s

युरोप पठाउने भन्दै ९१ जनासँग साढे दुई करोड ठगी

होम कार्की

काठमाडौँ — वैदेशिक रोजगारीका लागि युरोपलगायत देशमा पठाइदिन्छु भन्दै ९१ जनासँग कम्तीमा २ करोड ५० लाख रुपैयाँ ठगी गर्ने कनेक्टिएयर वर्ड कन्सल्टेन्सीका मुख्य दुई सञ्चालक फरार भएका छन् । कन्सल्टेन्सीका व्यवस्थापकसहित तीन कर्मचारी भने पक्राउ परेका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार कन्सल्टेन्सीका मुख्य सञ्चालक अजित तामाङ र सागर तामाङ फरार छन् । व्यवस्थापक कलादेवी सुवेदी, कर्मचारीद्वय सजना राई र सबु श्रेष्ठ पक्राउ परेका छन् । कन्सल्टेन्सीले युरोपको पोर्चुगल, माल्टा, रोमानिया, क्रोएसियालगायत देशमा पठाइदिन्छु भन्दै रकम उठाउने गरेको थियो । त्यसमध्ये ९१ जनाले आफूहरू ठगिएको भन्दै विभागमा उजुरी दिएका छन् ।

कन्सल्टेन्सीले पीडितबाट प्रतिव्यक्ति ६० हजारदेखि १२ लाख रुपैयाँसम्म असुल गरेको विभागका कानुन अधिकृत मनोहर लम्सालले बताए । ‘विभागमा कन्सल्टेन्सीविरुद्ध अलग–अलग चारवटा जाहेरी परेको छ । सबैभन्दा ठूलो ८८ जनाको सामूहिक जाहेरी छ,’ उनले भने, ‘मुख्य सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।’

काभ्रेकी रीना तिमल्सिनाले टिकट लिन बोलाएर जाँदा कन्सल्टेन्सी बन्द भइसकेको बताइन् । ‘हाम्रो समूहमा १६ जना थिए । रोमानियामा मासिक ६ सय ५० युरो तलब पाउने गरी पठाउने भन्दै करार गरायो । हामीसँग प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ लिएका थिए,’ उनले भनिन्, ‘चैत २७ गतेको उडान भनिएको थियो । २६ गते कार्यालय पुग्दा त बन्द थियो ।’

उनका अनुसार कन्सल्टेन्सीले अमेरिकासमेत पठाउने भन्दै पीडितसँग २६ लाख रुपैयाँसम्म असुल गरेको छ । चितवनका ओमबहादुर कुँवरले पोर्चुगल जान भन्दै एक लाख रुपैयाँ बुझाएका थिए । १४ वर्ष दुबईमा काम गरेर फर्केका कुँवरले चैत १ मा कन्सल्टेन्सीलाई रकम बुझाएको बताए । ‘मलाई तीन महिनाभित्र पठाइदिन्छु भनिएको थियो । मेडिकल पनि गरायो । पोर्चुगल उड्न ९ लाख रुपैयाँ लाग्छ भनिएको थियो । मेडिकल आफ्नै खर्चले गरे । मेडिकल पास भएपछि भिसा लगाउने प्रक्रिया अगाडि बढाउन दुई लाख मागेको थियो । मैले एक लाख रुपैयाँ मात्रै दिएँ,’ उनले भने, ‘वर्क परमिट लागेर आएपछि ४० प्रतिशत बुझाउनुपर्छ भनेको थियो । वर्क परमिट पर्खेर बसिरहेका बेला कन्सल्टेन्सी नै फरार भएको खबर पाएँ ।’

उनीहरूले सञ्चालक र व्यवस्थापकलाई नै रकम बुझाएको भेटिएको कानुन अधिकृत लम्सालले बताए । ‘सञ्चालकको खातामा रकम जम्मा गरेको देखिन्छ । नगद पैसा भने कला आफैंले लिएको देखिन्छ,’ उनले भने । विभागले उनीहरूविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार ठगी मुद्दा चलाउने तयारी गरिरहेको छ । ऐनअनुसार इजाजत नदिई वैदेशिक रोजगारीमा पठाउन नपाइने व्यवस्था छ ।

Published on: 26 April 2023 | Kantipur

Link

Back to list

;