s

फेरी लगाउन भारततिर

फेदाप गाउँपालिका–२ ओयाक्जुङ मझुवाका भोजबहादुर जोगी आफ्ना आठमध्ये ६ सन्तान र पत्नी छाडी दसैं खर्च जुटाउन भारतको दार्जिलिङतर्फ फेरी लगाउन गएका छन्।

उनले साथमा दुई छोरालाई पनि लिएर गएका छन्। अहिले उनका घरमा नाबालाक छोराछोरी र पत्नी मात्र छन्। सोही वडाका गञ्जबहादुर जोगी पनि नाबालक छोराछोरी र पत्नी मालतीको जिम्मा लगाएर दसैं खर्चको जोहो गर्न फेरी बोकेर दार्जीलिङ तिरे पसेका छन्। मालतीका जेठाजु मदन, कान्छा देवर कृष्ण पनि उतै गएका महिना दिन बढी भयो। घर व्यवहार पत्नी र वृद्ध आमालाई जिम्मा लगाएर भारत पस्ने जोगीहरूको संख्या मझुवा धेरै छ। साविक ओयाक्जुङ ७, ८ र ९ नं वडाका जोगी बस्तीमा यतिबेला केटाकेटी, वयोवृद्ध र महिला मात्र भेटिन्छन्।

नजिकिँदो दसैं खर्च जुटाउन यहाँका सबै जोगी भारतको सिक्किम, गान्तोक र दार्जिलिङतर्पm गएका हुन्। जसले गर्दा गाँउ नै पुरुषविहीन छ। जोगी समुदायमा पढेलेखेका युवाको संख्या न्यून छ। केही पढेलेखेकाले पनि गाउँ छोडेका छन्। परम्परा धान्ने निहुँमा पछिल्लो पुस्ताका युवासमेत पाका पुस्ताको पछि लागेर फेरी बजाउन भारततिरै लागेपछि गाउँ युवाविहीन बनेको स्थानीय बालकुमारी जोगीले बताइन्। उनका पति खड्गबहादुर पनि एक महिनाअघि इलाम हँुदै भारततिरै लागेका छन्।

थोरै जग्गा जमिन, धेरै परिवार भएका कारण परिवार पाल्नकै लागि पति फेरी लगाउन परदेश गएका स्थानीय तुलमाया जोगीले बताइन्। पतिका साथमा उनले पढ्दै गरेका दुई छोरालाई समेत फेरी लगाउन उतै पठाएको छन्। ‘वर्षभरि १०÷१२ डोको फल्ने मकैले पेटभरि खान पुग्दैन’, चित्राले छाएको झुप्रो घरअगाडि उभिएकी उनले भनिन् ‘फेरी लगाउन नगए त भोक भोकै मरिन्छ’, परिवार पाल्नै भए पनि गाउँका प्रायः युवा घर छोडेर भारत पस्ने गर्छन्।’

परम्परा धान्ने निहुँमा पछिल्लो पुस्तासमेत फेरी बजाउन भारत पसेपछि गाउँ नै सुनसान छ।

फेरी लगाउन भदौ, असोज, कात्तिक र चैतमा वर्षको चार पटक घरबाहिर निस्कने जोगीहरू यस सिजन भने भारत गएका छन्। दसैं आउन दुई महिनाअघि नै फेरी लिएर घरबाहिर निस्किएका जोगीहरू फूलपातीको दिनसम्म घर फर्किसक्छन्। फर्कंदा केही पैसा र परिवारलाई लत्ताकपडासमेत लिएर आउने गरेकाले दसैं तिहारजस्ता चाडपर्व खुसीका साथ मान्ने गरिएको ती जोगीहरूका पत्नीहरू बताउने गर्छन्।

दसैं तिहार मान्ने खर्च जुटाउनकै लागि सयौं जोगीहरूले एकै साथ गाउँ छोड्ने गर्छन्। वर्षभरि फलाएको अन्नले तीन महिना पनि खान नपुग्ने यहाँ धेरै जोगी परिवार छन्। गाउँको बीचमा एउटा माध्यमिक तहसम्मको विद्यालय छ। तर धेरै जोगीका छोराछोरीले बीचैमा पढाइ छाड्ने गरेका स्थानीय सिद्धकाली माविका प्रधानाध्यापक कमल दुलालले बताए। खेतबारीमा उब्जिएको अन्न र घरमा पालेका पशुवस्तुको आम्दानीले परिवार चलाउन नपुग्ने भएकाले गाउँका सबैजसो जोगी परिवारले दुःखले जीवन निर्वाह गरिरहेका स्थानीय युवा सूर्यबहादुर जोगीले बताए। अहिले गाउँमा स्थानीय देउराली सोसाइटी नामक संस्थाले उनीहरूको आयआर्जन वृद्धि गर्न अकबरे खुर्सानीको खेतीमा सहयोग गरेको संस्थाका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले बताए।

Published On: 17 September 2018 | Annapurna post

Back to list

;