s

युरोपमा रोजगारी खोज्दै सरकार

तुलसी सुवेदी

सरकारले युरोपेली मुलुकमा रोजगारीको अवसर खोज्ने भएको छ। मलेसिया तथा खाडी मुलुकमा मात्र केन्द्रित भएको वैदेशिक रोजगारलाई प्रतिफलमुखी बनाउन सरकारले युरोपेली मुलुकमा रोजगारी खोज्ने तयारी गरेको हो।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ८० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुकमा जाने गरेका छन्। खाडी मुलुक तथा मलेसियामा कामदारको उचित पारि श्रमिक नहुँदा कामदारको संख्याको अनुपातमा रेमिट्यान्स निकै कम आउने गरेको छ। सरकारले युरोपका विभिन्न मुलुकसँग सहकार्य गरी कामदार पठाउने तयारी गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सम्भाव्य श्रम गन्तव्य मुलुकका रूपमा युरोपेली मुलुकसँग छलफल अघि बढेको बताए। बेलायत, माल्टा, जर्मन, पोर्चुगल, टर्की, पोल्यान्डलगायत युरोपेली देशमा कामदार पठाउने तयारी भइरहेको बताए। ‘ती देशसँग छलफल प्रक्रिया सुरु भएको छ’, उनले भने, ‘युरोपमा रोजगारी बढाउन हाम्रो प्रयत्न रहन्छ।’

अघिल्लो सरकारले श्रम राज्यमन्त्रीको संयोजकत्वमा समिति गठन गरेर श्रम गन्तव्य मुलुक खोज्ने प्रयास गरे पनि सार्थकता पाउन सकेको थिएन। आकर्षक गन्तव्य मुलुकमा रोजगारीको अवसर कम हुँदा कामदार मलेसियासहित खाडीका साउदी अरब, कतार, संयुक्त अरब इमिरिटे्स (यूएई) मा जान वाध्य छन्। पोल्यान्ड र पोर्चुगलमा केही कामदार जाने गरे पनि युरोपका अन्य देशमा कामदार जान पाएका छैनन्। पछिल्लो समय बेलायत आकर्षक गन्तव्य मुलुकका रूपमा देखिने सम्भावना बढेको छ। नेपालले उक्त अवसर अधिकतम उपयोग गर्ने योजना बनाएको छ। युरोपेली युनियनबाट बेलायत अलग्गिएसँगै विदेशी कामदारका रूपमा आकर्षक गन्तव्य मुलुकको रूपमा रहने भन्दै सरकारले बेलायतसँग सहकार्य गरी कामदार पठाउने योजना बनाएको हो।

श्रम मन्त्रालयका उपसचिव दिपक ढकालका अनुसार श्रम गन्तव्य मुलुक खोज्न गृहकार्य सुरु भएको बताए। ‘गन्तव्य मुलुक खोज्न बजेट विनियोजन भएको छ’, उनले भने, ‘युरोपकका विभिन्न देशमा रोजगारी खोज्ने तयारीमा छौं’, टर्की रोजगारीका लागि श्रम सम्झौताको तयारी भइरहेको उनले जानकारी दिए। ‘टर्की रोजगारका लागि मस्यौदा तयार भएको छ’, उनले भने, ‘केही समयभित्रै पठाउने तयारीमा छौं।’

उपसचिव दाहालले युरोपेली मुलुकमा क्रुज (पानी जहाज) मा श्रमिक आवश्यक हुने भएकाले त्यहाँ नेपाली पठाउने रणानीति बनाइएको बताए। ‘छोटो समयका लागि कामदार पठाउन सकिन्छ’, उनले भने, ‘त्यसका लागि हामी मापदण्ड बनाउँदै छौं।’

सरकारले केही समयअघि कार्यदल गठन गरेर वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गरेको थियो। कार्यदलले तुलनात्मक रूपमा आर्थिक स्थिति बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको थियो।

कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्यान्ड, स्विडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च रहेकाले ती देश नेपाली श्रमिकका लागि उपयुक्त गन्तव्य हुनसक्ने सुझाव दिएको थियो।

वैदेशिक रोजगार विभागका अनुसार काम खोज्दै ४३ लाखभन्दा बढी युवा बिदेसिएका छन्। युरोप, अमेरिकालगायत अन्य आकर्षक मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अत्यन्तै न्यून छ। खाडी मुलुक र मलेसियाभन्दा आकर्षक मुलुक खोजेर बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना बनाएको छ।

Published on: 1 September 2019 | Annapurna Post

Back to list

;