s

फिर्ती अभियानका नेतै तेस्रो मुलुकतिर

पर्वत पोर्तेल

भुटानी शरणार्थी आन्दोलनमा पछिल्लो समय देखा परेको अन्योलका कारण स्वदेश फिर्ती आन्दोलनका अग्रजहरू नै धमाधम तेस्रो मुलुक पुनर्वासमा जान थालेका छन् ।

यसका पछिल्ला पात्र हुन्- भुटान राष्ट्रिय प्रजातान्त्रिक पार्टीका प्रवक्ता नारद अधिकारी । 'स-सम्मान स्वदेश फिर्ती' को अडानमा लामो समयदेखि आन्दोलनरत टेकवीर छेत्री, सुवास आचार्य, आरपी सुब्बा, गणेश सुवेदी, छविलाल तिम्सिनालगायत दर्जनांै नेता यसअघि नै तेस्रो देश पुगिसकेका छन् । अधिकारी गत अगस्ट ३ मा काठमाडौंबाट सपरिवार अमेरिका उडेका हुन् । कान्तिपुरसँगको फेसबुक कुराकानीमा उनले भुटानी नेताहरूबीच देखिएको बेमेल र फुटका कारण निराश भएर आफूले अमेरिका जाने निर्णय गरेको बताए । 'नेताहरूबीचको फुटका कारण आन्दोलन धरापमा परेको छ,' उनले भने, 'त्यही कारण स्वदेश फिर्तीको आन्दोलन शिथिल भइरहेको छ ।'

अधिकारी अमेरिकाको हेम्प्सायरमा बस्न थालेका छन् । उनले अमेरिकामा बसेरै भए पनि स्वदेश फिर्तीको आन्दोलन क्रमिक रूपमा अघि बढाउने योजना रहेको दाबी गरे । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले अमेरिका, युरोप तथा अस्ट्रेलियालगायत आठ मुलुकमा शरणार्थीलाई पुनर्वास गरेको छ ।

अधिकारीका अनुसार आठै मुलुकबाट एकै चोटि स्वदेश फिर्तीको अभियान थालिने छ ।

उनले कहिलेदेखि र कसरी अभियान सुरु गर्ने भन्ने बताउन चाहेनन् । 'सबै मुलुकमा भएका साथीहरूसँग सल्लाह भइरहेको छ,' उनले भने, 'मिति तय भएको छैन ।'

यूएनएचसीआरले साढे तीनवर्षे कार्यक्रमअन्तर्गत ५१ हजार हाराहारीमा भुटानी शरणार्थी पुनर्वास भइसकेको हालै जानकारी गराएको छ । सन् २००८ यता पुनर्वासमा जानेको संख्या ह्वात्तै बढेको छ । सबभन्दा बढी अमेरिकामा ३६ हजार पुगेका छन् ।

करिब एक वर्षअघि भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, भुटान राष्ट्रिय प्रजातान्त्रिक पार्टीका डीएनएस ढकाल र भुटानी स्वदेश फिर्ती आन्दोलन संघर्ष समितिका सभापति टेकनाथ रिजाललगायत नेताले एकजुट भएर घर र्फकने अभियान सुरु गर्ने बताएका थिए ।

तर त्यसको कुनै गतिविधि देखिएको छैन । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष भम्पा राईले शरणार्थी आन्दोलन राजनीतिक कारणले तुहिन लागेको बताए । तेस्रो मुलुक पुनर्वासका कट्टर विरोधी मानिने राईले भुटानमा प्रजातन्त्र हुनुपर्छ भन्नेहरू अहिले विदेशमा मजदुर भइरहेको आरोप लगाए । 'घर फिर्तीको कुरा अहिले कसैले सुन्न मान्दैनन्,' उनले भने ।

Published on: 25 August 2011 | Kantipur

Back to list

;