s

यूरोपको घरेलु कामदार स्वीकृति, ४८ घण्टाभित्र बन्द र खुला

वैदेशिक रोजगार विभागले साइप्रससहित युरोपका मुलुकमा जाने घरेलु कामदारको मंगलबारदेखि श्रम स्वीकृति दिने भएको छ । घरेलु कामदार सम्बन्धी निर्देशिका–२०७२ मा दुई देशबीच श्रम सम्झौता नभएसम्म घरेलु कामदारको श्रम स्वीकृति नदिने उल्लेख छ । त्यसलाई आधार बनाउँदै विभागले आइतबारदेखि साइप्रस जाने घरेलु कामदारको श्रम स्वीकृतीमा रोक लगाएको थियो ।
 
विभागको काठमाडौं कार्यालयका निमित्त कार्यालय प्रमुख प्रेम देसारले आइतबार सामान्य प्राविधिक समस्याका कारण श्रम स्वीकृती राकिएको तर मंगलबारबाट  श्रम स्वीकृती सूचारु हुने मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए । तत्कालीन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय श्रम समितिको निर्देशनपछि श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदार सम्बन्धी निर्देशका २०७२ को उपदफा ३ (१) अनुसूची (क) मा रहेका ४२ मुलुहरुमा श्रम सम्झौता  नगरी विदेशमा घरेलु कामदार पठाउन रोक लगाएको थियो ।
 
त्यस सूचीमा मध्यपूर्वका ईराक, लेवनान लगायत खाडीका ६ मुलुक मलेसिया, अफ्रिकी मुलुक तथा ल्याटिन अमेरिकाका पेरु लगायत गरी अधिकांश अफ्रिकी मुलुकहरु रहेका छन् । पछि रसियास्थित नेपाली दूतावासले पनि घरेलु कामदार नपठाइदिन आग्रह गरी परराष्ट्र मन्त्रालय हुँदै श्रम मन्त्रालयमा पत्र पठाएको थियो ।
 
काठमाडौं कार्यालय ताहाचलले निर्देशिकाको यही व्यवस्था समाउँदै साइप्रस सहित युरोप जाने घरेलु कामदारको पनि श्रम स्वीकृति रोकेको हो । निर्देशिका जारी भएपछि खाडी मुलुकबाट बिदामा घर फर्केका घरेलु कामदारहरुले समेत पुनः श्रम स्वीकृति पाइरहेका छैनन् ।
 
सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको नेतृत्व र महासचिव नरेश गेलालसहितको टोलीलेले शुरुमा विनाकारण श्रम स्वीकृति रोकिएको भन्दै ताहाचल कार्यालयका प्रमुख देसारसँग समस्या राखेको थियो । त्यसपछि बुद्धनगरस्थित विभाग कार्यालय पुगी महानिर्देशक भुवनप्रसाद आचार्यको यस विषयमा ध्यानाकर्षण गराइएको थियो । ध्यानकर्षणपछि महानिर्देशक आचार्य, संघमा आवद्ध व्यवसायी र मन्त्रालयका कानून उपसचिव अर्जुन नेपाल सहितको बैठक बसी  निर्देशिकाले साइप्रसमा घरेलु कामदार पठाउन रोके नरोकेको विषयमा छलफल गरेको थियो । छलफलपछि अन्तिम स्वीकृति  रोक्नुपर्ने कुनै कारण देखिएन, महानिर्देशक आचार्यले भने– ‘मंगलबारदेखि सबै सेवा सुचारु हुनेछन् । कानूनमा भएको व्यवस्था वाहेक व्यवसायीहरुलाई अन्य अवरोध हुँदैन ।’
 
केही दिन अघि साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासले श्रम सम्झौता नगरी घरेलु कामदार पठाउँदा उनीहरु जोखिममा पर्ने भन्दै श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराएको थियो । पछिल्लो समयमा युरोपियन मुलुक साइप्रसमा घरेलु कामदारसहित अन्य रोजगारीमा नेपालीको आकर्षण बढेको छ । गत वर्ष १ हजार १ सय ६४ महिला साइप्रस गएका थिए ।
 
Published on: 27 February 2018 | Madhyanha

Back to list

;