s

फुर्सदिला भए कर्मचारी

सीता शर्मा

काठमाडौँ, चैत ४ गते । विदेशमा रहेका नेपाली राजदूतावासले मागपत्र प्रमाणीकरण गर्न छोडेसँगै ताहाचलमा रहेको श्रम कार्यालय सुनसान भएको छ । सरकारले अन्तिम श्रम स्वीकृति र पुनः श्रम स्वीकृति रोके पनि पूर्व स्वीकृतिका काममा व्यस्त रहेका कर्मचारी आइतबारदेखि विदेशस्थित दूतावासले माग प्रमाणीकरण गर्न छोडेपछि श्रम कार्यालय सुनसान भएको हो । त्यहाँ काम गर्ने कर्मचारी पनि फुर्सदिला भएका छन् ।

दूतावासले अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरेर पठाएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले मागपत्रको पूर्वस्वीकृति दिँदै आएको थियो तर दूतावासले नै मागपत्र नपठाएपछि कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् ।

कार्यालय प्रमुख उमेश बस्नेतले मागपत्र पूर्वस्वीकृतिका लागि केही मात्रामा पुराना फाइल आए पनि नयाँ फाइल आउने क्रम रोकिएको जानकारी दिनुभयो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले अनिश्चितकालीन रूपमा श्रम स्वीकृति रोकेको भन्दै विदेशस्थित अधिकांश नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान नेपाली दूतावासले आइतबारदेखि श्रमिकको माग प्रमाणीकरणका कार्य अनिश्चित समयका लागि स्थगित गरेको जनाएका छन् । त्यस्तै कुवेत र कतारस्थित नेपाली दूतावासले पनि यसअघि नै अनिश्चितकालीन समयसम्मका लागि मागपत्र प्रमाणीकरण स्थगित गरिसकेका छन् । बहराइनले पनि दूतावासमा भीडभाड कम गर्न भन्दै अत्यावश्यक सेवाबाहेक अन्य कार्य स्थगित गरेको जनाएको छ ।

ती दूतावासले आ–आफ्नो तरिकाले सूचना जारी गर्दै दूतावासबाट प्रदान गरिँदै आएको मागपत्र प्रमाणीकरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी गराएका छन् । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति रोकेको भन्दै दूतावासले मागपत्र प्रमाणीकरण रोकेको कारण खुलाएका छन् ।

त्यस्तै साउदी अरेबियाले कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्ने उद्देश्यले दुई हप्ताका लागि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको गरिसकेको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण वृद्धि रोक्न कुवेतले मार्च १२ देखि मार्च २६ सम्म दुई हप्ताका लागि सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ । कुवेतले सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीलाई दुई हप्ता बिदा दिँदै यो समयका लागि लागि सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडानसमेत स्थगित गरेको छ । सोही कारण देखाउँदै नेपाली दूतावासले पनि मागपत्र प्रमाणीकरण रोकेको छ ।

श्रम स्वीकृति विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले अनिश्चितकालीन रूपमा गत शुक्रबारबाट रोक्ने निर्णय गरेपछि कार्यालयमा सेवाग्राहीको सङ्ख्या शून्य प्रायः नै छ । केही श्रम प्रतिनिधिले आफ्ना पुराना फाइल पेस गर्ने बाहेक अरू कुनै काम भएको छैन ।

कर्मचारी नै फुर्सिदिला भएपछि सोमबार कार्यालय समय सुरु हुनेबित्तिकै सबै कर्मचारी हातमा कुचो बोकेर कार्यालय परिसर सरसफाइमा जुटे । प्रमुख बस्नेतले सधैँ सेवाग्राहीको चापले भीडभाड हुने कार्यालयमा कार्यालयका लागि उपयोगी हुने ‘क्रिएटिभ’ काम सुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सधैँ सेवाग्राहीको चाप हुँदा कार्यालयमा सबै कर्मचारीको बैठक बस्न सकेका थिएनौँ, आइतबार सबै जनाले तीन घण्टा सामूहिक छलफल गरौँ । हाल कार्यालय बन्द हुँदा भन्दा पनि अब कार्यालय खुलेपछि सेवाग्राहीको चापलाई कसरी व्यवस्थित गर्ने र सेवा प्रवाह सहज गर्नेबारे पनि छलफल केन्द्रित भयो । मङ्गलबार हरेक शाखामा हुने कामको बडापत्र तयार गर्नेबारे छलफल गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो।

Published on: 17 March 2020 | Gorkhapatra

Link

Back to list

;