s

फेसबुक र मोबाइल प्रयोग गरेर मानव तस्करी

तोयानाथ भराई
 
चर्चित सामाजिक सञ्‍जाल फेसबुक र मोबाइल फोन प्रयोग गरी मानव वेचविखन बढेको  नेपाल र भारतका शुरक्षा अधिकारीले बताएका छन्। 
 
फेसबुक र मोवाइलबाट देश बाहिरका व्यक्तिहरुले पनि सजिलै सम्पर्क गर्न सक्ने र त्यस्तो सम्पर्कका क्रममा जुनसुकै बहाना बनाएर आकर्षण गर्न सक्ने भएकाले फेसबुक र मोवाइलबाट बेचविखन गर्ने बढेको पाइएको हो।
 
मंगलबार पशुपतिनगर फाटकमा आयोजित क्रस बोर्डर वर्कसप टु कव्याट ह्युमन ट्राफिकिङ विषयक कार्यक्रममा माईती नेपालका काँकडभिट्टास्थित क्षेत्रीय कार्यालयका प्रमुख गोविन्द घिमिरेले बताए। 
 
उनका अनुसार मध्यप्रदेशको मान्छेले इटहरीकी १५ वर्षीया बालिकासँग फेसबुकमा सम्पर्क गरेपछि काकरभिट्टा लिन आइपुगेको पछि शंका लागेपछि नियन्त्रणमा लिंदा पत्ता लागेको थियो। त्यस्तै मोबाइलका कुरा गर्ने क्रममा पनि त्यस्तै घटना घटेको माइती नेपालमा आएकोउनले बताए। 
 
यो सँगसँगै विभिन्न प्रकारका खानेकुरा खुवाएर पनि त्यस माध्यमबाट चेलिबेटीलाई लोभ्याउने गरेको पाइएको कार्यक्रममा जानकारी दिइयो। इलाम जिल्लाकै केही स्थानमा त्यस्तो घटना घटेको पनि माईती नेपालका इलाम संयोजक होम ढकालले बताए। 
 
बाहिरी मान्छे आएर कोकाकोला, चुइगम, जेरी र सुपारी खान दिएपछि त्यसको पाँच मिनेटमै त्यो खाएको महिला त्यही खुवाउने मानिससँग आकर्षित हुने गरेका उनले बताए।  इलामको गोर्खेस्थित एक घरमा आएका एक व्यक्तिले त्यहाँकी एक बालिकालाई सुपारी खान दिएको र त्यसपछि ती बालिकाले त्यो मानिस नै आफ्नो भएकाले उसँगै जान हत्ते गरेको र केही गरी छुटाउन नसकी पछि गएर बेचिन पुगेको उदहारण कार्यक्रममा सुनाएको थियो। 
 
यो बाहेक नृत्य सिकाउने भन्दै बालिकाहरु बटुलेर परिवारलाई केही रकम दिएर पनि कुनै बहानामा कलकत्तासम्म पुर्‍याउने गरेकार र वृद्धाश्रममा बालिकाहरु राखेर भ्रमणका नाममा बाहिर लगि बेचविखन गरेको पनि कार्यक्रममा बताइयो। कार्यक्रममा दुवै देशका प्रतिनिधिले मानव बेचविखन सम्वन्धी आ-आफ्नो स्थानका अनुभव सुनाएका थिए। 
 
कार्यक्रममा माइती नेपालले प्रस्तुत गरेको विवरण अनुसार सन् २०१५ को अक्टोबर महिनामा बेचविखन केस नभएपनि १५ महिला हराएको ती मध्ये छ जना भेटिएको, १४ जना हिंसामा परेको, दुई जनालाई उद्धार गरिएको र चार वटा बलात्कारको घटना भएको र एक सय सात जनालाई सचेत गराइएको जानकारी दिइएको छ। नेपालमा प्रत्येक दिन ५ देखि ७ जना महिला बेचविखनको शिकार बन्ने गरेको माइती नेपाल इलामले जनाएको छ। 
 
कार्यक्रममा भारत तर्फका मानव बेचविखन तथा विरुद्धको अभियानमा सक्रिय वर्ड भिजन भारतका प्रतिनिधि रुपक गुरुङ, भारतीय प्रहरीका इन्सपेक्टर फाटक चेक पोष्टका कस्टम अफिसर बलकुमार क्षेत्री, मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय समाजसेवी फाटकका बुद्ध तामाङलगायतले सहकार्य र बेलाबेला अन्तरक्रिया गर्न सके नियन्त्रण गर्न सकिने बताएका थिए। 
 
Published on: 25 November 2015 | Annapurna Post
 

Back to list

;