s

फ्री भिसा फ्री टिकट नीति हचुवाको भरमा बनाइयो–अध्यक्ष भण्डारी

म्यानपावर व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले फ्री भिसा फ्री टिकट हचुवाको भरमा ल्याएको बताएका छन्।

छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश लगायत अरू सबैजसो मुलुकले पनि म्यानपावरमार्फत् नै ठूलो संख्यामा श्रमिकहरू पठाइरहँदा यस्तो हचुवाको नीति भएको उनले बताए।

आइतबार संघको ३२ ‍औं स्थापना दिवसको अवसरमा बोल्दै भण्डारीले वैदेशिक रोजगार क्षेत्र निकै संवेदनशील रहेको तर नीति स्पष्ट नहुँदा नेपाली श्रमिकहरूले दुःख पाइरहेको बताए।

'फ्री भिसा फ्री टिकट, शून्य लागत भनिरहेका छौं। त्यो हामीले भनेर हुने होइन। हाम्रो देशबाट मात्रै गन्तव्य मुलुकमा श्रमिक जाँदैनन्। हाम्रो मुलुकबाट जस्तै अन्य मुलुकबाट पनि ठूलो संख्यामा जान्छन्। हामीले हचुवाको भरमा नीति बनायौं। जसले गर्दा शून्य लागत भनिएको तर पनि ठूलो रकम तिरेर श्रमिकहरू गइरहेको पाउँछौं,' उनले भने।

आफूहरूले धेरै समय अगाडिदेखि वैज्ञानिक ढंगले श्रमिकको हितअनुसार सेवाशुल्क तोक्न सुझाव दिँदै आए पनि सरकारले ध्यान नदिँदा मारमा श्रमिकहरू नै परिरहेको उनले उल्लेख गरे।

'अब श्रमिक जाँदा कुन कुन शीर्षकमा लागत लाग्छ। त्यो वास्तविक शुल्क तोकौं। व्यवसायीले त्यसै काम गर्दैन। सेवाशुल्क लिन्छ। हामीले एक महिनाको सेवाशुल्क मागेका छौं। त्यसपछि सरकारले जुन तोक्छ। त्यो शुल्कमात्र हामी लिन्छौं। सरकारले तोके विपरीत शुल्क लिए कानुनी कारबाही भोग्न तयार छौं,' उनले भने।

यसपछि अहिलेभन्दा पाँचगुणा बढी राजस्व सरकारले पाउने र पाँचगुणा बढी सस्तो शुल्कमा श्रमिकहरू वैदेशिक रोजगारीमा जान पाउने दाबी भण्डारीले गरे।

त्यसपछि वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित र पारदर्शी हुने पनि उनले विश्वास दिलाए।

Published on: 2 July 2024 | Setopati

Link

Back to list

;