s

एउटी बालिकामाथि यस्तो तानातान

सुन्दर खनाल

काठमाडौंका प्रजिअ चूडामणि शर्मा साउदी अरबमा बलात्कृत भएकी एक युवती (नाम गोप्य) ले अनिच्छित गर्भबाट जन्माएको एक बालिका माथिको संरक्षणसम्बन्धी विवादमा निर्णय गर्दा कठोर 'कानुनी' तर्क मात्र गर्छन् भन्छन्' । त्यसरी जन्मेको भए, त्यसको पनि प्रमाण त चाहियो नि ।'

शर्माले ती युवतीद्वारा संरक्षणका लागि जिम्मा लगाइएकी चिलियन महिलाबाट छुटाएर बालिकालाई बालमन्दिर पठाएको दुई महिना भइसकेको छ । त्यो थाहा पाएर युवती आफ्नो नयाँ घरजमलाई समेत जोखिममा राखी राजधानी आइन् । आफ्ना छोरी फिर्ता पाउ भन्दै उनले बालमन्दिरलाई निवेदन दिइन् । बालमन्दिरले हकदाबीको जानकारी शर्मालाई गरायो । तर उनी त्यसलाई मान्य ठान्दैनन् ।

शर्मा स्वाभाविक रूपमा विवाह भएर बच्चा जन्माएको अवस्थाको जस्तै कानुनी प्रमाण देखाएमात्र आमा हो भनेर ठहर गर्न सकिने जिकिर गर्छन् । उनी बलात्कार, अनिच्छित गर्भ, टार्न नसकिने अवस्था, बच्चाको जन्म, स्याहारसुसार, पालनपोषण र संरक्षणमा कसैले पुर्‍याएको योगदानको पनि प्रमाण खोज्छन् ।

'यदि उनको बच्चा हो भने छ वर्षसम्म के हेरेर बसेको ?' उनले भने । 'परिबन्दमा परेकी महिलाले तपाईंले भनेजस्तो साहस देखाउनसक्ने समाज हामीकहाँ छ  ?' यो प्रश्नमा उनी भन्छन्, 'यसरी सवाल जवाफ नगरौं, कानुनी प्रक्रियाअनुसार सबै कुरा हुन्छ ।' उनले ती युवतीले बच्चा जन्माएर अन्तर्राष्ट्रिय गिरोहको जिम्मा लगाएको आरोप पनि लगाए ।

यथार्थ यस्तो छ युवती सात वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब गइन् । कमाएर जीवन सुखी पार्ने उनको सपना त्यहाँ पुग्नेबित्तिकै तुषारापात भयो ।  घरमालिकले लगातार बलात्कार गरेपछि उनी अनिच्छित गर्भ लिएर नेपाल फर्किइन् । राजधानीका सडकमा त्यत्तिकै भौंतिरिरहेका बेला एक चिलियन महिलाले उनलाई भेटिन् ।  महिला उनलाई हरेक सहयोगका लागि तयार भइन् ।

 

चिकित्सकले बच्चा जन्माउनुको विकल्प नभएको बताए, अन्यथा गर्दा ज्यानकै खतरा हुन्थ्यो । बच्ची जन्मिइन्, चिलियन महिलाले सुत्केरी उतारिदिइन् । एक वर्ष सँगै बसेपछि युवतीले छोरी चिलियन महिलाकै जिम्मा लगाइन् र गाउँ फर्किन् । बाबु चिनाउन नसकिने, नेपाली समाजले नपचाउने अवस्थाबाट जन्मेकी बच्चा लिएर संघर्ष गर्ने उनको सामथ्र्य थिएन । उनी गाउँ गएर नयाँ घरजम गरिसकेकी छन् ।

छ वर्षकै भइसकेकी छन् ती सुन्दर बालिका । उनलाई गैरकानुनी र जोखिमपूर्ण रूपमा राखिएको छ भनेर स्माइल नेपाल नामक एक संस्थाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दियो । त्यो संस्थाका अध्यक्ष प्रधानमन्त्री कार्यालय मातहतको लगानी बोर्डका प्रमुख राधेश पन्त हुन् । उजुरीलगत्तै शर्माले बालिकालाई बालमन्दिर पठाए र हकदाबीका लागि ३५ दिने सूचना जारी गर्न लगाए । त्यो म्याद गुजि्रसकेको छ । शर्मा अर्को २१ दिने थप म्यादवाला सूचना जारी गर्ने तयारीमा छन् ।

कान्तिपुरको अनुसन्धानबाट के खुल्न आउँछ भने युवतीले बच्चा जन्मेको एक वर्ष भइसकेपछि अधिवक्ता गोविन्द बन्दीबाट कागजी तथा भिडियो रेकर्डसहितको अभियोजन गर्न लगाएर चिलियन महिलालाई संरक्षण प्रदान गरेकी थिइन् । त्यसपछि उनी गाउँ फर्किन् । मुलुकको विद्यमान बालबालिकासम्बन्धी कानुनले धर्मपुत्रसम्बन्धी स्पष्ट व्याख्या गरे पनि विदेशी नागरिकले नेपालमै रहेर स्वदेशी बालबालिकाको संरक्षण गर्नेबारे केही बोलेको छैन ।

चिलीमा जन्मेर बेलायतको नागरिकता लिएकी ती महिला बालिकालाई कोही योग्य व्यक्तिको धर्मपुत्री बनाइदिन कोसिस पनि आफूले गरेको बताउँछिन् । 'तर कोही तयार भएनन्, अहिले उजुरी गर्नेहरूले पनि त्यतिबेला मानेनन् । मेरो कतिपय अवस्थाले एडप्ट (धर्मसन्तान बनाउनु) गर्न सकिनँ । तर मैले उनलाई छोरी बनाएरै पालेकी छु,' उनले भनिन्, 'कसैले विधि पुर्‍याएर उनलाई एडप्ट गर्छ भने म खुसी छु । तर यहाँ कसैले मसँगको रिसका कारण अहिले उनलाई खोस्न लगाएको छ ।'

'एउटा विशेष अवस्थाका आमाबच्चालाई मैले सहयोग गरेको हुँ । मैले कुनै गैरकानुनी काम गरेको छैन । गरेको छ भने सरकारले छानबिन गरोस् । मैले हुर्काएको एउटा बच्चालाई त्यतिकै उठाएर लगियो । बच्चा जन्माउने आमा स्वयं अहिले आएकी छन् । उनको सुनुवाइ हुनुपर्छ होला,' उनले थपिन् । 

यो प्रकरणसँग जानकार व्यक्तिहरूका अनुसार चिलियन महिला र उनको कुनै समय राम्रो मित्रता भएकी अनु पन्त (स्माइल नेपालकी उपाध्यक्ष) बीच 'अहम् युद्ध' (इगो क्ल्यास) सुरु भएपछि बालिका सिकार बनेकी हुन् । चिलियन महिला र ती बालिकाको सम्बन्धको प्रशंसा गर्दै अनुका पति राधेशले डेढ वर्षअघि 'लेटर अफ रिकमन्डेसन' समेत लेखेका थिए ।

'कुरा मिलेन, त्यसपछि बालिका हात पारेर सेखी झार्ने खेल सुरु भएको हो,' प्रकरणसँग जानकार र आफूलाई बालिकाको हितप्रति चिन्तित भन्न चाहने महिला उद्यमी शोभा रायमाझी भन्छिन् । उनी राज्यद्वारा निर्देशित विधि पूरा गरेर आफूजस्ता धेरैजना बालिकाको संरक्षण गर्न तयार रहेको उल्लेख गर्छिन् । साथसाथै बालिका र उनकी आमालाई सहयोग पुर्‍याउने विदेशी महिलामाथि पनि न्यायोचित व्यवहार हुनुपर्ने, आमाको निवेदनमाथि पनि न्याय हुनुपर्ने रायमाझीको भनाइ छ । स्माइल नेपालका अध्यक्ष पन्तले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिन चाहेनन् । श्रीमती पन्त पनि सम्पर्कमा आउन चाहिनन् ।

बालिकाको स्याहारसम्भारमा कुनै समस्या नभएको पाइएको स्वयं प्रजिअ शर्मा स्वीकार्छन् । 'हामीले उजुरीपछि अनुगमन गर्न जाँदा बालिकाको अवस्था राम्रो थियो, तर चिलियन महिलाले धर्मपुत्री बनाउने प्रक्रिया पूरा गर्न सकिनन्,' उनले भने । उनको यो भनाइ चिलियन महिला पनि स्वीकार्छिन् ।

बालमन्दिरका अधिकारीहरूको दाबीअनुसार शर्मा बालिका जसरी पनि पन्त जोडीलाई दिलाउन चाहन्छन् ।

बालिकाकी आमाले छोरीलाई जबर्जस्ती बेवारिसे, टुहुरो बनाउन खोजिएको थाहा पाएर ठूलो सामाजिक जोखिमका बाबजुत पनि राजधानी आएको बताइन् । 'चिलियन महिलाले मर्न लागिसकेकी मलाई बचाउनुभयो, छोरी स्याहार्नुभयो, पछि उहाँलाई

जिम्मा लगाउनुको विकल्प थिएन । म उहाँको बोझ भएर सधैं बस्न सक्दिनथें, म हिंड्नपथ्र्यो,' उनले भनिन् । बागबजारस्थित मितेरी अस्पतालमा उनले अक्टोबर ६, २००६ मा ती बालिकालाई जन्म दिएको 'वर्थ सर्टिफिकेट'बाट प्रस्ट हुन्छ ।

ती युवतीकी दिदी पनि बालिका जिम्मा लिन तयार छिन् । उनले त्यसका लागि जिप्रकामा निवेदन पेस गरेकी थिइन् । शर्मा भन्छन्, 'कोही ठूलीआमा भनेर पनि आए, त्यसको प्रमाण के ?' बालमन्दिरको सञ्चालक समितिका एक सदस्य यो प्रकरणलाई कुनै व्यक्तिविशेषको इच्छापूर्तिका लागि गरिएको सरकारी ओहोदाको प्रभावको दुरुपयोग भन्छन् । 'एकदमै ठूलो खेल भयो,' उनले भने, 'बालिकाको साँच्चै माया गर्ने भए यत्रो खेल किन ?'

Published on: 29 March 2013 | Kantipur

Back to list

;