s

‘फर्केर आउँदा समृद्ध नेपाल देख्न पाइयोस्’

विश्वराज पछल्डङ्ग्या
 
मजदुरी गर्न भारत जाने नेपालीको चाहना 
 
बुधबार बिहान ११ बज्दै थियो । नेपाल–भारतको जमुनहा नाका भएर ओहोरदोहोर गर्नेको संख्या बाक्लिँदै गयो । मजदुरीका लागि भारत जानेहरू अटोरिक्सामा चढेर सीमाबजार रुपैडिहातर्फ जान हतार गर्दै थिए । हतारिनेको भिडमा काँधमा तीन वर्षका छोरा र कुममा झोला भिरेका ३२ वर्षीय युवक पनि जमुनहा नाकामा भेटिए ।
 
दैलेख भगवती गाउँपालिका–४, जगन्नाथ घर भएका दीपक थापा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भोट हालेर आफ्नो कर्मथलो भारतको चण्डीगढ फर्कंदै थिए । पत्नी कमला र भाउजू पनि उनकै साथमा भारत जान हतारिँदै थिए । निर्वाचनमा आफूले मन पराएको उम्मेदवारले जितेकोमा दीपक दंग त थिए, तर जितेको नेताले गाउँको विकास नगर्ने पो हुन् कि भन्ने चिन्ता पनि उनमा थियो ।
 
दीपक विगत १० वर्षदेखि भारतमै बस्छन् । नेपालमा काम गर्ने वातावरण नभएकाले भारतमै रोजगारी गरेर बस्ने गरेको उनले बताए । जमुनहा नाका काट्दै गर्दा उनले आफ्नो देशमा रोजगार नपाएकाले भारत जानुपरेको गुनासो गरे । ‘अब फर्केर घर आउँदा नेपालमै रोजगारी पाए हुन्थ्यो,’ उनले भने, ‘जितेका नेताले आफ्नै देशमा पसिना चुहाएर काम गर्ने वातावरण मिलाए काम खोज्दै भारत जानुपर्ने थिएन ।’
 
निर्वाचनमा मतदान गरेर अछाम तुर्माखाँद गाउँपालिका–४, का केशव विक पनि परिवारसहित बुधबार नै भारततर्फ लागे । नेपालमा काम नपाएकाले पहिलेदेखि नै भारतमा रोजगारी गर्दै आएको विकले बताए । निर्वाचनपछि अब मुलुकको विकास हुने आशा उनले गरेका छन् । ‘हामीले दिएको भोटले देश विकास हुन्छ भन्ने आशाले मतदानका लागि घर आएको थिएँ,’ उनले भने, ‘अर्काको देशमा गएर काम गर्ने मन छैन । के गर्नु, आफ्नो देशमा रोजगारी पाइँदैन । कामका लागि भारत जानु हाम्रो रहर होइन्, बाध्यता हो ।’ आफ्नै देशमा रोजगारी पाए तुरुन्तै स्वदेश फर्किने पनि उनले बताए ।
 
जनताको भावना बुझेर काम गर्न नेताहरूलाई आग्रह
 
साथीहरूसँगै रोजगारीका लागि भारत जाँदै गरेका जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, मजकोटका रामबहादुर शाहीले नवनिर्वाचित सांसदहरूलाई जनमतको अपमान नहुने गरी काम गर्न आग्रह गरे । देशको विकास, स्थायित्व र शान्तिका लागि आफू निर्वाचनमा सहभागी हुन केही दिनको छुट्टी लिएर नेपाल आएकोे उनले बताए । ‘स्थायी सरकार, दिगो विकास, शान्ति र समृद्ध नेपाल देख्ने सपना छ । त्यही सपना साकार हुन्छ भन्ने आसले घरमा गएर मतदान गरेंँ,’ उनले भने, ‘ यसपटकचाहिँ हाम्रो भावनमा नेताहरूले ठेस पुर्‍याउँदैनन् भन्ने आशा छ ।’
 
निर्वाचनपछि भारत जानेको संख्यामा भारी वृद्धि
 
निर्वाचन सकिएपछि कामको खोजीमा भारत जानेको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ । निर्वाचनपछि दैनिक पाँच सयदेखि सात सय नेपाली जमुनहा नाका हुँदै कामका लागि भारत पलायन हुने गरेका प्रहरी नायब निरीक्षक (सइ) सुधीर खड्काले बताए । विगत दुई दिनयता भारत जानेको संख्या उल्लेख्य मात्रामा बढेको उनको भनाइ छ।
 
जमुनहा नाका हुँदै एकै गाउँका १५–२० जना युवाको टोली हुल बाँधेर भारत जाने गरेका छन् । भारत जानेमा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, सल्यान, रुकुम, रोल्पाका धेरै छन् । ‘भारत जानेको संख्या देख्दा गाउँ नै सुनसान भयो होलाजस्तो लाग्छ,’ जमुनहा नाकामा ड्युटी गर्दै गरेका सइ खड्काले भने ।
 
Published on: 21 December 2017 | Naya Patrika

Back to list

;