s

फर्की आउँदैछु घरआँगन

साउदी सरकारले अवैध कामदारलाई वैध हुन वा स्वदेश फर्कन प्रक्रियासहितको सूचना जारी गरेपछि वर्षौंदेखि अवैध भएर रहेका नेपालीमा स्वदेश फर्केर परिवारसँग भेटघाट गर्न पाउने विश्वास पलाएको छ।

साउदी सरकारले जुलाई ३ सम्म अवैध ठहरिएकाले वैधता प्राप्त गर्नुपर्ने वा स्वदेश फर्किनुपर्ने जनाएपछि अहिले रियादस्थित नेपाली राजदूतावास र दूतावासले दम्माम र जेद्धामा खोलेका दुई सम्पर्क केन्द्रमा आप्रवासी कामदारको भिड लागेको छ। घर फर्कन निवेदन दिन लामबद्ध नेपालीको अनुहारमा खुसीका रेखा देखिन थालेको छ।

साउदी सरकारले तोकेको समयमै नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्न यहाँस्थित एनआरएनका सदस्य र नेपाल–साउदी हेल्पिङ ह्यान्ड्समा आबद्ध नेपाली लागिपरेका छन्। एनआरएन, जेद्धाका शाखा अध्यक्ष ध्रुव रिजालका अनुसार मे १३ पछि खोलिएको उनको सम्पर्क केन्द्रमा मात्रै शुक्रबारसम्म ३ हजार बढी नेपालीले निवेदन फारम भरेर बुझाइसकेका छन्। यसरी फारम भरेर बुझाउनेमा १२–१३ वर्षअघिदेखि साउदीमा बस्दै आएका समेत छन्।

एनआरएन साउदीका अध्यक्ष धरम केसीका अनुसार नेपालीलाई स्वदेश फर्काउन सहयोग पुर्या उन साउदीको १० वटा शहरमा रहेका एनआरएनका सदस्यलाई खटाइएको छ। उनका अनुसार दम्मामको पूर्वी क्षेत्रमा नारायण पासवान, अबकिक अलहासामा सन्दिप वली, खोबरमा डमर यादव, दमाममा बिल्टु मुखिया, कतिफ तारुतमा नारायण वाग्ले, जुबैलमा चन्द्रप्रकाश भण्डारी, रहिममा विष्णुप्रसाद चापागाईं र मध्यक्षेत्र रियादमा रमेश भण्डारी छन्। त्यसैगरी, नेपाल–साउदी हेल्पिङ ह्यान्ड्स समूहमा आबद्धहरुले भने राजदूतावासबाट उपलब्ध निवेदन फारम सहज ढंगले पुर्यासउन र फारम भरेर सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकलाई व्यापक उपयोग गर्दै साउदी सरकारले उपलब्ध गराएकै समयमा नेपालीहरुलाई स्वदेश फर्काउने अभियानमा सघाइरहेका छन्।  उनीहरुले जातीय, क्षेत्रीय, लिंगीय, भाषिक, धार्मिक र रंगभेदजस्ता विभेद नगरी नेपाली हौं भन्ने भावनाले सहयोग गर्न आह्वानसमेत गरेका छन्।

साउदी अरबमा १३ वटा क्षेत्रीय प्रदेश छन् जहाँँ हजारौँ संख्यामा ठूलाठूला उद्योगधन्दा र कलकारखाना छन्। नेपालीहरु यहाँको औद्योगिक क्षेत्रमा मात्र नभई अन्य आवासीय शहरमा समेत कार्यरत छन्। अवैध रुपमा रहेका नेपालीलाई स्वदेश फर्काउन साउदी सरकारले छानबिनपछि अनुमति प्रदान गरेपछि मात्रै सम्भव हुने भएकाले साउदी सरकारले तोकेको अवधि जुलाई ३ सम्ममा यहाँ रहेका अवैध भनिएका सबै नेपालीलाई वैधताको प्रक्रियामा ल्याउन र स्वदेश फर्काउन अहिलेकै जनशक्ति र क्षमताले सम्भव हुने देखिँदैन।

साउदीमा गैरकानुनी रुपमा रहेका नेपालीको यकिन तथ्यांक नभए पनि नेपाली दूतावासबाट २०६९ असोजमा प्रकाशित 'साउदी अरबमा रहेका नेपाली कामदारका समस्या र समाधानका उपाय' नामक पुस्तकमा त्यतिबेलासम्म ४ लाख ६० हजार २ सय ६१ कामदार साउदी भित्रिएको उल्लेख छ। अनौपचारिक माध्यमबाट ७० हजार महिला र गैरकानुनी रुपमा रहेका पुरुषको संख्या ८० हजारसहित ६ लाख बढी नेपाली कामदार यहाँ रहेको दाबी पुस्तकमा छ। तर, राजदूत उदयराज पाण्डेकै पछिल्लो आँकडा भने अवैध रुपमा कार्यरत नेपाली पुरुष ७० हजार र महिला ५० हजार रहेको छ।

साउदीमा अवैध रुपमा अन्य मुलुकका नागरिक पनि छन्। भारतीयको संख्या उल्लेखनीय छ। यहाँस्थित भारतीय दूतावासका अनुसार २ लाख बढी भारतीय अवैध कार्यरत छन्। दूतावासले आफ्ना नागरिकको उद्धार गर्न अप्रिल पहिलो साताबाट सूचीकृत गर्नुका साथै यहाँस्थित भारतीय संस्था र संगठनलाई परिचालन गरेको थियो। पछिल्लोपटक भारतीय दूतावासले ४ सयजना भन्दाबढी स्वयंंसेवक दस्ता तयार पार्नुका साथै अझै स्वयंसेवी हुन इच्छुकलाई संलग्न हुन सूचना जारी गरेको छ। साउदी अरबमा फिलिपिनो कामदारको संख्या पनि अन्यको तुलनामा बढी छ। पछिल्लो तथ्यांकअनुसार यहाँ उनीहरुको संख्याले १५ लाख नाघेको र तीमध्ये ३० प्रतिशत अवैध रहेको साउदी सरकारको अनुमान छ। फिलोपिनो दूतावासले समेत करिब एक महिना अघिदेखि नै आफ्ना नागरिकलाई सूचीकृत गर्ने प्रक्रिया प्रारम्भ गरेको थियो।

साउदी सरकारले तोकेको अवधिमा वैधता प्राप्त नगर्ने र लुकेर बस्ने एवं लुकाएर राख्नेलाई दुई वर्ष जेलसजाय र १ लाख रियाल जरिवाना गर्ने भएको छ। साउदीमा अवैध र वैधसमेत गरेर विदेशी कामदारको संख्या ७० लाखमाथि रहेको अनुमान छ।

Published on: 18 May 2013 | Nagarik

Back to list

;