s

फकाउँदै लैजाँदै

धादिङका राजमार्गमा अचेल प्रहरीले सवारी साधन रोक्छन् । पसेर व्यक्ति–व्यक्ति नियाल्छन् । बाबु–आमाबाहेक अरूसँग बालबालिका वा किशोर/किशोरी भएको पाए सोधीखोजी गर्छन् । अझ शंका लागे झारेर छानबिन गर्छन् ।
 
कारण हो– अवैध रूपमा मानव ओसारपसार बढ्नु । त्यस्तो धन्दाको मुख्य मारमा पर्ने गरेका छन् बालबालिका र युवतीहरू । संरक्षण दिने, पढाइ दिने, जागिरमा लाइदिनेजस्ता प्रलोभन दिएर उनीहरूलाई आपराधिक गिरोहले लैजाने गरेका छन् ।
 
महाभूकम्पपछि कामको प्रलोभनमा पारी मुम्बईको वेश्यालयमा पुर्याकएर बेचिएका तीन किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरी ल्याइएको छ । ‘थाहा नपाएका घटना धेरै हुन सक्छन्,’ सरोकारवाला अधिकारीहरू भन्छन् । देशभित्रै ओसारपसारका घटना त हजारौं छन् ।
 
अपराध अनुसन्धानकर्ताहरू र सरोकारवाला अधिकारीहरूका अनुसार यस्तो संकटको अवस्था प्रयोग गरी हुने ओसारपसारका मुख्य कारण बालमजदुर बनाउन, भारतमा लगी मृगौला बेच्न, पैसा लिई धर्मपुत्र/पुत्रीका रूपमा सुम्पन, संरक्षण गरेको देखाएर दाता खोज्न, यौन कार्यमा प्रयोग गर्न, धार्मिक गतिविधिमा लगाउनजस्ता छन् । ‘नि:स्वार्थ भावनाले संरक्षण दिने अति कम छन्,’ उनीहरू भन्छन्, ‘त्यस्ताले सरकारी रित पुर्याछएर ल्याउने/लाने गर्छन् ।’
 
धादिङका डीएसपी प्रकाश मल्लका अनुसार प्रहरीले भूकम्पयता ४ घटनामा ६६ बालबालिका तथा महिलाको उद्धार गरेको छ । ती घटनामा संलग्न एक प्रहरी जवानसहित केही व्यक्तिलाई हिरासतमा लिएर मुद्दा चलाइएको छ ।
 
धादिङ भारत र देशका अन्य भागतिर छिराउने मुख्य गौंडो बनेको छ भने राजधानी अन्यत्रबाट ल्याउने अखडा । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीका अनुसार राजधानीका ६ सयभन्दा बढी बालगृहमा २० हजारभन्दा बढी बालबालिका राखिएका छन् । बालगृहले बाबुआमा नभएका बालबालिकालाई मात्र संरक्षण दिन पाउँछन् । ‘महाभूकम्पपछि बाबुआमा भएका बालबालिकालाई गाविसको फर्जी सिफारिसका भरमा टुहुरा भन्दै ल्याएका राखिएका घटना प्रशस्त भेटिएका छन्,’ उनले भने, ‘संरक्षण दिइएका आधाभन्दा बढी बालबालिका त्यस्ता छन् भन्ने आकलन छ ।’
 
त्यस्तै काठमाडौंका गुम्बामा कम्तीमा १५ हजार र बाहिरका गुम्बामा १० हजारभन्दा बढी बालबालिकालाई राखिएको पाइएको छ । ‘ती कहाँबाट, के आधारमा ल्याइए, तिनका अभिभावक को हुन्, वास्तविक पहिचान के हो भनेर सोध्दा दिन मान्दैनन्,’ उनले सुनाए, ‘जानकारी नदिए कडा कारबाही गर्छौं भनेर हामीले चेतावनी दिएका छौं ।’ उनका अनुसार चर्च, मदरसा र मस्जिदमा पनि त्यसरी नै ठूलो मात्रामा बालबालिका राखिएका छन् । ‘संविधानमा धार्मिक स्वतन्त्रता छ,’ उनले भने, ‘तर १६ वर्षमुनिका बालबालिकालाई धार्मिक कार्यमा लगाउन निषेध गरेको छ ।’
 
गृह मन्त्रालयले असार २ गते सबै प्रजिअलाई परिपत्र गर्दै बढिरहेको मानव ओसारपसार नियन्त्रण गर्न कडा निर्देशन दिएको थियो । गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले महाभूकम्पलगत्तै ओसारपसारका घटना बढे पनि कारबाही प्रक्रिया र निगरानी तीव्र पारेपछि नदेखिएको बताए ।
 
सरकारको प्रारम्भिक अध्ययनअनुसार भूकम्पका कारण बाबु वा आमा गुमाउने बालबालिकाको संख्या ४ सय ८० को हाराहारी छ । बाबु–आमा दुवै गुमाउने करिब सय जना छन् । तर, समितिको अनुसन्धानले त्यसको सयौं गुणा बढी बालबालिका ‘अनाथ’ भन्दै बालगृह र अन्य संस्थाले राखेका छन् । ‘ती कहाँबाट ल्याइए, पछि कहाँ पुर्याथइन्छन्,’ गिरीले भने, ‘कुनै रेकर्ड छैन । विस्तारै अवस्था सेलाउँछ । बालबालिका पनि हराउँछन् ।’
 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले थानकोटमा गोरखाबाट ल्याइएका १ सय ४० जना र पतञ्जली योगपीठमा ५० जना बालबालिका प्रक्रिया पूरा नगरी राखिएको पाइएको बताए ।
 
‘बालगृहहरूको अवस्थाचाहिँ केन्द्रीय बालकल्याण समितिले अनुगमन गर्दै होला,’ उनले भने, ‘गैरकानुनी रूपमा राखिएको पाइए कारबाही गरिनेछ ।’ उता धादिङका प्रजिअ वासुदेव घिमिरेले जिल्लामा महिला तथा बालबालिका ओसारपसारका घटना बढिरहेको र प्रहरी परिचालन गरी नियन्त्रण प्रयास भइरहेको जानकारी दिए ।
 
कडा निगरानी
 
धादिङका बैरेनी, बेनीघाट र मलेखुमा प्रहरी परिचालन गरिएको छ । ती प्रहरीले हरेक बस र अन्य सवारी साधनको खानतलासी गर्छन् । बेनिघाट गोरखा र पश्चिम उत्तर धादिङका ४० गाविसका बासिन्दाले प्रयोग गर्ने एक मात्र नाका हो । नुवाकोट रसुवाबाट राजमार्ग प्रवेशविन्दु बैरेनी हो भने मलेखु राजधानीलाई पूर्व–पश्चिम जोड्ने सडकको एउटा खण्ड । महिला सेलका प्रहरीहरूले बालबालिका, किशोरी वा युवती लैजाने व्यक्तिहरूसँग नातागोता, लैजाने स्थानबाारे केरकार गर्छन् ।
 
वैशाख २४ गते राजधानी लैजाँदै गरेका ४६ बालबालिकालाई नागढुंगाबाट उद्धार गरिएको थियो । उत्तरी धादिङका री र झार्लांगका ६ किशोरीसहितका उनीहरूलाई राम्रो विद्यालयमा पढाइदिने बहानामा ललाइफकाई राजधानी लगिँदै थियो । त्यसमा संलग्न एक प्रहरीसहित ७ जनालाई अवैध रूपमा मानव ओसारपसार गरेको अभियोगमा मुद्दा अघि बढाएको छ । उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।
 
धादिङसँग जोडिएको गोरखाको आरखेतबाट थानकोटलगायत विभिन्न गुम्बामा पठनपाठन गराउन भन्दै लैजाँदै गरेका १५ बाल भिक्षुहरूलाई पनि प्रहरीले उद्धार गरेको छ । फुर्केखखोला पुलबाट दुई पटकमा ५ जनालाई उद्धार गरिएको छ । डीएसपी मल्लले महिला बेचबिखन अभियोगमा नीलकण्ठ–१२ की लक्ष्मी परियार, नीलकण्ठ–४ की ठूलोकान्छी गुरुङलाई कारागार चलान गरिएको बताए । झार्लाङ–३ का प्रकाश तामाङ, री गाविसका जंगबहादुर तामाङसहित ७ जनाविरुद्ध मुद्दा प्रक्रिया सुरु गरिएको छ । धादिङमा गत आर्थिक वर्षभरिमा जम्मा एउटा बेचबिखन मुद्दा परेको थियो ।
 
दोलखामा सतर्कता
 
महाभूकम्पपछि विभिन्न बहानामा बालबालिका ओसार्ने गिरोह सक्रिय भएपछि दोलखाका नाकाहरूमा प्रहरीसहित जिल्ला प्रशासनका कर्मचारी खटाइएको छ । तराईतर्फ जाने किर्नेटार र राजधानीतर्फको खरिढुंगा नाकामा निगरानी सुरु गरिएको साता दिनमै ४ घटना फेला परेका छन् । जिल्ला बालकल्याण समितिका अनुसार महाभूकम्पयता बालबालिकाको शोषण र ओसारपसार ३० देखि ४० प्रतिशतले वृद्धि भएको छ ।
 
समितिले भारतमा पढाइदिने भन्दै लगिएका १९ बालबालिकालाई काठमाडौंबाट फिर्ता ल्याएको छ । भारतको देहरादुनस्थित एक संस्थाले पूर्ण छात्रवृत्तिमा पढाउन भन्दै लापिलाङका १६ वर्षमुनिका बालबालिका लान लागेको थियो । प्रहरीले ११ जनालाई कोटेश्वर र ८ बालिकालाई ललितपुरबाट उद्धार गरेको थियो । घटनामा संलग्न एक नेपाली र एक भारतीय थुनामा छन् ।
 
बालअधिकार अधिकृत गणेश लामाले महाभूकम्पपछि बालबालिकाको गलत प्रयोग रोक्न तत्काललाई बिनास्वीकृति जिल्लाबाहिर लैजान रोकेको बताए । यहाँकी एक महिलालाई बेचबिखनका लागि भारततर्फ लैजाँदै गर्दा मकवानपुरबाट उद्धार गरिएको छ । समितिका अनुसार आमाले कुटेर घर छाडेको भन्दै राजधानी छिर्न खोजेका २ बालकलाई फर्काएर परिवारको जिम्मा लगाइएको छ । टुहुरा, घाइते, अभाव र त्रासले बालबालिकाहरू घर छाड्ने क्रम बढेकोसमेत पाइएको छ ।
 
यौन हिंसा उस्तै
 
वैशाख २१ गते सिन्धुपाल्चोक जान कोटेश्वरमा गाडी कुरिराखेकी साँगाचोककी १७ वर्षीया बालिका दुई युवाले घर पुर्यााइदिने भनेपछि उनीहरूकै गाडी (टाटा मोबाइल) मा चढेर आइन् । बनेपा आएपछि अर्कै बाटो लान खोजेपछि प्रतिवाद गर्दा खाजा खाएर जाने भनेर उनी पनौती पुर्यााइन् । खाजा खान आग्रह गर्दा हतार छ भन्दै उम्कन खोजेकी उनलाई खाजा खाएलगत्तै त्रास र प्रलोभन देखाएर स्थानीय गोरखनाथको वनमा लगेर ४ जनाले सामूहिक बलात्कार गरे ।
 
वैशाख १५ गते पनौती–१ मा अपांगता भएकी १३ वर्षीया एक बालिकामाथि रातको समयमा एकान्तको फाइदा उठाउँदै जबर्जस्ती करणीको प्रयास भयो । भूकम्पपछि त्रिपालमा बस्दै आएकी उनलाई सोही स्थानका २८ वर्षीय युवकले बलात्कार प्रयास गरेका थिए । काभ्रेस्थित महिला तथा बालबालिका कार्यालयको तथ्यांकअनुसार वैशाख १२ यता यौनजन्य हिंसाका पाँच घटना भएका छन् । ‘यस्तो परिस्थितिमा बालबालिका अझ उच्च जोखिममा हुन्छन्,’ जिल्ला बाल अधिकार अधिकृत जयराम कर्माचार्यले भने, ‘प्रहरी, प्रशासन लगायतले उच्च सतर्कता अपनाउन आवश्यक छ ।’
 
असार १ गते काभ्रेमा पतञ्जली योगपीठ बनेपाले ‘संरक्षण’ गरेका भनिएका २२ विद्यार्थी सम्बन्धित अभिभावकको जिम्मा लगाइएको थियो । जिल्लाका डीएसपी राजकुमार केसीले बालबालिकाबारे उच्च सतर्कता अपनाइएको बताए । ‘विपत्तिको फाइदा उठाउँदै धेरैले अपराध गर्न खोज्छन्,’ उनले भने, ‘त्यसविरुद्ध सतर्कता अपनाइएको छ ।’ जोखिम पहिचान गरेर जिल्लाका नाकाहरू साँगा, भकुन्डेलगायत स्थानमा सूचना केन्द्र राख्ने तयारी भएको उनले जानकारी दिए ।
 
Published on: 27 June 2015 | Kantipur
 

Back to list

;