s

युरोपमा रहेका श्रमिकले पनि लिन थाले टेलिमेडिसिन सेवा

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि सुरु गरिएको टेलिमेडिसन सेवा प्रभावकारी बन्दै गएको छ । मध्यपूर्व र मलेसिया मात्रै नभएर पछिल्लो समय युरोप रोजगारीमा गएका नेपाली श्रमिकसमेत टेलिमेडिसिन सेवाबाट लाभान्वित हुन थालेका छन् ।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार साढे तीन महिनाको अवधिमा विभिन्न मुलुकमा रहेका नौ सय ३७ नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । यसमध्ये युरोपियन देशहरू रोमानिया र पोर्चुगल पुगेका ११–११ श्रमिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको टेलिमेडिसिन सेवा लिएका छन् ।

यो अवधिमा सबैभन्दा धेरै मलेसिया पुगेका दुई सय ७५ श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । मलेसियामा नेपाली श्रमिकको संख्या तुलनात्मक रूपले बढी भएकाले पनि यो सेवा लिने श्रमिकको संख्या पनि बढी देखिएको हो । मलेसियामा करिब चार लाख नेपाली श्रमिक कार्यरत छन् ।

त्यस्तै, साउदी अरब पुगेका दुई सय २७ जनाले सेवा लिए । युनाइटेड अरब इमिरेट्सबाट ९७, कुवेतबाट एक सय चार, जापानबाट १९, कोरियाबाट ५७ र अन्य मुलुकबाट ६५ श्रमिकले यस्तो सेवा लिएको बोर्डले जनाएको छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले धेरै स्वास्थ्य समस्या भोग्नुपरेको भन्दै अनलाइनमार्फत स्वास्थ्यसम्बन्धी जानकारी दिने सेवा सुरु गरेको हो । सामान्य स्वास्थ्य समस्या हुँदा पनि जानकारीको अभावमा श्रमिकले उपचार नपाएको अवस्था छ । त्यस्तै, कम्पनीभित्र नै बस्ने नेपाली श्रमिकको स्वास्थ्य र चिकित्सकको पहुँच नहुने हुँदा पनि श्रमिकले समयमा नै उपचार नपाएको अवस्था छ ।

तसर्थ, मन्त्रालयले श्रमिकलाई अनलाइनमार्फत भए पनि सेवा दिन सुरु गरेको हो । यो सेवा लिनका लागि श्रमिकले मन्त्रालयले उपलब्ध गराएको फोन नम्बरमा कल गर्न सक्नेछन् । कलमा २४ घन्टा चिकित्सक उपलब्ध हुनेछन् । चिकित्सकले श्रमिकलाई स्वास्थ्य समस्यासम्बन्धी सल्लाह, सुझाव र औषधि नै खानुपर्नेमा औषधि पनि सिफारिस गर्छन् । मन्त्रालयले गत १५ चैतदेखि यो सेवा थालेको हो ।

टेलिमेडिसिन सेवा लिएर नेपालबाटै औषधि मगाउन थाले श्रमिकले

टेलिमेडिसिन सेवा लिने श्रमिकले नेपालबाटै औषधिसमेत मगाउन थालेका छन् । श्रमिकले अनलाइनमार्फत आफ्नो समस्या राख्ने र चिकित्सकले पनि अनलाइनबाट नै औषधिको प्रेसक्रिप्सन दिने गर्छन् । सोहीबमोजिम श्रमिकले नेपालमा भएका आफ्ना आफन्तबाट औषधि मगाउन थालेका छन् । चिकित्सकलाई नै देखाउनुपर्ने किसिमको समस्या भएमा सोहीबमोजिम सल्लाह दिने गरेको बोर्डका प्रवक्ता राजन पौडेलले जानकारी दिए ।

श्रमिकले फोन, म्यासेन्जर, भाइबर, ह्वाट्सएपमार्फत पनि चिकित्सकसँग सम्पर्क गर्न सक्ने व्यवस्था छ । श्रमिकले सुरुमा फोन गर्दा मेडिकल अफिसरले उठाउँछन् । उनले नै श्रमिकलाई पहिलो चरणको सल्लाह दिन्छन् । यदि समस्या अलि जटिल भएमा श्रमिकको समस्याअनुसार सम्बन्धित चिकित्सकको सिफारिस गर्ने गरिन्छ ।

बोर्डका अनुसार साढे तीन महिना अवधिमा तीन सय १२ श्रमिकले औषधि प्रयोगबारे जानकारी लिएका छन् । एक सय ७२ श्रमिकले सर्जरी, एक सय ३२ श्रमिकले अर्थोपेडिक र ९५ श्रमिकले नाक, कान, घाँटीसम्बन्धी समस्याबारे जानकारी लिएका छन् । त्यस्तै, डर्मोलोजी ६३, साइक्रेटिक ६९, डेन्टल २१, महिला स्वास्थ्यसम्बन्धी तीन र ४७ जनाले अन्य सेवा लिएका छन् ।

वीर अस्पतालसँग सहकार्य गरेर यो सेवा प्रवाह भइरहेको बोर्डका प्रवक्ता पौडेलले बताए । उनका अनुसार हरेक हप्ताको बुधबार र शुक्रबार दुई दिन स्वास्थ्यका विशेषज्ञसँगको सेवा दिइने गरिएको छ । बोर्डका अनुसार सबै प्रकारका बिरामीले विशेषज्ञसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

वीर अस्पतालबाट एकजना मेडिकल अधिकृत र एकजना हेल्थ असिस्टेन्टलाई बोर्डबाटै सेवा–सुविधा भुक्तानी गरी टेलिमेडिसिन सेवामा खटाइएको छ । विशेषज्ञ चिकित्सकलाई भने एकपटक सेवा दिएबापत एक हजार रुपैयाँ बोर्डले भुक्तानी गर्दै आएको छ । यो सेवाका लागि बोर्डले गत आर्थिक वर्षको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो ।

वैदेशिक रोजगारीमा गएका श्रमिकमा नसर्ने रोगको संक्रमण बढ्दै

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमा नसर्ने रोगको संक्रमण बढ्न थालेको छ । श्रमिकलाई मुटु, मिर्गौला, बल्डप्रेसरलगायतका समस्या धेरै देखिन थालेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता राजन पौडेलले बताए । उनका अनुसार नसर्ने रोगबाट मृत्यु हुने श्रमिकको संख्याको दर पनि बढिरहेको छ । त्यसैले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नसर्ने रोगबाट जोगाउन मन्त्रालयले यो सेवाको सुरुवात गरेको हो । सर्ने रोगको हकमा तत्काल उपचार गर्नुपर्ने अवस्थामा भने यो सेवा प्रभावकारी बन्ने गरेको छैन ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू मानसिक समस्या र प्रजनन स्वास्थ्य समस्याबाट पनि ग्रसित भएको डाक्टर भोला रिजाल बताउँछन् । गन्तव्य मुलुकको हावापानी र खानपानले पनि श्रमिकको स्वास्थ्यमा प्रभाव पार्ने गरेको उनको भनाइ छ । त्यस्तै, कार्यस्थलको वातावरण र कामको चापले पनि नेपाली श्रमिक विभिन्न स्वास्थ्य समस्याबाट गुज्रनुपरेको उनले बताए ।

बोर्डले अहिले टेलिफोन वा अन्य सञ्चारका उपकरणबाट श्रमिकलाई स्वास्थ्य सुधारका लागि सल्लाह–सुझाव दिइरहे पनि आगामी दिनहरूमा गन्तव्य मुलुकमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजनासमेत बनाएको छ । ‘टेलिमेडिसिन सेवा प्रभावकारी भयो भने अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको छ,’ बोर्ड प्रवक्ता पौडेलले भने । बोर्डले बनाएको कार्यविधिमा गन्तव्य मुलुकका डाक्टरबाटै सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।

Published on: 24 July 2023 | Naya Patrika

Link

Back to list

;