s

फ्रान्स लैजाने प्रलोभनमा १५ जनाबाट साढे दुई करोड उठाएका ठकुरी फरार

रोजगारीका लागि फ्रान्स लैजाने प्रलोभनमा १५ जनाबाट साढे दुई करोड उठाएका एक युवक फरार भएका छन् । कैलालीको घोडाघडी घर भएका कपिल शाही ठकुरीले नक्कली भिसालगायत कागजपत्र देखाएर ठगी गरेका हुन् ।

ठकुरी दुई महिनादेखि बेपत्ता भएपछि ऋण खोजेर पैसा बुझाएका पीडित बिचल्लीमा परेका छन् । उनीहरूले प्रहरी र वैदेशिक रोजगार विभाग धाएर कारबाहीको माग गरेका छन् ।

पीडितका अनुसार पानीजहाजमा काम लगाइदिने भन्दै शाहीले ठगी गरेका हुन् । फेसबुकमार्फत विज्ञापन गरी उनले पैसा उठाएका थिए । पीडितमध्ये एक कञ्चनपुरका राजेन्द्रप्रसाद चन्दका अनुसार करिब दुई वर्षअघि उनले फेसबुकमा लिथोनिया पठाइदिने भन्दै विज्ञापन गरेका थिए । ‘सुरुमा लिथोनिया पठाउने प्रलोभन दिए, पछि फ्रान्समा पठाइदिने भनेर पैसा लिए,’ चन्दले भने, ‘दुईपटकसम्म विमानस्थल पुगेर फर्कियौँ ।’

कागजपत्र नै नक्कली भएको खुलेपछि विमानस्थलबाटै उनीहरूलाई फिर्ता पठाइएको थियो । चन्दले मात्र ठकुरीलाई ११ लाख रुपैयाँ बुझाएका छन् । बैंक खातामै आफूले पैसा हालिदिएको उनले बताए । विदेश पठाउन ढिला भएपछि उनको बुबा देवराज शाहीलाई पनि खबर गरेको उनका बुबाले छोराले भनेअनुसार काम नगरेपछि त्यसको जिम्मेवारी आफूले लिने बताएको उनको भनाइ छ । तर, अहिले देवराज पनि पन्छिएका छन् ।

ऋण खोजेर बुझाएको पैसा डुब्दा आफूहरू बिचल्लीमा परेको चन्द बताउँछन् । राजेन्द्र र कपिलबीच सेनाको भर्नासम्बन्धी तयारी कक्षामा चिनजान भएको थियो । नेपाली सेनामा असफल भए पनि फ्रान्स पठाइदिने र त्यहाँ गएर आर्मीमा भिड्न सकिने प्रलोभन उनीहरूलाई दिइएको थियो ।

त्यस्तै, बागुङका तारा घर्तीमगरको १३ लाख रुपैयाँ ठगी भएको छ । उनी फेसबुककै विज्ञापनबाट उनको सम्पर्कमा पुगेका थिए । ‘भिसा नै नक्कली बनाएर ठगी गरेको रहेछ,’ उनी भन्छन्, ‘अनुसन्धान गर्नका लागि वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छु ।’ ठकुरीले अन्य व्यक्तिलाई पनि आफूहरूलाई जस्तै ठग्न खोजेको र आफूले संकेत पाएपछि उनीहरूलाई सतर्क गराएको मगर बताउँछन् । त्यस्तै, प्रवीण थापा, प्रवीण बिसी, मदन ढुंंगाना, रिजन लामा, रमेश शाही ठकुरी, राजेश चौधरी, मेहन्त चन्द, कवीन्द्र अधिकारीलगायत ठगिएका हुन् ।

पीडितहरूलाई पहिलोपटक १२ फागुन ०७८ तथा दोस्रोपटक १३ जेठ ०७९ मा फ्रान्स पठाउने भनेर विमानस्थल लगिएको थियो । तर, भिसालगायत विवरण नक्कली भएको भन्दै उनीहरूलाई फिर्ता गरिएको थियो । त्यसपछि पनि आफूलाई अन्तिमपटक अवसर दिन भन्दै उनले पीडितहरूलाई फकाएका थिए । तर, पछिल्लो दुई महिनायता सम्पर्कविहीन भएका हुन् । उनका बुबाले पनि छोराको जिम्मा लिन नसक्ने बताएको पीडितको दुखेसो छ ।

फ्रान्सको एलजी पानीजहाज मेनेजमेन्ट कम्पनीको नाममा नक्कली पत्र बनाएका थिए । साथै, पानीजहाजमा काम गर्दाको नक्कली परिचयपत्र पनि देखाइएको थियो । सुरुमा टर्की लैजाने र त्यहाँबाट पानीजहाजमै फ्रान्स जाने बताइएको थियो । दोस्रोपटक भने अनडोरा देशको नक्कली भिसामा पठाउने प्रयास भएको पीडित मगरले बताए । ठकुरीले एयरपोर्ट विमानस्थलमा कार्यरत एक अध्यागमनका कर्मचारीलाई समेत भेटाएर आफ्नो भिनाजु भन्दै चिनाएर विमानस्थलमा सेटिङ मिलाइसकेको बताएका थिए ।

आसामका कोठीमा नेपाली युवतीको तस्करी

नेपाली युवतीहरूलाई भारतको आसाम राज्यमा सञ्चालित कोठीमा लगेर बिक्री हुने गरेको खुलेको छ । आसामको कछर जिल्लाको सिल्चर भन्ने ठाउँमा लगेर नेपाली युवतीलाई बिक्री गर्ने एक अभियुक्तलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिकाकी ३० वर्षीया एलिना खत्रीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार एक पीडितलाई गत वर्ष २४ कात्तिकमा नुवाकोटबाट काठमाडौं लैजाने भन्दै आसाम लगिएको थियो । खानेकुरामा बेहोस हुने औषधि मिसाएर बेहोस बनाई आसाम पुर्‍याइएको पीडितले बताएकी छिन् । माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा पीडित किशोरीको हालै उद्धार भएको थियो । नेपाल आएपछि पीडितले प्रहरीमा उजुरी दिएकी हुन् ।

मानव तस्करी प्रकरणमा भारतीय नागरिकसहित ६ जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनीहरूले धेरै नेपाली युवतीलाई त्यहाँ पुर्‍याएको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी एलिनामाथि यसअघि पनि मानव बेचबिखन मुद्दा दायर भइसकेको छ । गत पुसमा उनी झापामा पक्राउ परेकोमा अदालतको आदेशले एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेकी थिइन् । उनका श्रीमान् भारतीय नागरिक अजित साह पनि मानव बेचबिखन मुद्दामै झापाको कारागारमा छन् ।

Published on: 16 May 2023 | Naya Patrika

Link

Back to list

;