s

फेरि कोरिया जान दिन विशेष परीक्षा हुँदै कोरियामा अवैध कामदार घटाउने पहल

 
काठमाडौं: दक्षिण कोरियामा एकपटक काम गरेर फर्किएकालाई पुनः पठाउन ईपीएस कोरिया शाखाले विशेष परीक्षा सञ्चालन गर्ने भएको छ । कोरियामा गैरकानुनीरूपमा कामदार बस्नेक्रम बढेपछि त्यसलाई न्यूनीकरण गर्न कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्न लागिएको हो ।
 
यो परीक्षामा पास हुने बित्तिकै पहिला काम गरेको कम्पनीले बोलाएमा तुरुन्त जान पाइनेछ । यसबाहेक नयाँ कम्पनीमा जाने अवसर पनि मिल्नेछ । कोरियामा वैध अवधि सकिएपछि घर फिर्ता हुन प्रोत्साहित गर्ने उद्देश्यले रोजगारदाता मुलुकको संयोजनमा ईपीएस कोरिया शाखाले विशेष परीक्षा लिन लागेको हो ।
 
कम्प्युटरमा आधारित विशेष परीक्षा फागुन १३ मा हुने भएको छ । यसका लागि माघ २० देखि २२ सम्म आवेदन फारम वितरण गरिनेछ । काम गरेर फर्किएको ६ महिना अवधि पूरा भएकाले यो परीक्षामा सामेल हुन र फेरि जाने अवसर पाउनेछन् । विगतमा पनि पटकपटक यस्तो परीक्षा सञ्चालन भइसकेको छ । विशेष परीक्षामार्फत हालसम्म काम गरेर फर्केका दुई हजार युवा फेरि दक्षिण कोरिया गइसकेका छन् ।
 
हाल कोरियामा काम गरेर फर्केका चार हजारदेखि पाँच हजार जना युवा नेपालमा रहेको अनुमान छ । यिनीहरूलाई लक्षित गरेर विशेष परीक्षा गर्न लागिएको हो । 
 
एकपटक तोकिएको अवधि पूरा गरेर कोरियाबाट फर्किएका अधिकांश यो परीक्षामार्फत फेरि जाने ईपीएस कोरिया शाखाको भनाइ छ । यसअघि सञ्चालन गरिएका विशेष परीक्षामार्फत नेपाल आएकामध्ये ९५ प्रतिशत कामदार फेरि दोहो–याएर काम गर्न कोरिया गइसकेका छन् । यसपटकको विशेष परीक्षामा पास हुनेमध्ये पनि अधिकांश जाने अनुमान छ ।
 
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियामा अवैध कामदार निरुत्साहित गर्ने उद्देश्यले फर्किएकालाई फेरि जान दिन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘एकपटक गएर वैध प्रक्रियाबाट फर्किएकाहरू सबैले आवेदन दिन सक्नेछन्' , उनले भने । कानुन बमोजिम तोकिएको अवधि सकिएपछि फिर्ता हुने र इच्छा लागेमा फेरि जान पाइन्छ भन्ने सन्देश दिन विशेष परीक्षा लिन लागिएको उनले बताए ।
 
फेरि जाने व्यक्ति १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, गैरकानुनी गतिविधिमा संलग्न नभएको हुनुपर्छ । परीक्षा शुल्क २४ अमेरिकी डलर तिर्नुपर्छ । जुन क्षेत्रमा काम गर्न जाने हो, त्यससँग सम्बन्धित विषयका न्यूनतम १० वटा प्रश्नको उत्तर दिनुपर्ने नियम ईपीएसले बनाएको छ । विशेष परीक्षामा उत्पादनमूलक, कृषि, पशुपालन, निर्माण, मत्स्यपालन र सेवामूलक क्षेत्रमा काम गर्न जानका लागि परीक्षा लिन लागिएको हो ।
 
भूकम्प र नाकाबन्दीका कारण कोरियामा गैरकानुनीरूपमा नेपाली कामदार लुकिछिपी बस्नेक्रम बढेको छ । हाल गैरकानुनी कामदारको संख्या पाँच प्रतिशत पुगेको अनुमान छ । कुल कामदारमध्ये अवैधको संख्या पाँच प्रतिशत नाघ्ने बित्तिकै कोरियाले कडा आपत्ति जनाउँदै कामदार लिन बन्द गर्ने चेतावनी दिने गरेको छ । 
 
हाल दक्षिण कोरियामा ३४ हजार नेपालीले काम गरिरहेका छन् । यसमध्ये पाँच प्रतिशत अर्थात् १७ सय जनाजति अवैध कामदार रहेको अनुमान छ । अवैधको संख्या घटाउन कोरियाले नेपाललाई बारम्बार दबाब दिने गरेको छ । अवैध न्यूनीकरण नगरे त्यस्ता मुलुकबाट कामदार लिन नै रोक्नसम्म कदम कोरियाले चाल्न सक्छ ।
 
एकपटक गएका कामदार चार वर्ष १० महिनासम्म बस्न पाउँछन् । यसभन्दा बढी अवधि बसे स्वतः अवैध हुने प्रावधान छ । दक्षिण कोरिया नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक हो । कोरियाले नेपालसहित विभिन्न १५ मुलुकबाट विदेशी कामदार लिने गरेको छ । नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाईमा पर्दैआएको ईपीएस शाखा प्रमुख बास्तोलाले जानकारी दिए ।
 
कोरियामा ईपीएस (रोजगार अनुमति प्रणाली) मार्फत मात्र प्रशिक्षार्थी कामदार पठाउन पाइन्छ । यस प्रणालीमा दुवै देशका सरकारबीच कामदार आदानप्रदान हुने व्यवस्था छ । कोरियामा म्यानपावर कम्पनीले कामदार पठाउन पाउँदैनन् । कोरियामा गएका नेपाली कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्ने भएकाले जानेको आकर्षण पछिल्ला वर्षमा चुलिँदो छ । 
 
एक वर्षको अनुभवपछि ओभरटाइमसमेत गरी धेरैले मासिक दुई लाख रुपैयाँभन्दा बढी कमाइ गर्न सक्छन् । नेपालमा जागिर खाएका, सानो व्यापार व्यवसाय गरेर बसेका तथा उच्च शिक्षा हासिल गरेका युवायुवतीमा समेत जाने क्रेज बढेको छ । ईपीएस परीक्षामा वार्षिक ५० हजारभन्दा बढीले सहभागिता जनाउने गरेका छन् ।
 
Published on: 1 February 2016 | Annapurna Post

Back to list

;