s

एउटै गाउँबाट ७ सय युवा कतारमा

वीरेन्द्र केसी

वैदेशिक रोजगारका बिदेसिनेको संख्या एउटा गाउँमा कति होला ? यहाँको बाँगी गाविसबाट कामका लागि बिदेसिनेको संख्या ७ सय छ । त्यसमा पनि एकाधबाहेक सबैजसो कतारमा गएका छन् । घरैपिच्छेका युवा विदेशमा छन् ।

कुनै घरका त तीन/चार जनासम्म पुरुष वैदेशिक रोजगारीमा छन् । परिणामतः गाउँमा मासिक १ करोड रेमिट्यान्स भित्रिने अनुमान छ । र, यही रेमिट्यान्सले गाउँको मुहार पनि फेरिदिएको छ । सबैका घर जस्तापाता र ढलान भएका छन् । गरिब परिवार र सबै गाउँलेको जीवनशैली परिवर्तन भएको छ ।

प्रायका छोराछोरी १२ किमि टाढाको सदरमुकामका निजी स्कुल पढ्छन् । अधिकांशले सहरी क्षेत्रमा घरघडेरी किनेका छन् । १० वर्षअघि सुरुमा प्युडाँडाका माधव भुसाल वैदेशिक रोजगारका लागि बिदेसिएका थिए । त्यसपछि जानेले आफन्त, छिमेकी र गाउँलेलाई तानेपछि संख्या यति धेरै पुगेको हो । कतारमा काम र सीप हेरेर मासिक १० देखि ५० हजार रुपैयाँसम्म कमाइ हुने गाउँ फर्किएका कुझेरीका मणिराम थापाले बताए । 'सबै गाउँका साथीभाइ र छिमेकी भएपछि रमाइलो महसुस हुने गर्छ,' उनले भने, 'सात सयभन्दा बढीको संख्यामा बाँगीकै युवा छन् ।'

एउटै गाउँका भएपछि उनीहरूले बाँगी कतार सम्पर्क समाज गठन गरेका छन् । जिल्लामै यति धेरै एउटै देशमा बाँगीबाट गएका छन् । कतारबाहेक अरू देशमा पनि छिटफुट रूपमा रोजगारीका लागि गएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरू पनि परिवारका एक/दुई जना सदस्य कतारमा गएपछि सदरमुकाम सन्धिखर्क, बुटवल, काठमाडौलगायत सहरमा घरघडेरी किन्न सफल भएका छन् । 'रेमिट्यान्सले गाउँ फेरिएको छ,' थापाले भने, 'छोराछोरीलाई राम्रो बोर्डिङमा पढाएका छन्, अब कसैको घरमा पनि खरको छानो छैन ।'

प्रायः घर ढलान गरिएका वा सिमेन्ट लगाएर चिटिक्क परेका छन् । मासिक आर्थिक संकलन गरेर उनीहरूले गाउँमा मोटरबाटो, खानेपानी, बिजुली, स्कुलमा वाषिर्क ५ लाख खर्च गर्दै आएका छन् । वैदेशिक रोजगारमा रहेका युवाले तलब कटाएर गाउँको विकास निर्माणका काममा खर्चेर उदाहरणीय काम गरेको शान्ति उमाविका प्राचार्य मानबहादुर पाण्डेले बताए । सरकारी बजेटबाट मुख्य केन्द्रमा सडक छन् तर रेमिट्यान्सले टोल र घरैपिच्छे मोटरबाटो बनेका छन् । शान्ति उमावि सञ्चालन गर्न ४ लाख सहयोग गरेका छन् ।

त्यस्तै भडार, प्युडाँडामा मोटरबाटो निर्माण, विद्युत् विस्तार, खानेपानी मर्मत, सडक निर्माण, ३ वटा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरी ७ लाख  खर्च गरिसकेको समितिले जनाएको छ ।

Published on: 14 June 2013 | Kantipur

Back to list

;