s

युरोपमा फसेका नेपालीलाई सहयोग गर्न अपिल

चन्द्रशेखर अधिकारी

काठमाडौं : बिना भिसा युरोपेली मुलुकमा बसेका नेपालीलाई सहयोग गर्न सरकारले ईयू राष्ट्लाई पत्राचार गरेको छ। दूतावासमार्फत कूटनीतिक नोट पठाउँदै सरकारले महामारीको समयमा सहयोग गर्न औपचारिक आग्रह गरेको हो।

स्पेन, पोर्चुगल, इटाली, जर्मनी, बेल्जियम र स्वीट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा त्यस्ता नेपाली रहेको जानकारी दूतावासमा आएको भन्दै उनीहरुलाई ख्याल गरिदिन आग्रह गरेको हो। गैरआवासीय नेपालीले दिएको सूचनाको आधारमा युरोपमा रहेको सबैजसो दूतावासबाट आआफ्नो क्षेत्रमा पर्ने मुलुकलाई त्यस्तो पत्राचार गरेको हो।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का मुलुकमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धार गर्ने नीति अनुरुप नै त्यस्तो पत्राचार गरिएको पेरिस र जेनेभास्थित नेपाली दूतावासका अधिकारीले बताए। जेनेभा स्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले स्वीट्जरल्यान्ड र इटाली सरकारलाई लेखेको छ भने पेरिसस्थित दूतावासले पोर्चुगल र फ्रान्सलाई लेखेको छ। त्यस्तै स्पेनस्थित नेपाली दूतावासले पनि त्यहाँको सरकारलाई विशेष आग्रह नै गरेको छ।

युरोपेली महासंघ (ईयू) का लागि नेपाली दूतावासले पनि त्यस्तै आग्रह बेनेलक्स मुलुकलाई गरेको छ भने डेनमार्कस्थित दूतावासले स्कन्डिभियन मुुलुकलाई गरेको छ। स्वीट्जरल्याण्ड र फ्रान्सका नेपाली दूतावासले यो कदम चालेपछि अन्यले त्यसलाई पछ्याएका हुन्। जर्मनी र बेलायतस्थित दूतावासले पनि त्यस्तो पत्राचार गरिसकेको छ। संक्रमणका बेला युरोपका सबैजसो मुलुक एक अर्कामा सम्पर्क विच्छेद झै छन्। त्यहाँ रहेका नेपालीले कुनै प्रकारको कठिनाइ भोग्न नपरोस भनेर सरकारको निर्देशन अनुरुप दूतावासले पत्राचार गरेको जानकारी दिइएको छ।

परराष्ट्रसचिव शंकरदास बैरागीले सबै नियोगलाई सबैखाले नेपालीको अवस्थामा ध्यान दिन निर्देशन गएको र त्यही अनुरुप काम गर्न उहाँहरु स्वतन्त्र रहेको बताए। सबैले पठाएको कूटनीतिक नोटमा आइपरेको मानवीय समस्यामा भरथेग गरिदिन अनुरोध गरेका छन्। वैधानिक अवैधानिक जुन तरिकाले बसेका भएपनि मानवीय हिसाबमा उत्तिकै सहयोग आवश्यक पर्ने सचिव बैरागीले बताए।

अहिले युरोपका कुुनै पनि मुलुकबाट स्वदेश फर्कन सक्ने अवस्था छैन। उनीहरुको आग्रहपछि त्यहाँको सरकारले पनि नेपाली नियोगलाई आफ्ना नागरिकलाई पनि नेपालमा ख्याल गरिदिन भनेका छन्। कूटनीतिमा रेसिप्रोसिटी रहने हुनाले यसमा नेपालले आफ्नै नागरिक सरह नै सहयोग गर्ने बचन दिएको छ। खासगरी नेपाली कागजी प्रक्रिया पूरा गर्ने क्रममा रहेका र भिसा नभएका मात्र होइन घुम्न आएकालाई पनि ध्यान दिन दूतावासले भनेको छ।

इटाली, स्पेन, पोर्चुगलमा केही नेपाली कागजी प्रक्रियामा जोडिएका हुन सक्ने आँकलन दूतावासको छ। तिनलाई घर बाहिर निस्कन मुस्किल मात्र होइन पैसा अभावमा खान बस्न नै समस्या रहेको हुनसक्ने भन्दै त्यस्तालाई सहयोग गर्न दूतावासले पत्राचार गरेको हो। पछिल्लो समय साइप्रसमा रहेको नेपाली पनि त्यस्तै समस्यामा परेको अधिकारीको जानकारीमा आएको छ।

साइप्रसमा अध्ययनका लागि जाने र घरायसी कामदारको रुपमा जानेहरु अहिले समस्याका परेको अधिकारीले बताए। इजरायलले त्यहाँ हेर्ने हुनाले इजरायलबाट त्यस्तो पहल गर्न परराष्ट्र मन्त्रालयले यसअघि नै निर्देशन दिइसकेको भए पनि अझै त्यहाँको विषयमा सरकार स्पष्ट हुनसकेको छैन। नेपाली पनि कागज नबन्ला भन्ने पिरले अझै बाहिर आएका छैनन्।

Published on: 27 March 2020 | Annapurna Post

Link

Back to list

;