s

फर्कने मजदुर १२ सय ९५ पुगे

भारतको उत्तराखण्डमा आएको बाढीबाट विस्थापित भएर फर्केका नेपालीको संख्या बिहीबारसम्म १२ सय ९५ पुगेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत वसन्तकुमार कनोजियाका अनुसार नेपालगन्ज नाका हुँदै बिहीबार १० जना स्वदेश फर्केका छन्।

प्रशासन कार्यालयले अहिलेसम्म ६१ जनालाई बाटोखर्चस्वरुप ७९ हजार ८ सय रूपैयाँ सहयोग गरेको छ। अधिकांश व्यक्ति मध्यपश्चिमको रुकुम, सल्यान, रोल्पा, कालिकोट, जाजरकोट, प्युठान, मुगु, दैलेख लगायत जिल्लाका छन्। प्रशासन कार्यालयले कालिकोट, मुगु र रुकुम घर भएकालाई प्रतिव्यक्ति १५ सय र अन्य सुगम मानिने जिल्लाका मजदुरलाई १२ सय रूपैयाँ दिएको प्रशासकीय अधिकृत कनोजियाले बताए।

फर्केका मजदुरको अवस्था देखेर बाँकेका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले गृहमन्त्रालयसँग समन्वय गरी घरसम्म पुग्न बाटो खर्चको व्यवस्था मिलाएका हुन्। बाढीका कारण साथमा भएको रूपैयाँ पैसा र सरसामान गुमाएर बेखर्ची भएका मजदुरलाई मात्र प्रशासनले बाटो खर्च दिएको हो। ‘कोही त बाढीमा परि घाइते भएका पनि भेटिए, उनीहरुसँग न साथमा रूपैयाँ पैसा छ न त जिन्सी,’ प्रशासकीय अधिकृत कनोजियाले नागरिकसँग भने। धेरै दिन जंगलमा खुला आकाशमुनिको बसाइले केही मजदुर बिरामी भएका छन्। उनीहरुमा रुघाखोकी र ज्वरोको संक्रमण देखिएको छ।

खाना खान नपाउँदा भोकभोकै फर्कन बाध्य भएको मजदुरको भनाइ छ। मजदुरी गर्न उत्तराखण्डमा सँगै गएका कतिपय एक्लै फर्कंदा निराश छन्। कनोजिया भन्छन्, ‘केही मजदुर त वास्तवमै पीडित नै भएको पाइयो, कसैले परिवार त कसैले आफन्त गुमाएका छन्।’ स्वदेश फर्कने मजदुरको तथ्यांक जमुनाहा प्रहरी र सशस्त्र प्रहरीले लिइरहेका छन्।

बाढीले ठूलो जनधनको क्षति पुर्यारएपछि अलपत्र परेका उनीहरुलाई भारतीय प्रशासनले रुपैडिहासम्म पुर्यायउने व्यवस्था गरेको हो। नेपालीको पकट क्षेत्र मानिने उत्तराखण्डको केदारनाथ, गंगोत्री, यमनोत्री र बद्रीनाथमा तीर्थयात्री बोक्न पुगेका कैयौं नेपाली मजदुरले ज्यान गुमाएको र थुप्रै अंगभंग र विस्थापित भएको बताइएको छ। उक्त क्षेत्रमा तर्स्थयात्री ओसार्न ठूलो संख्यामा बर्सेनि नेपाली मजदुर पुग्छन्। बाढीबाट विस्थापित नेपाली असार ८ गतेबाट फर्कन थालेका हुन्।

Published on: 28 June 2013 : Nagarik

Back to list

;