s

फस्दै आर्थिक अपराधमा

प्रहरीले चेक बाउन्स र सहकारी ठगीका मुद्दासमेत हेर्न थालेपछि आर्थिक अपराधसम्बन्धी उजुरी आउने क्रममा वृद्धि भएको छ

लीला श्रेष्ठ

काठमाडौँ — पोल्ट्री फार्म र फेन्सी पसलबाट परिवार चलेकै थियो । साथीहरूमार्फत अमेरिकामा राम्रो काम, आकर्षक तलबको प्रस्ताव आएपछि झापा बिर्तामोडका सञ्जीवकुमार राईको मन लोभियो । उनले ऋण गरेरै भए पनि अमेरिका पुग्ने सोच बनाए । पोल्ट्री फार्म बन्द गरे । फेन्सी पसल बेचे । पसल बेचेको रकमले नपुगेपछि मिटर ब्याजमा ऋण लिएर विश्वासको भरमा गुल्मी घर भई गैरीधारा बस्ने शिवानन्द स्वामी भन्ने दीपक भण्डारीलाई बुझाए ।

१० लाख ५५ हजार रुपैयाँ बुझाएको तीन वर्षसम्म पनि राईको अमेरिका पुग्ने बाटो तय भएन । अमेरिका लान नसक्ने भएपछि भण्डारीले राईलगायत टीकाराम पौठाक र कृष्णप्रसाद बराललाई चेक रिपब्लिक भए पनि पठाउने बताए । भण्डारीले उनीहरूलाई ६ महिनापछि परिवारलाई लैजान सकिने र एक वर्षमा पीआर पाउने बताउँदासम्म रकम फसिसकेको थियो । तीन जनामार्फत ३० लाख ७५ हजार रुपैयाँ लिएका भण्डारी सम्पर्कविहीन भए ।

वैदेशिक रोजगारको मोह देखाउने भण्डारीलाई गतसाता महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । उनले मासिक दुई लाख रुपैयाँ तलबमा वैदेशिक रोजगारका लागि चेक रिपब्लिक पठाइदिन्छु भन्दै उनीहरूलाई ठगेका थिए । भण्डारीले राईबाट १० लाख ५५ हजार, पौठाकबाट ९ लाख ५० हजार, बरालबाट १० लाख ७० हजार गरी ३० लाख ७५ हजार रुपैयाँ लिएका थिए । भण्डारीलाई प्रहरीले ठगी कसुरमा मुद्दा पेस गरेको छ ।

वैदेशिक रोजगारका लागि डिपेन्डेट भिसामा अस्ट्रेलिया पठाउने प्रलोभन देखाई ललितपुर भैंसेपाटी बस्ने नारायणबहादुर पन्तले १२ लाख रुपैयाँ ठगी गरे । काभ्रेपलान्चोकका पन्तले बाग्लुङ घर भई गोंगबु बस्ने महेन्द्र छन्त्याललाई सनराइज बैंक गैरीधाराको खातामा पटकपटक गरी १२ लाख रुपैयाँ जम्मा गर्न लगाए । रकम पाएपछि फरार पन्तलाई पुस १८ मा जयबागेश्वरीबाट प्रहरीेले नियन्त्रणमा लियो । काठमाडौं प्रहरी परिसरले उनलाई पनि ठगी मुद्दामा कारबाही चलाइसकेको छ ।

सामाजिक सञ्जालमार्फत साथी बनेर विभिन्न उपहारको लोभ देखाउँदै ठगी गर्नेहरू पनि पक्राउ परेका छन् । खोटाङ घर भई बानेश्वर बस्ने शान्ताकुमारी राईसँग फेसबुक साथी बनेर ठगी गर्ने तीन जना गत मंसिर १४ गते समातिए । पक्राउ पर्नेमा दोलखा घर भई ठमेल बस्ने रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार छन् । उनीहरूमाथि ठगी कसुरअन्तर्गत कारबाही भइरहेको प्रहरीले जनाएको छ । सुरुमा राईलाई बेलायती नागरिक स्मिथ मोरिसबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो । उनीहरू साथी बनेपछि कुरा हुँदै गयो । मोरिसले ह्वाटस् एपमा समेत कुरा गर्न थाले ।

कुराकानीका क्रममा विश्वास दिलाई मोरिसले सुटकेसमा उपहार र २० हजार पाउन्ड पठाएको भन्दै कुरियर गरेको रसिदको फोटोसमेत पठाए । केही दिनपछि उक्त सामान भूलवश भारतमा गएकाले सामानको भन्सार छुटाउन रकम आवश्यक परेको राईलाई खबर आयो । विभिन्न व्यक्तिले भारतको नम्बरबाट राईलाई फोन गरी रकम जम्मा गर्ने रमेश खड्कालगायत व्यक्तिको बैंक खाता नम्बर पठाए । उपहारमा लोभिएकी राईले पटकपटक गरी २४ लाख ३० हजार ५० रुपैयाँ जम्मा गर्न गरिन् । खातमा रकम जम्मा भएपछि उनीहरू सबै सम्पर्कमा आएनन् ।

यी तीन प्रतिनिधि उदाहरण हुन् । हतारमा प्रलोभनमा पर्दा पछिल्लो समय धेरै युवा ठगीमा फसिरहेको प्रहरीको तथ्यांकले पनि पुष्टि गर्छ । प्रहरीमा दैनिकजसो बैंकिङ कसुर, वैदेशिक रोजगार सम्बन्धी ठगी, सामाजिक सञ्जालको दुरुपयोगबाट र जग्गा बिक्रीका नाममा हुने ठगीका उजुरीको क्रम बढेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा उपत्यकामा ३ हजार ८ सय ६९ वटा अपराधजन्य घटनाको उजुरी परेको छ । जसमध्ये, संगठित तथा आर्थिक अपराध र बैंकिङ कसुरका १ हजार ९ सय २२ मुद्दा दर्ता भएका छन् ।

गत आवमा दर्ता भएका १० हजार १ सय ५९ अपराधमध्ये ३ हजार ७ सय ७९ घटना संगठित तथा अर्थिक अपराध र बैंकिङ कसुरका थिए । प्रहरीले चेक बाउन्स र सहकारी ठगीका मुद्दा हेर्न थालेपछि उजुरी आउने क्रम बढेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

यो आवको ६ महिनामा बैंकिङ कसुरका मात्र १ हजार ५ सय ५५ मुद्दा दर्ता भएका छन् भने ठगीका १ सय ९ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । ‘पहिला लेनदेन मिलाएपछि चेकमा कारोबार गर्छन्, बैंकमा पैसा झिक्न जाँदा चेक बाउन्स हुन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका मुद्दा शाखा प्रमुख कृष्ण चन्दले भने, ‘कानुनी आधारमा रहेर चेक कारोबार गर्नेको संख्या बढ्दो छ ।’ काठमाडौंमा ढुकुटी खेलाउनेले पनि चेकमा कारोबार गर्न
थालेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बैंकिङ कसुर, वैदेशिक रोजगार, अनलाइन ठगीलगायत आर्थिक अपराध मौलाउँदै गएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । महाशाखाका अनुसार युरोपीयन देशमा राम्रो काम, आकर्षक तलब पाउने प्रलोभनमा परेका धेरैको बिचल्ली भएको छ । ‘म्यानपावर एजेन्ट, वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिबाट बढी आर्थिक अपराधका घटना भएको पाइएको छ,’ उनले भने, ‘डाइरेक्ट डिल नभई तेस्रो पक्षसँगको कारोबारले ठगिएको घटना बढ्दो क्रममा देखिन्छ ।’

राम्रो रोजगारी पाइने भनेपछि केही नबुझी म्यानपावर र एजेन्टको पछि दौडिँदा धेरैले दु:ख पाइरहेको महाशाखाका प्रवक्ता एसपी मुकेशकुमार सिंहले बताए । विदेशमा बसेर नेपालमा एजेन्ट प्रयोग गरेर सामाजिक सञ्जालमार्फत ठग्न गिरोह नै सक्रिय रहेको उनको भनाइ छ । ‘आकर्षण र मिल्दै नमिल्ने तलब पाइन्छ भनेर सामाजिक सञ्जालमार्फत ठगी बढेको छ,’ उनले भने, ‘फेसबुक, भाइबर, म्यासेन्जरलगायत अन्य स्रोत प्रयोग भइरहेको छ ।

रोजगारीका आकर्षक विज्ञापन प्रवाह गर्ने र थोरै समयमा धेरै कमाउने महत्वकांक्षी सोच देखाइदिने आपराधिक मानसिकताले बढवा पाएको छ ।’ दक्षता भएका युवाले कानुनी प्रक्रिया पुर्‍याएर मात्रै वैदेशिक रोजगारीमा जान प्रहरीको सुझाव छ । विभिन्न सामाजिक सञ्जाल र दलालको पछि लागेर प्रलोभनमा पर्नु नै ठगीलाई प्रोत्साहन मिल्ने कारक भएको एसपी सिंह बताउँछन् ।

Published on: 30 January 2020 | Kantipur

Link

Back to list

;