s

'फ्रिज खोल्न नजान्दा कुटाइ खाइयो'

चितवनकी २६ वर्षीया स्वेता (परिवर्तित नाम) को आर्थिक अवस्था ज्यादै नाजुक थियो। काम पाउन पढाइ धेरै थिएन। काम नभएपछि आम्दानीको बाटो भएन।

आवश्यकता बढ्दै गए। कमाइ नहुँदा घर खर्च धान्नै मुश्किल पर्न थाल्यो। त्यसपछि उनी वैदेशिक रोजगारको बाटो रोज्न बाध्य भइन्।

कुवतेमा घरेलु कामदारका रूपमा जाँदा राम्रो हुने सुनिन्। त्यहाँ मासिक ५० हजारसम्म कमाइ हुने सुनेकी थिइन्। तर घरेलु कामदारमा जान सरकारले प्रतिबन्ध गरेको थियो। 

सरकारले बाटो बन्द गरे पनि भारतको बाटो हुँदै जान सकिने पनि उनले सुनिन्। 

'चिनजानकै एक जना दाइ हुनुहुन्थ्यो। उहाँले कुवेत पुग्न दुई लाख लाग्ने भन्नुभयो। मैले ऋण गरेर पैसा बुझाएँ,' उनले भनिन्, 'अनि दिल्ली हुँदै कुवेत पुगेँ।' 

त्यहाँ उनले एउटा घरमा काम गर्नुपर्थ्यो। १२ देखि १४ घन्टा दैनिक खट्नुपर्ने। यहाँ कहिल्यै नदेखेजस्तो घर। उनलाई त्यहाँका मेसिनरी र विद्युतीय सामान चलाउने तरिका पनि थाहा भएन। 

'काम नजान्दा धेरै तनाव सहनुपर्थ्यो। एक वर्ष मुश्किलले टिकेँ। आर्थिक अवस्था र विदेश जाँदा लागेको ऋण सम्झेर गाउँ फर्किन मन लागेन। त्यसपछि त्यहाँबाट भागेर अन्त भए पनि काम गर्न बाध्य भएँ,' स्वेताले भनिन्।

उक्त घरबाट निस्किएर उनले एउटा ब्युटी पार्लरमा काम गरिन्। त्यहाँ तलब ठिकै थियो। मासिक बीस हजार नेपाली रूपैयाँ। थोरै बचेको रकम घर पठाउँथिन्।

उनले काम थालेको तीन वर्ष भएको थियो। अचानक कोभिड महामारी फैलियो। दुई महिना बिना काम बसिन्। कमाउनै भनेर विदेशिएकी उनी महामारी कम भइदिएर बजार फेरि चलायमान भइदियोस् भनेर कामना गरिरहन्थिन्। 

तर महामारी लम्बिँदै गयो। लकडाउन थपियो। उनी सडकमै पुगिन्। नेपाल फर्किन आवश्यक कागजात केही थिएन। लामो समय सडकमै गुजारा गरिन्।

केही समयपछि त्यहाँको सरकारले अवैध आप्रवासी श्रमिकलाई सम्बन्धित मुलुक फर्काउन थाल्यो। त्यही बेला उनी नेपाल फर्किइन्।

'विदेश सोचेजस्तो सजिलो रहेनछ,' उनले भनिन्, 'सोचेजस्तो भएको भए त मेरो पनि त्यहाँ टन्न कमाएर यहाँ एउटा राम्रो घर बनाएर परिवारलाई राख्ने मन थियो नि।'

उनले पठाएको पैसाले घर खर्च धान्नै मुश्किल थियो। घरमा आमाबुबा र स–साना भाइबहिनी छन्। उनीहरूलाई पढाउनुपर्‍यो।

पैसा नभए पनि उनी सीप लिएर फर्केकी छन्। घरबाट भागेर पार्लरमा काम गर्दा धेरथोर काम जानिन्।

'अब विदेश फर्किने मन छैन। अलिकति सीप छ, आफ्नै देशमा काम गर्न मन छ,' उनी भन्छिन्, 'तर समाजले मलाई हेर्ने नजरले गर्दा यहाँ के बस्नुजस्तो पनि लाग्छ। गाउँलेले कुरा काट्छन्। परदेशमा सुखदुःख भोगियो। तर त्यहाँको भोगाइभन्दा बढी यहाँ नराम्रो नजरले हेर्दा पीडा हुने रहेछ।'

'यो त विदेश गएर बिग्रिएर आएकी' भन्दै कुरा काट्दा आफूलाई निकै दुःख लाग्ने उनले बताइन्। 

सिन्धुपाल्चोककी रूपा (परिवर्तित नाम) पीडा पनि स्वेताकैसँग मिल्दोजुल्दो छ। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भिजिट भिसा बनाएर कुवेत पुगेकी थिइन्। भिसा अवधि तीन महिनाको थियो। एजेन्टमार्फत उडेकी रूपालाई त्यहाँको स्वास्थ्य क्षेत्रमा सहयोगी काम गर्नुपर्ने भनिएको थियो। तर उनले घरको काम गर्नुपर्‍यो।

'बिजुली बत्ती नदेखेको मान्छे फ्रिज खोल्नुपर्ने, एसी चलाउनुपर्ने, रडमा पानी तताउन पर्ने, कसरी जान्नू,' उनले भनिन्, 'सामान्य कुराको ज्ञान नहुँदा कुटाइ खाइयो।' 

रूपाका अनुसार त्यो घरमा एक जना चितवनकी नेपाली महिला नै थिइन्। ती महिलाले नेपालबाट गएका नयाँ महिलालाई काममा लगाउँथिन्। नजान्दा कुट्थिन्। 

'पानी तताउन नजान्दा थाप्लोबाट तातोपानी खन्याइदिन्थिन् ती महिलाले,' उनले सम्झिइन्।

त्यो सबै पीडा सहन नसकेर रूपा कोही नभएको मौकामा त्यो घरबाट भागिन्। 

उनलाई यी सबै सहनुभन्दा आफ्नै देश फर्किऊँ भन्ने लागेको थियो। तर फर्किन सजिलो थिएन। भिसा अवधि सकिसकेको थियो। प्रहरीले समात्ला र जेल कोच्ला भन्ने डरले उनी अर्को घरमा बसेर काम गर्न थालिन्। 

नयाँ घरमा तीन जना बच्चा स्याहार गर्नुपर्ने थियो। त्योसँगै घर सरसफाइ, खाना पकाउने, भाँडा माझ्ने काम। बिहान उठेदेखि आधारातसम्म खट्नुपर्थ्यो। 

'परिवारसँग कुरा गर्छु भन्दा पाइन्थेन। छोराछोरीसँग बोल्न मन लाग्थ्यो। तर मोबाइल चलाएको थाहा पाए साहुले कुट्थ्यो,' उनले रूँदै भनिन्, 'कहिलेकाहीँ कोही नभएको मौकामा लुकेर ट्वाइलेट गएर परिवारसँग कुरा गर्थेँ।' 

त्यहाँ उनले जसोतसो दुई वर्ष काम गरिन्। धेरै गाह्रो भएपछि आफू नेपाल फर्किन चाहेको बताइन्। तर साहुले दिएनन्। तीन महिनाको तलब बाँकी नै थियो। तर दुर्व्यवहार सहनै नसकेपछि रूपा भागिन्।

बाहिर निस्किएर कहिले एउटा, कहिले अर्को गल्ली चहारिन्। कागजात केही थिएन। भिसा पनि सकिएको। प्रहरीले समात्ला भन्ने डरैडरमा बसिन्। 

पछि त्यहीँ एक जना नेपाली भेटिन् र उनकै सहयोगमा पार्लरमा काम थालिन्। पार्लरमा काम गर्दागर्दै कोरोना सुरू भयो। काम ठप्प। दुई दिन उनले ट्रकमुनि बिताइन्। त्यहाँको सरकारले आममाफी दिएपछि फर्किन पाएको उनले बताइन्। 

कुवेतमा घरमालिकहरूले अन्य मुलुकबाट गएका र नेपाली श्रमिकलाई गर्ने व्यवहार छुट्टै भएको उनको अनुभव छ। भनिन्, 'हामीजस्तै घरकै काम गर्न वैधानिक तरिकाले जाने फिलिपिन्स, इन्डोनेसिया लगायत देशकालाई कति सम्मान छ। हामी अवैध बाटो र प्रक्रियामार्फत जानुपर्छ, हेपिएर काम गर्नुपर्छ।' 

सरकारले सम्बन्धित गन्तव्य मुलुकसँग घरेलु कामदार सम्बन्धी सम्झौता गरेर पठाउन नसक्दा अवैध बाटो र प्रक्रिया अपनाएर पुगेकाहरू झन् समस्यामा परेको स्वेता र रूपा बताउँछन्। 

युएईबाट फर्किएकी खोटाङकी माया (नाम परिवर्तन) पनि भारतको बाटो हुँदै पुगेकी थिइन्। सरकारले घरेलु कामदारका रूपमा जाने बाटो खुला नगर्दा आफू अवैध बाटो अपनाएर पुगेको र उल्टै जेल भोग्नुपरेको उनले गुनासो गरिन्। 

'देशमा काम छैन, वैधानिक हिसाबले विदेश जाऊँ बाटो बन्द छ। बरू केही सिकेर जाओ भनेर पठाइदिए हामीले यस्तो समस्या भोग्नुपर्थेन,' उनले भनिन्। 

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ चैत २० गते सम्बन्धित मुलुकले कामदारसम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा घरेलु कामदार पठाउने काम बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो। 

समितिको निर्देशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मलेसिया तथा खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ। यसमाथि २०७७ असोज १३ गते बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले निश्चित सर्त पूरा गरेर मात्र घरेलु कामदार खुला गर्न सरकारलाई निर्देशन दिएको छ। 

नेपालबाट घरेलु कामदार लैजान चाहने देशमा घरेलु कामदारको सेवा, सर्त र सुरक्षा सम्बन्धमा ठोस कानुनी व्यवस्था भएको हुनुपर्ने समितिले उल्लेख गरेको छ। त्यस्तै कामदारको आधारभूत अधिकार, सामाजिक सुरक्षा, २४ घन्टे बीमालगायत व्यवस्था सुनिश्चित हुनुपर्ने समितिको सर्त छ। 

त्यस्तै घरेलु कामदारमा जानेले उक्त काम सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनुपर्नेछ। गन्तव्य मुलुकको संस्कृति परम्पराबारे सिकाएर सरकारले पठाउनुपर्ने समितिले उल्लेख गरेको छ। 

कामदारको सेवा-सुविधामा विभेद नभएको, शारीरिक, मानिसिक तथा यौनजन्य हिंसा गर्ने मालिक तथा परिवारका सदस्यलाई कारबाही व्यवस्था भएका मुलुकमा कामदार पठाउन समितिले निर्देशन दिएको हो।

तर निर्देशनपछि पनि वैधानिक तवरले घरेलु कामदार पठाउने प्रक्रिया अगाडि बढ्न सकेको छैन। उता अवैधानिक रूपले जान रोकिएको पनि छैन। त्यसैले सम्बन्धित गन्तव्य मुलुकसँग सम्झौता गरेर घरेलु कामदार प्रतिबन्ध फुकुवा गर्नुपर्ने सरोकारवालाहरू बताउँछन्। 

स्वदेश फिर्ता तथा वैदेशिक रोजगारमा रहेका महिला श्रमिकको पुनःएकीकरण सम्बन्धी आइतबार आयोजित एक कार्यक्रममा बोल्दै घरेलु कामदार संघका अध्यक्ष एवं म्यानपावर व्यवसायी किसन प्रधानले सरकारले प्रतिबन्ध लगाउँदा अवैध तरिकाले कामदार जाने क्रम बढेको र यसले जोखिम निम्त्याएको बताए। 

'प्रतिबन्ध लगाउँदा पनि जानेहरू रोकिएका छैनन्,' उनले भने, 'यो विषयमा राज्य जानकार छ। किन रोकेर राख्ने, बरू सीप सिकाएर र सुरक्षाको ग्यारेन्टी गरेर पठाउनुपर्छ।' 

लामो समयदेखि वैदेशिक रोजगारमा जाने महिलाको हकहित क्षेत्रमा काम गर्दै आएकी अधिकारकर्मी मन्जु गुरुङ पनि प्रधानको भनाइसँग सहमत छिन्। अवैध तरिकाले विदेश पुगेकाहरू बेचबिखनको उच्च जोखिममा हुने पनि उनले जिकिर गरिन्। 

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडा यो विषयमा राज्य जिम्मेवार हुनुपर्ने बताउँछिन्। देशमा भनेजस्तो अवसर नहुँदा महिलाहरू वैदेशिक रोजगारमा जान बाध्य भएको बताउँदै उनले भनिन्, 'राज्यले प्रतिबन्ध मात्र लगायो। देशभित्रै रोजगार ग्यारेन्टी गर्न सकेन।' 

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलु थापा प्रतिबन्ध लगाउनुभन्दा सीप सिकाएर र सम्बन्धित मुलुकसँग बेग्लै सम्झौता गरेर पठाउनुपर्ने बताउँछिन्। घरेलु कामदार खुला गर्न सके नेपाली युवायुवती सुरक्षित रूपमा काम गरेर कमाएर फर्किने वातावरण हुने उनले बताइन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखा अधिकृत प्रेम पोखरेलले घरेलु कामदारको विषयमा उठेका समस्या सम्बोधन गर्न सरकार तयार बताउँदै सरकारले स्वीकृति दिएका मुलुकमा मात्रै जान आग्रह गरे।

Published on: 21 Decembber 2021 | setopati

Link

Back to list

;