधिकांश फर्किसकेका छन्। ‘दसैं आएपछि सबै भेला हुँदा हुने रमाइलो अहिले छैन,’ इलाम नगरपालिका ४ बरबोटेका गोपाल निरौलाले भने। यसपटक दसैं ढिलो भएकाले गाउँका बाटाघाटा पनि पुरपार गरिएका थिए। जसका कारण आगन्तुकलाई असहज थिएन। भीडभाड हुने सवारीमा कष्टले गाउँ छिर्दा पनि टाढाबाट आउनेहरू उत्साहित थिए।

फूलपातीदेखि पूर्णिमासम्म करिब ठप्प रहेको सदरमुकाम क्षेत्रको चहलपहल भने बढेको छ। जागिरे, व्यवसायीलगायत सदरमुकाम फिरेका छन्। ‘गाउँमा रमाइलो भए पनि व्यवसाय चलाउनकै लागि आएर काममा घोटिन थालेकी छु,’ सन्दकपुर ४ मावुकी प्रविना राईले भनिन्। जिल्लाका प्रमुख व्यपारिक केन्द्र फिक्कल, मंगलबारे, राँकेलगायतमा पनि चहलपहल सुरु भएको छ।

आफन्तलाई लक्षित गरी हालिएका लिंगे पीङका डोरी तिहारसम्मका लागि उठाइएका छन्। तिहारमा मेला लाग्ने र खेलकुद कार्यक्रम गरिने स्थानमा भने थप रमाइलो हुने आशामा स्थानीय छन्।

फर्कंदै आफन्त

फुङलिङ नगरपालिका(६ गुम्बाडाँडाकी सोममाया गुरुङ दसैंको पञ्चमीका दिन बिरामी परिन्। झाडापखालाले सताएपछि ताप्लेजुङ जिल्ला अस्पताल भर्ना भएकी उनले सप्तमीका दिन केही सन्चो भएपछि घरै बसेर औषधि खाने प्रस्ताव डाक्टरलाई राखिन्।

८५ वर्षीया उनी चाँडै घर फर्कनुको कारण दसैं मान्न काठमाडौंबाट आएका नातिनातिना थिए। ‘नातिनातिना जब अस्पतालमै पुगे हजुरआमाको मुहारमा चमक आयो,’ नाति देवराजले भने, चाडबाड भन्ने यस्तो रहेछ, तिनलाई देख्नेबित्तिकै आमाले सन्चो भएको अनुभूति गर्नुभयो।’

फुङलिङ ३ सिम्लेका केदारनाथ भट्टराईको घरमा पनि एक साता निकै चहलपहल भयो। उनका तीन छोरा र पाँच छोरी छन्। दसैंमा सबै भेला भए। अरू बेला घरमा दम्पती मात्र हुन्छन्। काठमाडौंमा प्राध्यापन तथा व्यवसाय गर्ने जेठो र कान्छो तथा सदरमुकाम फुङलिङमा ब्यवसाय गर्ने माइलो छोरो दसैंअघि नै आए।

छोरीहरू दशमीको टीका लगाई ज्वाइँ र नातिनातिना लिएर माइती आए। केदारनाथ भन्छन्, ‘यस्तो बेला घरै उज्यालो हुँदोरहेछ, बाबुआमाको मुहार त यसै उज्यालो हुने भयो।’ दसैं सकिएसँगै सबै सन्तान बाटो लागेका छन्। घरमा छँदा उनीहरू गाउँमा आयोजित भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रममा सहभागी भए। खसी काटे, आफन्तलाई स्वागत सम्मान गरे। वर्ष दिनसम्म खाली घरका कोठा दसैंभरि भरिए।

अब फेरि घर रित्तिन सुरु भइसक्यो। गाउँ सुनसान बन्दै छन्। ‘बिहान एकाध घण्टा दोबाटो र चोकमा गाडी चढ्नेको हल्लीखल्ली हुन्छ अन्यथा दिनभर सुनसान हुन थाल्यो,’ सिम्लेका व्यवसायी राधाकृष्ण बरालले भने, ‘तिहारपछि त गाउँ पहिलाकै अवस्थामा पुगिहाल्छ।’

दसैंले वर्षमा एकपटक भए पनि आमाबाबु, दाजुभाइ, दिदीबहिनी तथा गाउँघरका साथीभाइसँग भेट गराउने स्थानीय बताउँछन्। ‘सधंै एकै ठाउँ बसेर नपुग्ने, कर्म गर्न कताकता पुग्नुपर्ने,’ काठमाडौं जान शुक्रबार गाडी चढ्न लागेका दुर्गा भट्टराईले भने, ‘अर्को वर्ष पनि दसैं आउँछ र गाउँघर फर्किइन्छ भन्ने सोच्दै फर्कंदै छु।’ ताप्लेजुङका बस तथा ट्याक्सी काउन्टरका अनुसार एक साताका लागि गाडीको टिकट बुकिङ भएको छ।

रित्तिँदै गाउँ

दसैंमा निकै चहलपहल देखिएको धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चानुवा गाउँ पनि सुनसान बन्दै छ। पर्व मनाउन आएकाहरू धमाधम फर्किरहेका छन्। दमार गाउँका महेन्द्र श्रेष्ठले केही दिन चहलपहल देखिएको गाउँ तिहार नलाग्दै पहिलेजस्तै सुनसान बनेको बताए। जिल्लाका अधिकांश बस्तीमा घरैपिच्छे वैदेशिक रोजगारी तथा सहरी क्षेत्रलाई कार्यक्षेत्र बनाएकाहरू छन्।

त्यसैले दसैंपछि फेरि शून्य हुने गरेको छथर जोरपाटी गाउँपालिकाका शंकर ओझाले बताए। ‘दसैं मात्र मानेर फर्कने धेरै हुन्छन्, तिहारसम्म पनि बस्दैनन्,’ उनले भने, ‘गाउँमा सधैंलाई चहलपहल ल्याउन विकासका पूर्वाधार भित्र्याउन जरुरी छ।’ साविकको तेलिया २, ५ र ६ वडामा बसाइँ सराइले अधिकांश बस्ती खाली छन्।

दसैं मानेर फर्कंदै गरेकी संखुवासभाको धर्मदेवी १ तामाफोक, तेल्लोककी सञ्जु अधिकारी सबै जना सहरतिरै बस्न चाहने भएकाले गाउँबस्ती स्वाभाविक हुनुलाई स्वाभाविक ठान्छिन्। मोरङको विराटचोकमा रहँदै आएकी उनले पनि आफू दसैं मान्न जसरी पनि पहाडकै गाउँ आउने गरेको बताइन्।

‘अरू समय जहाँ रहे पनि जन्मथलो नपुगी दसैं आएजस्तै लाग्दैन,’ उनले भनिन्, ‘तर पेसा अन्यत्र रहेपछि गाउँमा बस्न मन लाग्दालाग्दै फर्कन बाध्य हुनुपर्छ।’ लिंगे पिङ खेल्दा अनि साथीसंगी भेटेर बाल्यकालका स्मरण सुनाउँदा निकै रमाइलो हुने गरेको उनको भनाइ छ।

चौबिसे गाउ‘पालिकाको कुरुलेतेनुपावासी पनि दसैंपछि गाउँबस्ती सुनसान हुने बताउँछन्। यो गाउँमा बसाइँ सराइको समस्या चरम छ। बसिरहेका थोरै घरधुरीमा दसैंमा आफन्त आउँदा पनि निकै रमाइलो हुने स्थानीय गोपीकृष्ण भण्डारीले सुनाए।

सदरमुकाममा चहलपहल

दसैं सकिएर गाउँबस्ती सुनसान हुने क्रमसँगै जिल्ला सदरमुकाम र व्यापारिक केन्द्रहरूमा चहलपहल देखिन थालेको छ। गाउँघरमा भने चहलपहल घटेको तेह्रथुमको छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बूले बताए। दसैंका लागि तराई, काठमाडौं र विदेशदेखि आएकाहरू फेरि कार्यथलो फर्किसकेका छन्। तराई झरेकाहरू पनि दसैंको समयमा पूजापाठ र आफन्तसँग टीका ग्रहणका लागि पहाड उक्लँदा गाँउघरमा आर्थिक कारोबारसमेत बढेको थियो। अहिले तराई झर्ने सवारी साधनमा थेगिनसक्नु यात्रु छन्। गाउँ फेरि सुनसान हुन थालेको म्याङलुङ नगरपालिका १ का तीर्थ कटुवालले बताए। पढाइ र रोजगारीका लागि अन्यत्र जानुपर्नेहरू पनि फर्किसकेका छन्। दसैं सकिएपछि जिल्लाबाट बाहिने सवारी साधनमा यात्रुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सदरमुकाम र स्थानीय तहका केन्द्रमा भने निकै भीडभाड देखिन थालेको छ। काम विशेषले घर गएकाहरू पनि डेरामा फर्किन थालेका छन्। अधिकांश कर्मचारी कार्यालय पुगिसके। पढाइ तथा रोजगारीका लागि घरबाहिर रहेकाहरू गाउँ आउँदा भित्रिएको रौनक विस्तारै सेलाउँदै गएको आठराई गाउँपालिकाका अमृत बाँस्तोलले बताए।

Published on: 27 October 2018 | Kantipur

Back to list

;