s

फेसबुक र फोनबाट फसाउँदै दलाल

विश्वराज पछल्डङ्ग्या

मानव बेचबिखनको ढोका बन्दै नेपालगन्ज

रोजगारीका लागि भारत हुँदै कुबेत जान लागेकी सिन्धुपाल्चोककी विजया तामाङ (नाम परिवर्तन)लाई बाँके प्रहरीले नेपालगन्ज नाकाबाट भारत छिर्न दिएन । उनीसँगै कुबेत र दुबई जान हिँडेका अन्य पाँचजना महिलालाई पनि प्रहरीले नेपालगन्ज नाकामै रोक्यो।काठमाडौंबाट नेपालगन्ज हुँदै भारततर्फ जान लागेका उनीसँगै रहेका बेचबिखनमा पर्न सक्ने आशंकामा इलाका प्रहरी कार्यालय जमुनहा र माइती नेपालको टोलीले रोकेर माइती नेपालको जिम्मा लगाएको छ ।
 
भारत हुँदै खाडी मुलुक जाने कार्य कानुनसंगत नभएकाले नाकाबाट अगाडि जान नदिएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी नायब निरीक्षक सुधीर खड्काले बताए । ‘दलालका लागि नेपालगन्ज नाका आवतजावत गर्न सहज भएको हालसम्मको तथ्यांकले देखाउँछ,’ उनले भने । उद्धार गरिएका महिला बारा, सिन्धुपाल्चोक, सर्लाही र धादिङका हुन् ।
 
उनले ग्रामीण भेगका सोझा महिलालाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर दलालले भारत र खाडी मुलुकका विभिन्न स्थानमा पुर्‍याउने गरेको बताए । भारत हुँदै खाडी मुलुक गएका नेपाली महिला यौन तथा श्रम शोषणमा परेका छन्,’ खड्काले भने, ‘भारत हुँदै तेस्रो मुलुक जानेहरूको यात्रा जोखिमपूर्ण छ नै कानुनसंगत पनि छैन ।’
 
तेस्रो मुलुक लैजाने भन्दै भारत लैजाँदै गरेका हेलम्बु गाउँपालिका–१, सिन्धुपाल्चोकका सुर्जे तामाङलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रवक्ता नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।
 
दश दिनमै २९ को उद्धार 
 
नेपालगन्ज नाका मानव बेचबिखनका लागि सहज बन्दै गएको छ । सन् २०१८ को १० दिनमा खाडी मुलुक जान लागेका ११ महिलाको उद्धार गरेको बाँके प्रहरीले जनाएको छ । उद्धार भएका महिला उदयपुर, बारा, सिन्धुपाल्चोक, पाल्पा, सर्लाही, धादिङ, गोर्खाका रहेको प्रहरीले जनाएको छ । रोजगारीका प्रलोभनमा परेर खाडी मुलुक जान हिँडेका उनीहरू २०–३६ वर्षका भएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज खड्काले बताए ।
 
जनवरी महिनाको १० दिनमा जोखिमपूर्ण यात्रामा रहेका २९ महिलाको उद्धार गरी आवधिक गृहमा राखिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए । उद्धार गरिएकामध्ये ११ जना खाडी मुलुक जान लागेका थिए । उनले यस अवधिमा खोजतलासका १८ वटा निवेदन परेको र दुई मुद्दा दर्ता भएको जानकारी दिए । ‘उद्धार हुनेको संख्या हेर्दा वैदेशिक रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक लैजान दलालले नेपालगन्ज नाका सहज मान्ने गरेको देखिन्छ,’ उनले भने ।
 
एक वर्षमा ६७ महिलाको उद्धार
 
सन् २०१७ मा भारत र खाडी मुलुकबाट ६७ महिलाको उद्धार भएको माइती नेपाल नेपालगन्जले जनाएको छ । मानव बेचबिखनमा परेका ६७ महिलाको एक वर्षको अवधिमा उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले बताए । आफन्तले खोजतलासका लागि निवेदन दिएपछि भारत र खाडी मुलुकबाट उद्धार गरिएको हो । ‘भारत हुँदै खाडी मुलुक पुगेका महिला यौन र श्रम शोषणमा परेको निवेदन परेको थियो,’ उनले भने ।
 
सन् २०१६ मा श्रम तथा यौन शोषणमा परेका २६ जनाको उद्धार भएको थियो । खोजतलासका निवेदन र फेला पर्नेको संख्या पनि गत वर्षको तुलनामा बढेको माइती नेपालले जनाएको छ । सन् २०१६ मा सात सय ३१ वटा खोजतलासको निवेदन परेकोमा एक सय १३ जना फेला परेका थिए । सन् २०१७ मा खोजतलासका आठ सय ३४ वटा निवेदन परेको र एक सय ५४ जना फेला परेको संयोजक कोइरालाले बताए । उनले जोखिमपूर्ण यात्रामा रहेका एक हजार ७१ जनालाई सीमानाका जमुनहाबाट उद्धार गरिएको बताए ।
 
सामाजिक सञ्जालबाट फसाउँदै दलाल
 
सामाजिक सञ्जालको बढ्दो प्रयोग र मोबाइल फोनबाट सम्पर्क गरेर दलालहरूले महिलालाई फसाउने गरेको सर्वेक्षणले देखाएको छ । उद्धार गरिएका र नाकाबाट घर फिर्ता गरिएकाहरूको भनाइका आधारमा धेरैजसो महिला फेसबुक र मोबाइल फोनबाट दलालको सम्पर्कमा आएको बताएको माइती नेपालका संयोजक कोइरालाले बताए ।
 
उनले उद्धार र नाकाबाट फिर्ता पठाइएकामध्ये एक सय १८ जनाले फेसबुकबाट सम्पर्क भएको बताएको र दुई सय १८ ले मोबाइल फोनबाट सम्पर्क भएको बयान दिएको बताए । ‘दलालले अन्दाजका भरमा मोबाइलमा फोन गर्ने र महिला भए नितरन्तर फोन गरेर सम्पर्क बढाउने गरेको पाइयो,’ कोइरालाले भने ।
 
Published on: 11 January 2018 | Naya Patrika

Back to list

;