s

इँटाभट्टामा काम गर्ने साढे तीन सय मजदुर महोत्तरी फर्के, होम क्वारेन्टाइनमा बस्न प्रशासनको निर्देशन

रंजन भण्डारी

 

धादिङको धुनीबेसी नगरपालिका– ३ स्थित एक इँटाभट्टामा काम गर्ने तीन सय ५० जना मजदुर महोत्तरीको बर्दिबास आइपुगेका छन् । उनीहरू सातवटा बसमार्फत आएका हुन् । 

लकडाउनको समय इँटाभट्टा बन्द भएपछि उनीहरू आफ्नो घर फर्केका हुन् । 

हाल उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने सर्तमा छोडिएको र निरन्तर प्रशासनको निगरानीमा राखिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वताए । 

यति धेरै संख्यामा आएका मजदुरलाई राख्ने क्वारेन्टाइनको अभाव रहेको तथा  स्वास्थ्य परीक्षणसमेत गर्दा सबैको अवस्था सामान्य देखिएपछि १४ दिन होम क्वारेन्टाइनमा बस्ने सर्तमा घर जान दिइएको उनले बताए । 

महोत्तरी फर्केका सबै बर्दिबास नगरपालिका वडा नं. ५, १० र ११ का बासिन्दा हुन् । झन्डै आधाजति महिला र बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले वताए । 

मजदुर लिएर आएका सातवटै बस र तिनका चालकलाई प्रहरीले अनुमति पास नभएको भन्दै नियन्त्रणमा लिएको छ ।

Published on: 2 April 2020 | Nayapatrika

Link

Back to list

;