s

युरोप र अमेरिकाको सपना बाँडेर करोडौंको ठगी

जनकराज सापकोटा

पटक–पटक गरेर खनखनी गनेर २२ लाख रुपैया हातमा राखिदिएपछि ललितपुरको नखिपोट निवासी नरबहादुर वुढाथोकीले स्पेन जाने सपना देख्न थाले ।नदेखून् पनि किन, पानीजहाजको क्रु मेम्बरको जागिर र मनग्गे कमाइको लोभ देखाएका थिए, उनकै छिमेकी पारस लोहनीले । बुढाथोकीलाई आफु स्पेन पुगिनेमा किन विश्वस्त थिए भने छिमेकी पारसले स्पेनको पानी जहाज कम्पनी सम्बद्ध कैयन कागजात देखाएका थिए । साथै पानीजहाजमा काम गर्नका लागि आवश्यक तलिम लिएको प्रमाणपत्र बिना तालिम उपलब्ध गराइदिएका थिए । तर नरबहादुरको सपना धेरै दिनसम्म टिकेन ।

स्पेन लगिदिने भनेर पैसा लिएका पारस सम्पर्क बाहिर बसेपछि उनी झल्याँस्स भए, लौ ठगीमा त परिएन । स्पेन, अमेरिका र जापानका विभिन्न पानीजहाज कम्पनीमा क्रु मेम्बर काम दिलाइदिने लोभ देखाएर पारसको ठगीमा परेका नरबहादुर मात्र एक्ला छैनन् । दुई महिना भन्दा लामो खोजीपछि बुधबार बेलुकातिर महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले पारस लोहनीलाई सोह्रखुट्टेमा हिडीरहेका बेला पक्राउ गरेपछि उनीबाट ठगीनेहरुको ठुलो संख्या सार्वजनिक भइरहेको छ । अपराध महाशाखामा पारसविरुद्ध ३२ जनाको लिखित उजुरी परेको छ जसमा दुई करोड ४० लाख रुपैयाँ विगो दावी माग गरिएको छ । बिहिबार साँझसम्म पारसबाट ठगीने अन्य पीडितहरु पनि महाशाखाको सम्पर्कमा आएका छन् । महाशाखाका डिएसपी मनोहर भट्टका अनुसार पीडितहरुको संख्या अझै बढन सक्छ र विगो दावीको रकम कराडौं पुग्न सक्ने सम्भावना छ ।
 
सर्लाही नवलपुर घर भएका विकासराज खरेल पनि पारसले देखाएको सपनाको मोहक पासोमा परेर ठगिने अर्का व्यक्ती हुन् । आफ्ना नजिककै साथीभाइबाट विकास पारसको सम्पर्कमा पुगेका थिए । पारसले अमेरिकाको पानीजहाज कम्पनीमा काम लगाईदिने भनेपछि उनले ३५ लाख रुपैया नगदै उनको हातमा थमाएका थिए, तीन वर्ष अघि । रकम लिएर लामो समय झुलाएका पारसले दुबईको भिजिट भिसा लगाइदिए र टिकट दिदै भने, ‘अब दुबईबाटै अमेरिकाका लागि उडने ।’ विकासले दुबई जानका लागि आवश्यक डलर साटे, किनमेल गरे र परिवारसँग विदा भएर विमानस्थल पुगेपछि पो थाहा भयो, दुबईको टिकट त नक्कली पो रहेछ । त्यसपछि भने पारस सम्पर्क विहिन भए । त्यसपछि उनले चाल पाए, पक्का ठगीमा परियो ।
 
पारसले मोहन शेरचनलाई जापान पठाइदिन्छु भन्दै १३ लाख असुले । नगेन्द्र दाहाललाई जापान पठाईदिने भन्दै २३ लाख असुले । बुद्धीमान गुरुङसहितका नौ जना साथीलाई भने सिंगापुर पठाइदिन्छु भनेर डेढ वर्षअघि ४८ लाख असुले । प्रमाण कमजोर पार्ने नियतले चलाख पारसले अधिकांशसँग नगद नै रकम बुझेका छन ।
 
प्रहरीका अनुसार नुवाकोट थानापती स्थायी घर भएका पारसको यस्तो ठगी करिब पाँच बर्षदेखि चलाएको देखिन्छ । उनले धेरैलाई सिंगापुर, अमेरिका, पोर्चुगल, जापान र स्पेन पठाइदिने भन्दै रकम असुलेका छन् । रकम असुलेपछि पारस सम्पर्क बाहिर बस्थे । धेरै करकर गर्ने र पछि लागीरहनेलाई केही लाख रुपैया फिर्ता गर्ने र अरु पछि फिर्ता दिने भन्दै झुलाउँथे । कसैलाई रकम नै नभएको बैंकको चेक दिएर त कसैसँग रकम फिर्ता गर्ने लिखित कागज गरेर त कसैलाई भारतको दिल्ली पुऱ्याएर अलपत्र पारेर अनेकन दु:ख दिइरहन्थे।
 
फसेको रकम उठाउन पीडत नरबहादुरले केसम्म गरेनन् । उनले भने, ‘कति दौडधुप गरें, त्यसको हिसाब नै छैन् ।’ नरबहादुरकै उजुरीको आधारमा गत दशैअघि पारसलाई प्रहरी परिसर ललितपुरले नक्सालबाट पक्राउ गरेको थियो । तर रकम दिएको प्रमाण नभएपछि प्रहरीले पारसलाई बैदेशिक रोजगार विभागमा बुझायो । विभागले भने आपसमा मिल्न दबाब दियो र नरबहादुरले एक जना लेखन्दास राखेर रकम लिएको कागज गरे । त्यसपछि उम्केका पारसले न भनेको समयमा रकम दिए न सम्पर्कमा नै आए ।
 
सामाजिक संजाल फेसबुकबाट र आफ्ना नजिकका साथीभाइमार्फत उनी विदेश पठाइदिने आश्वासन बाँडथे । उनको आश्वासनको चंगलुमा परेर रकम डुबाउने कैयन उनका नजिककै साथीभाइ र आफन्तसम्म छन् । प्रहरी बयानका क्रममा पारसले ५५ जनालाई आफूले तीन करोड रकम फिर्ता गरिसकेको बताइरहेका छन् । तर प्रहरीका अनुसार चलाख पारसले धेरैलाई बिल्लीबाँठ पारेका छन् । प्रहरीका अनुसार परासले पीडितहरुबाट न्युनतम ७ लाखदेखी अधिकतम ३५ लाख रुपैयाँसम्म असुलेको देखिन्छ ।
 
आठ बर्ष अघिसम्म पारस सामान्य आर्थिक हैसियतका थिए । उनका नजिकका मान्छेहरुका अनुसार उनको कलंकीमा सानो पोल्ट्री फार्म थियो र उनी एउटा मेनपावर कम्पनीमा एजेन्टको काम गर्थे । त्यही एजेन्टको पेशाबाट उनी व्यक्तिगत रुपमा दुबई र साउदी अरब मान्छे पठाउने सक्ने हैसियतमा उक्लिए । त्यसपछि उनले युरोप र अमेरिका पठाइदिने सपनाको चंगुल बाँडन थाले ।
 
Published on: 19 January 2018 | Kantipur

Back to list

;