s

फेरियो म्यानपावरको ठगीधन्दा : एजेन्ट देखाउँदै उम्कन थाले व्यवसायी

वैदेशिक रोजगारीका निम्ति विभिन्न देश जाने सोच बुनेका युवालाई म्यानपावर व्यवसायीले घुमाउँरो तरिकाले ठग्न थालेका छन्। म्यानपावरले एजेन्ट लगाएर मान्छे ठग्न थालेपछि व्यक्तिका नाममा उजुरी आउने तर संस्थाले उन्मुक्ति लिने अवस्था आएको छ।

यो प्रवृत्तिका कारण पीडित आफू ठगिएको उजुरी लिएर वैदेशिक रोजगार विभाग जाँदा म्यानपावरविरुद्ध होइन, एजेन्टविरुद्ध उजुरी दिन पुग्ने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ठगीका घटना बढ्दो छ, जसमा संस्थागत उजुरीभन्दा बढी व्यक्तिगत उजुरी चुलिएका छन्।

चालु आव २०८०-८१ को चैत मसान्तसम्ममा पाँच हजार ८८१ उजुरी परेका छन्। जसमा ७५२ उजुरी म्यानपावर व्यवसायीविरुद्ध उजुरी परेका छन् भने पाँच हजार १२९ उजुरी व्यक्तिगतविरुद्ध परेका हुन्।

विभागमा म्यापावरका भन्दा बढी एजेन्टद्वारा पीडितहरूको उजुरी परेका छन्। विभागमा पुग्ने पीडितको एजेन्टलाई पैसा हालिदिएको भन्ने दाबी रहेको छ।

‘एजेन्टमार्फत म्यानपावरबारे थाहा भएको हो,’ ती पीडित भन्छन्, ‘म्यानपावर कहाँ छ, त्यसले के गर्छ भन्ने पनि थाहा छैन। म्यानपावरसम्म पुग्नै नपाई विभिन्न देशको प्रलोभन देखाउने एजेन्ट नै हुन्छन्। उसैका विरुद्ध उजुरी हाल्न आएका हौं।’

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार म्यानपावर व्यवसायीले एजेन्ट राख्न पाउँदैन। विगतमा म्यानपावर व्यवसायी एजेन्ट नियुक्त गरेर कामदार पठाउँदै आएका थिए। यसरी एजेन्टलाई अगाडि राखेर म्यानपावर कम्पनीहरू छायामा परेर काम गरिरहेका थुप्रै पीडित विभागमा रुँदै कराउँदै धाउने गरेका छन्।

त्यसैले म्यानपावर कम्पनीले ठगी गर्ने धन्दामा नयाँ मोड आएको छ। कमिसन दिने भन्दै म्यानपावरहरूले एजेन्टहरूलाई ग्राहक तान्ने बिचौलिया बनाएका छन्। विभागको तथ्यांकबाट पनि वैदेशिक रोजगारसम्बन्धी ठगी धन्दामा म्यानपावर कम्पनीभन्दा बढी व्यक्तिगत उजुरी धेरै छन्।

वैदेशिक रोजगारीमा पठाउने नाममा ठगिएको भन्दै दैनिक सयौं पीडित विभाग धाउने गरेका छन्। म्यानपवारको सहायता पाएका एजेन्टले धेरै युवालाई ठग्ने उदेश्य बोकेर काम गरिरहेका हुन्छन्।

सबै पीडित उक्त एजेन्टविरुद्ध उजुरी दिन विभाग पुगेसँगै एजेन्टलाई र्‍याखर्‍याख्ती पार्न थालेपछि एजेन्ट आफैंलाई म्यानपावर कम्पनीले यसो गर्न लगाएको भन्दै उनी पनि पीडितसरह उजुरी दिन आएका विभागका अधिकारी बताउँछन्।

वैदेशिक रोजगारीमा जान तयार रहेका युवाले एजेन्टको बैंक खातामा रकम हालिदिएका हुन्छन्। एजेन्टले पनि सकेसम्म हातमै पैसा लिन नसके आफ्नै बैंक खातामा पैसा हाल्न लगाउँछन्। तर म्यानपावर कम्पनीले उक्त एजेन्टबाट हाताहाती पैसा लिएको हुन्छ। जसले गर्दा म्यानपावर कम्पनी कानुनी चक्करमा पर्दैनन्।

कतिपय पीडितलाई आफू कुन म्यानपावरद्वारा विदेश जाँदै छु र किन पैसा व्यक्तिलाई बुझाएको छु भन्नेसमेत थाहा पाउँदैनन्। यसले गर्दा पीडितले म्यानपावरलाई होइन् एजेन्टविरुद्ध उजुरी दिन विभाग धाउने स्थिति आएको हो। यसरी विभागमा म्यानपावर कम्पनीविरुद्ध भन्दा बढी व्यक्तिगत उजुरी बढ्न पुगेको विभागकै अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगार विभागमा निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) मा थुप्रै एजेन्ट आफैं ठगिएको भन्दै उजुरी दिन जाने गरेका छन्।

एक एजेन्टले पिपुल फोरमका कर्मचारीलाई यसोसमेत भनेका रहेछन्, ‘कामको खोजीमा म आफैं पनि म्यानपावर कम्पनीमा ठोक्किन पुगें। म्यानपावर कम्पनीले नेपाली युवालाई विदेश पठाउने काम गर्छ भन्ने पनि थाहा थिएन। म्यानपावरमा काम गर्न सुरु गरेपछि विभिन्न देशमा राम्रो सुविधा छ भनेर विदेश जान भौतारिरहेका युवालाई विश्वास दिलाउने मेरो जिम्मेवारी थियो।’

म्यानपावरले आफूलाई लगाएको कामको प्रकृतिबारे एजेन्टले पिपुल फोरममा भनेका थिए, ‘सुरुमा म्यानपावर सञ्चालकले अहिले हाम्रो बैंक खाता बिग्रिएको छ। विदेश जान चाहने युवाको आवश्यक कागजात र लाग्ने सबै पैसा तिमी नै लिएर आउनू। विदेश जान खोजेको मानिसले पैसा हाताहाती दिन नमानेमा तिम्रो बैंक खातामा हाल्न लगाउनू। अनि त्यो पैसा निकालेर अफिस ल्याउनू। हामी त्यो व्यक्तिको विदेश जाने प्रक्रिया अघि बढाउँछौँ।’

एजेन्ट आफैं पीडित भएर थुप्रै पीडितको सूचीसहित विभाग उजुरी दिन आएका बखत संवाद भएको पिपुल फोरमका एक कर्मचारीले बताए। ‘विदेश जाने मानिसबाट म पैसा लिन्थेँ अनि म्यानपावर कम्पनीमा लगेर बुझाउँथेँ। उनीहरूको भित्री कुरा के थाहा हुन्थ्यो र ? पैसा पुर्‍याएकामध्ये केही मात्रै विदेश उडिसकेका पनि हुन्थेँ। काम हुँदै छ भन्ने मलाई पनि आस लाग्थ्यो। विदेश जाने युवाबाट पैसा उठाउँदै म्यानपावर पु¥याउने गर्थें। आज आफैं फसियो।’

म्यानपावर व्यवसायी नै सम्पर्कविहीन भएपछि केही एजेन्टहरू नै विभागको सम्पर्कमा आउने गर्छन्। पछिल्लो समय वैदेशिक रोजगार विभागमा आउने धेरै जसो उजुरी यस्तै खालका हुन्छन्। जहाँ एजेन्टहरू नै पीडित बनेर पुग्ने गरेका छन्।

धेरै समय अघिदेखि नै म्यानपावरको यो खेल सुरु हुँदै आएको छ। म्यानपावर कम्पनीमार्फत ठगीका घटना भएको विभागको तथ्यांकमा छ। तर, एजेन्ट तथा व्यक्तिमार्फत ठगीका घटना बढेका छन्। यसअघि गत आव २०७९-८० मा चार हजार ४६४ पुगेको थियो, जसमा एक हजार ४२८ म्यानपावर व्यवसायीबाट ठगिएका पीडितहरूको उजुरी थियो भने तीन हजार ३६ उजुरी व्यक्तिगत ठगीका थिए। ती उजुरीमा ५५ करोड ६१ लाख रूपैयाँबराबरको क्षतिपूर्ति माग गरिएको थियो।

वैदेशिक रोजगार विभागको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा हरेक वर्ष ठगीका घटना बढ्दो क्रममा छन्। विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८-७९ मा देशभरबाट वैदेशिक रोजगारीमा ठगीसम्बन्धी एक हजार ७४२ घटना दर्ता भएका थिए। यसरी वैदेशिक रोजगारीमा ठगीको घटनाले चालु आर्थिक वर्षको तथ्यांक झन् ठूलो रहेको छ।

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा, कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन तथा प्रलोभन देखाएर रकम लिई ठगी गरेमा कारबाही हुने व्यवस्था छ।

अवैध रूपमा कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जनाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च भराई तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार म्यानपावर कम्पनीहरूका एजेन्ट तथा ब्रोकरहरू नियुक्त गर्दा व्यक्तिगत ठगीका घटना बढिरहेका छन्।

‘म्यानपावर कम्पनीहरूले सिधै पैसा लिन नमिल्ने कानुनी प्रक्रिया छ,’ उनले भने, ‘त्यसो हुँदा आफू र विदेश जान चाहने युवाबीच दलाल खडा गर्ने गर्छन्। युवाले एजेन्टलाई पैसा बुझाउँछ र म्यानपावरले एजेन्टबाट पैसा लिने गर्छन्। यस्तो गर्दा म्यानपावर कम्पनी ओभानो हुने भए। पीडितहरू एजेन्टले ठग्यो भन्दै विभाग आउने गरेका छन्।’

घिमिरेले भने, ‘हामी कानुनी प्रकृयाअन्तर्गत प्रमाण हेर्ने वर्ग हौं। पीडितले ल्याएका ठगिएका प्रमाणमा म्यानपावर कम्पनी कहीँबाट मुछिएका हुँदैनन्। प्रमाण नहुँदा म्यानपावरलाई समात्न सकेका छैनौं। आफू जोगिनलाई म्यानपावर कम्पनीहरूले ठग्ने प्रक्रिया परिवर्तन गरेका छन्। ठगीको प्रमाण हेर्दा एजेन्टहरू पर्ने गरेका छन्। जसले गर्दा संस्थागत उजुरी कम छ।’

बिना प्रमाण विभाग आएका पीडितले आरोप लगाएका म्यानपावरलाई सोधपुछ गर्दा ठगी गरेको प्रमाण भए कानुनी दायरामा आउन तयार छु भन्ने गरेको घिमिरे बताउँछन्।

विना एजेन्ट सिधै कामदार पठाउने म्यानपावर करिब दुई सयवटा रहेको उनले बताए। करिब आठ सयभन्दा बढी म्यानपावर कम्पनीहरूले एजेन्ट राखेर काम गरेसँगै आएका पैसालाई कालो धन बनाइरहेको घिमिरेले बताए। अधिकांश झोले म्यानपावरहरूले ठगी धन्दा व्यापक रूपमा बढाएको उनी बताउँछन्।

फ्रि भिसा फ्रि टिकटको नाममा म्यानपावर व्यवसायीलाई सेवा शुल्क नतोकेदेखि यस्तो खालका समस्या निम्तिएको उनको भनाइ छ। ‘फ्रि भिसा फ्रि टिकट’ भनेपछि म्यानपावरलाई सेवाशुल्क तोकिएन। म्यानपावरले एजेन्टहरू नियुक्त गरे। ती एजेन्टहरूले मनलाग्दी तरिकाले पैसा उठाए। उनीहरू न आधिकारिक व्यक्ति हुन्, न लाइसेन्स हुन्छ। उनीहरूकै कारण समस्या आइरहेको हो,’ महानिर्देशक घिमिरेले भने।

‘यहाँ बैंकमार्फत आर्थिक कारोबार भएको छैन। म्यानपावरसँग अत्यधिक पैसा छ तर अनौपचारिक तरिकाले दलालमार्फत उठाएको पैसा हो। त्यसरी उठाएको पैसालाई ‘कालोधन’ बनाएर राखेका छन्। जसले गर्दा वैदेशिक रोजगारीका क्रममा सबैभन्दा बढी मारमा श्रमिक छन्,’ महानिर्देशक घिमिरेले भने।

Published on: 30 May 2024 | Nagarik

Link

Back to list

;