s

एउटै अभियोगमा आमालाई जन्मकैद, बाबुलाई सफाइ

शेरबहादुर जेरो

पूर्णबहादुर थापा मगर र गुनिसा थापामगरले २०६९ वैशाखमा प्रेम विवाह गरे। विवाहपश्चात् उनीहरुको जीवन सामान्यरुपमा बितिरहेको थियो। उनीहरुको आर्थिक अवस्था कमजोर रहेकाले पूर्णबहादुरले विदेश जाने सोच बनाए। श्रीमती गुनिसासमेतको घरसल्लाहमा दुई वर्षपछि पूर्णबहादुर वैदेशिक रोजगारीका लागि मलेसिया गए। पूर्णबहादुर मलेसिया जाँदा गुनिसा ६ महिनाकी गर्भवती थिइन्।

पूर्णबहादुर र गुनिसाबीच फोनमा कुराकानी भइरहन्थ्यो। पूर्ण पैसा पनि पठाइरहन्थे। घर खर्च राम्रै चलिरहेको थियो। श्रीमान् विदेश गएको चार महिनापछि गुनिसाले छोरी जन्माइन्। उनी २०७१ चैतमा सासूससुरा बाट छुट्टिएर आठ महिनाकी छोरी साथमा लिई बस्न थालिन्। त्यो बेला उनको दुई वर्ष कान्छो देवर सोमबहादुर थापामगरसँग अवैध सम्बन्ध सुरु भएको थियो। सासूससुराबाट छुट्टिएर बस्न थालेसँगै देवरसँग शारीरिक सम्पर्क हुन थाल्यो। २०७२ फागुनमा उनको महिनाबारी रोकियो। यो कुरा उनले सोमबहादुरलाई सुनाइन्। केही चिन्ता नलिन र आफूले सबै व्यवस्था गर्ने आश्वासन देवरबाट पाएपछि उनी ढुक्क बसिन्। गर्भ रहेको जब सात महिनाको पुग्यो, उनी अत्तालिन थालिन्। देवरसँग सल्लाह माग्दा कसैले थाहा नपाउनेगरी जन्माउनू अनि लगेर फाल्नू भनेपछि जन्मेको बच्चा फालेको उनले प्रहरीमा बयानका क्रममा बताएकी छन्।

भाउजूसँग अवैध सम्बन्ध राखी जन्मेको शिशु मार्न लगाउने देवरलाई साक्षी प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको छ भने आमालाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ।

गुनिसाले २०७३ मंसिर ४ गते जीवित जन्मेकी शिशुलाई घरनजिकैको खाल्डे चर्पीमा फालेकी थिइन्। बुहारीले बच्चा मारेर फालेको भनी प्रहरीमा ससुरा बिगबहादुर थापामगरले जाहेरी दिएका थिए। अवैध यौन सम्बन्धबाट जन्मिएको बच्चा मारेर फलेको अभियोगमा गुनिसा र उनका देवर सोमबहादुरलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो। एउटै अभियोगमा पक्राउ परेका सोमबहादुर र गुनिसालाई जिल्ला अदालत ओखलढुंगाले फरकफरक आदेश सुनायो। २०७४ वैशाख १९ गते गुनिसालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको अदालतले सोमबहादुरलाई भने सफाइ दियो। गुनिसालाई सर्वस्वसहित जन्मकैदको फैसला भए पनि पाँच वर्षमात्र कैदमा राख्न भनी साबिक मुलुकी ऐन १८८ नं. बमोजिम सर्वोच्च अदालतमा पठाइएको जिल्ला अदालत ओखलढुंगाका स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताएका छन्। सर्वोच्चबाट साधक सदर मिसिल कार्यालयमा अझै नआई पुगेको स्रेस्तेदार पौडेलको भनाइ छ।

देवरको आदेशमा गुनिसाले शिशु मारी फालेको बयान दिए पनि यसमा सोमबहादुरको प्रत्यक्ष भूमिका नभएकाले अदालतबाट सफाइ पाएको निमित्त जिल्ला न्यायाधिवक्ता सिर्जना घिमिरेको भनाइ छ। साक्षी प्रमाण नपुगेकाले सोमबहादुरले सफाइ पाएको उनले बताइन्। ‘यस कार्यालयबाट शिशु मारिफाल्न आदेश दिने देवर सोमबहादुर थापामगरका लागि जन्मकैद र गुनिसा थापामगरका लागि सर्वस्वसहित जन्मकैदको माग दाबी गरिएको थियो’, उनले भनिन्, ‘माग दाबीअनुसार नै दुवैजनालाई सजायका लागि उच्च अदालतमा पुनारावेदन गरिएको छ।’ गुनिसाले अहिले जिल्ला कारागार ओखलढुंगामा कैद भुक्तान गरिरहेकी छन्।

Published on: 4 February 2019 । Nagarik

Back to list

;