s

'फिरन्ते’ वैदेशिक रोजगार

देवेन्द्र भट्टराई


वैदेशिक रोजगारीको सपनामा धेरैजसो मध्यमवर्गीय नेपाली एकपछि अर्को गर्दै खाडी मुलुक चहारिरहन्छन् । तर पाल्पाली तन्नेरी दीपक भण्डारीको कुरा भने बेग्लै छ । एकबारको जिन्दगीमा 'न भाग्य न कर्मकै ठेगाना हुन्छ' भन्दै दीपकले देखेको र भोगेको दुनियाँको कुरा अलग मात्रै होइन, रोचक पनि छ । यी अल्लारे ३१ बर्षकै उमेरमा मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया, भारत, रुस, युएई, नर्वे हुँदै अहिले आएर कुवेतमा कफी-मेकर दैनिकीमा रमिरहेका छन् ।  

दीपक कुवेती महानगरको साल्मियास्थित एक अपार्टमेन्टमा अरू चार साथीसँगीमाझ बस्छन् । उनी दिउँसो दुई बजेदेखि मध्यरातसम्मै क्यारिबोन कफीसपमा बरिस्ता काम गर्छन् । फर्केर कोठा आएपछि उही 'बिन्दास' मुड सुरु हुन्छ, पुराना दिनको सम्झना र देश-देशावरको गफगाफ । दीपकको यायावरी गफ नित्य सुन्ने साथीहरू छन्— कमल भुसाल -अर्घाखाँची), दीपकबहादुर थापा -तनहुँ), निरबहादुर पार्खिन -पर्सा) र आशिष गुरुङ -इलाम)

सन् २००१ जुलाई १८ मा वर्किङ भिसामा मलेसिया गएका दीपकमाथि नसोचेको भवितव्य आइपर्‍यो । 'महिनाको ५० हजार रुपैंयाँ कमाइ हुने पेट्रोल भर्ने काम' भनेर काठमाडौंंबाट हिमाल म्यानपावरले मलेसिया पठाएका थियो । त्यहाँ पुगेपछि त कुन जंगलमा हो लगेर 'पाम' -ताड) रूखमा चढाएर त्यसको फल काट्ने काममा उनी परेछन् । टेक्ने न समाउने रूखमा एउटा डन्ामा उनेको हँसियाजस्तो हतियारले भटाभट ताड झार्नुपर्ने काम थियो । चार महिना जति त्यो असाध्य काम गरे पनि त्यसबाट पार नपाउने देखेर १३ जना नेपालीको नेतृत्व गर्दै दीपक हडतालमा उत्रेका रहेछन् । 'हमको बचाइले सर, हम तो मरगेले' भन्दै केही भारतीय श्रमिक पनि त्यो हड्तालमा साथ लागेछन् । हड्ताल प्रतिबन्धित मलेसियामा ती सबैलाई पक्राउ गरेर तत्कालै अध्यागमन हिरासतमा लगियो । र, व्यक्तिपिच्छेको अन्तर्वार्ता सुरु भयो । दीपकको पालो आएको थियो । 

'यु नेपलिज् ?'

'यस ।'

'क्यान स्पिक मले ? 

'यस...

यसरी सुरु भयो भिन्न दैनिकी । आफू चार महिना जंगलबीचमा रहँदै पनि डिक्सनरी र बोली अभ्यासको बलमा दीपकले स्थानीय मले भाषा सिकिसकेका रहेछन् । अध्यागमनको जेलमा परे पनि मले र अंग्रेजी भाषाको आफ्नो पकडका कारण थुनाभित्रै त्यहाँका कर्मचारीका छोराछोरीलाई ट्युसन पढाउने काम उनले पाएछन् । बिहान-बेलुका प्रहरी अफिसरलाई भात पकाइदिने, भाँडा माझिदिने र अरू बेला ट्युसन पढाउने । त्यो सबै कामबापत दिनको १२ रिङ्गेट तनाखा पनि पाइरहेका हुन्थे । हिरासतमा ५ महिना रहँदाको उठबस र भिन्न दैनिकीका कारणले अध्यागमनका हाकिमहरूसँग पनि उनको नजिकको दोस्ती भएछ । त्यही फाइदामा परेर उनी छिट्टै घर र्फकन पाए ।

पाल्पा घर आएको छ महिनामैं उनी मलेसिया फिरे । त्यही मौकामा स्थानीय कलेज अफ बिजिनेस टेक्नोलोजीमा एकवर्षे कोर्स गर्न पनि पाए उनले । यसरी पाल्पाली दीपक भण्डारी मलेसिया पुगेर बिजिनेस-ब्याचलर पनि बने । दोस्रोपटक मलेसिया पुगेपछि ताड टिप्ने जंगलमा होइन, ताडको तेल र अरू प्रशाधन बनाउने कम्पनीमा उनी परेका रहेछन् । त्यही कम्पनी मालिकको कृपाबाट उनी आफ्नै इच्छामा मलेसियाबाट थाइल्यान्ड पनि पुगेका रहेछन् । त्यहाँका पर्यटकीय पताया, च्याङमाइका होटलहरूमा 'वेटर' बनेर दीपक भिन्न स्वाद बटुलिरहेका थिए । 'मलाई यो जिन्दगी साइकलको चक्काजस्तो लाग्छ, जति पाइडल मार्‍यो—उति नयाँ दुनियाँ र स्वादको अनुभव लिन पाइने,' उनी भन्छन् ।

दीपकको यो फिरन्ते स्वभाव र विशेषता वैदेशिक रोजगारीको खोजीमा निस्केको एउटा युवाको अलग चिनारीझैं थियो । थाइल्यान्डमा केही महिना रहेपछि उनी फेरि मलेसियाको पाम-आइल्यान्ड पुगेछन् र, त्यहाँबाट इन्डोनेसिया । दीपकले आफ्ना पुराना साथीभाइको संगतले जकार्ता एयरपोटर्ममैं काम गरेछन् केही महिना । फेरि त्यहाँबाट पपुवा न्युगिनी हुँदै अस्ट्रेलिया छिर्ने चक्कर पनि चलेको रहेछ । यस्ता काममा एजेन्टहरूको गोलचक्कर पनि उत्तिकै हुँदो रहेछ । यो यात्राका लागि पानीजहाजमा चढिसकेका बेला 'कागजातहीन अनधिकृत व्यक्ति' भनेर उनलाई नेभीले जहाजबाट उतारेको रहेछ । यो लहडमा २ हजार डलर जति रकम उनले खर्चिसकेका थिए ।

यो चक्करपछि दीपक फेरि नेपाल फर्के । फर्केको केही महिनामैं उनी रुस पुगे । चार महिनाजति एउटा कम्पनीमा काम गरेपछि रुसको ठिही उनलाई ठीक लाग्न छाड्यो । फेरि अर्को हावा चल्न थाल्यो मस्कोमा, फिरन्ते एजेन्टको हावा । मस्कोबासी गुल्मीका देवेन्द्र जीसी नामका मित्रवत् एजेन्टमार्फत सबै कागजात बनाएर उनी मस्को-ओस्लो उडानमा भित्रिए । तर १० दिने पर्यटक भिसामा ओस्लो विमानस्थल उत्रेकै क्षण अध्यागमनमा ३ हजार डलर पैसा 'सो' गर्न नसकेका कारण त्यहींंबाट 'डिपोर्ट' भए— घुमिफिरी कपुरी क । फर्केर मस्को आए पनि त्यहाँको चिसोले जकडेर उनलाई 'प|mोजन-सोल्जर' व्यथाले समायो, घुँडाका पाङ्ग्रा कटकटी दुखिरहने । त्यहाँबाट उनी फेरि नेपालै फर्के । पाल्पाको घरमा आएर हिसाबकिताब गर्दा मात्रै थाहा भयो— काठमाडौं आइजाइ धाउँदा र खाँदा-बस्दा, रुस जाँदा र नर्वेको चक्करमा लाग्दावर्दा ५/७ लाख रुपैयाँ स्वाहा भइसकेको रहेछ । ओहो, कुरा गर्‍यो कुरैको दुःख भनेजस्तो भयो ।

त्यसपछि दीपक फेरि काठमाडौं आए, होटेल म्यानेजमेन्ट पढ्न । होटलसम्बन्धी तालिम र सिकाइपछि सुन्धाराको होटल प्यालेसमा काम पनि गरे । तर ज्यानमा लुतोझैं गडेको थियो, वैदेशिक रोजगार । कन्याउन मन लागिरहने र आनन्द आइरहने कुराझैं । त्यही लुतोका कारण एउटा विज्ञापन पछ्याउँदै होटलकै काममा २००८ मे १३ मा उनी फेरि दुबई उत्रिए । त्यहाँ तीन वर्षसम्म केएफसीमा काम गरे, झन्डै नौ लाख रुपैयाँ कमाइ पनि भयो । त्यो पैसा लिएर तानेसनमा घर बनाउने हुँदा फेरि ५ लाख रुपैयाँको ऋण थाप्लामा चढ्यो । अनि अर्को सूचना पाएर दुबईको ड्युटी-|mी सपमा काम गर्न जाने भनी दीपक काठमाडौं आएका रहेछन् । किनभने उनी रसियन, इङ्लिस, इन्डोनेसियन, मले, तामिल, हिन्दी सबै भाषामा पोख्त थिए । तर म्यानपावर र एजेन्टको चक्करमा परेर उनी दुबई होइन— यतिखेर कुवेत आइपुगेका छन् । ड्युटी प|mी सपमा होइन, कफी-मेकर बरिस्ता काममा । 

'विदेश र वैदेशिक रोजगार भन्ने चीज नशा रहेछ । यो खैनी खाइरहने चर्को आदतजस्तै हुँदो रहेछ,' दुनियाको एक चक्कर लगाइसकेका दीपकले बुझेको कुरा छ, 'अर्कातिर अमेरिका, जापान जान सक्ने गरी धेरै पढ्न पनि सकिएन । फेरि कहींकतै गएर लेबर काम गर्नैका लागि त्यति थोरै पढिएको पनि होइन । म बीचको परेंँ, त्यही भएर यो दौडाहा हविगत बेहोर्नुपरेको होला ।' दीपकले बुझेको कटु-यथार्थ के छ भने यहाँ पढ्दै-नपढेकाहरूले महिनाको ६०/७० हजार रुपैंयाँ कमाइरहेका छन्, मैंले किन नकमाउने भन्ने 'अन्यथा' सपनाले गर्दा पनि यो नियति बेहोर्नुपरेको हो । अहिले कफी-मेकर काममा महिनाको मुस्किलले १ सय केडी -३० हजार रुपैयाँ) कमाइरहेका बेला पनि उनको मन भने 'स्थिर' बनिहालेको छैन । काठमाडौंको हेराल्ड इन्टरनेसनल म्यानपावरबाट कुवेत आएका उनी त्यो म्यानपावर एजेन्सी र एजेन्टले देखाएको भड्किलो सपनामा भर परिहाल्ने अवस्थामा अझै पुगेका छैनन् । 

क्यारिबोन-कफीमा कारिन्दा बनिरहेका बेला पनि दीपकलाई नचाहिंँदो सपनाले अझै पिरोलिरहन्छ । 'घर आँगनमा लुना बाइक होस्, पार्किङमा ल्यान्डक्रुजर गाडी र घरमैं सानो बियर गार्डेन । हो, सपनामा यस्तै देख्छु,' उनी भनिरहेका थिए, 'तर अहिले भने घर बनाउँदा लागेको ५ लाख रुपैयाँको ऋण चुक्ता गर्नु छ । अनि मात्रै सपनाको पालो आउँछ ।'     

घरका एक्ला छोरा दीपकले गाउँ छँदै १७ वर्षे उमेरमा विवाह गरेका थिए । श्रीमती कमलासहित दुई छोरी नविका र करुणा अहिले तानसेन-बासिन्दा बनेका छन् । हरदम देख्ने सपनाजस्तै दीपकलाई आफ्नो विगतका प्रेममयी क्षण र प्रेमील युवतीहरूको पनि खुबै सम्झना आउने रहेछ । अहिले कुवेत पुगिन्जेल पनि उनलाई कतिपयको, कतिपय देशबाट 'मिसकल' आइरहने रहेछ । तर श्रीमती कमलालाई चित्त बुझाउने गरी उनी भन्ने रहेछन्, 'हेर, भगवान् कृष्णका पछाडी लाग्ने गोपिनीहरू कति थिए कति । तर कृष्ण भने सधैं राधाकै पछि लागेका थिए । तिमी मेरा लागि त्यस्तै राधा हौ । हो— कुरा यस्तै हो, मिलाएर बुझ्नुपर्छ है ।' 

Published on: 9 February 2013 | Kantipur

Back to list

;