s

इट्टा उद्योगका मजदुर व्यवस्थापन संचालकको जिम्मामा

सरिता श्रेष्ठ

 

धादिङ – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईसर (कोभिड– १९) को जोखिम नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेको छ। तर लकडाउनको प्रत्येक्ष प्रभाव भने दैनिक ज्यालादारी गरेर विहान बेलुका छाक टार्ने परिवारहरु संकटमा परेका छन्। दैनिक ज्यालादारी गरि बिहान बेलुकाको छाक टार्नेहरु काम ठप्प हुदाँ न घर जान पाएका छन् न काम नै गर्न पाएका छन्। राजधानी काठमाडौंसंग जोडिएको धुनीबेसी नगरपालिका र थाक्रे गाउँपालिकाभित्र संचालित इट्टा उद्योगमा मात्रै झण्डै ९ हजार मजदुरहरू छन्। 

जिल्लाको थाक्रे गाउँपालिका वडा नं ७ जुङगेखोलामा संचालित एभरेष्ट इट्टा उद्योगले आफ्ना ८० जना मजदुरलाई बिहान बेलुकाको खाद्यन्न आफैले दिएको संचालक पुष्पराज रेग्मीले बताए। ‘लकडाउन सुरु भएको दुई दिनपछि  हाम्रो इट्टा उद्योगमा रहेका मजदुरलाई दैनिक खाद्यन्नको व्यवस्थापन हामीले नै गरिरहेका छौँ,’ उनले भने, ‘लकडाउनको घोषणाले सवारी साधनसँगै उद्योग बन्द भयो, दुई दिन उहाँहरुले नै व्यवस्थापन गर्नुभयो, त्यसपछि हामीले आफैले खान, बस्नको व्यवस्थापन गरेका हौँ।’ उद्योगमा ६० जना रोल्पाका र अन्य भारतबाट आएका मजदुरहरु छन्।

एभरेष्ट इट्टा उद्योग जस्तै धुनीबेसी नगरपालिकामा संचालित २७ वटा इट्टा उद्योग र थाक्रेमा संचालित ३ वटा इट्टा उद्योगमा काम गर्ने मजदुरको खाद्यन्नको व्यवस्थापन उद्योगका संचालकहरु आफैले गरिदिएका छन्। मजदुरीका लागि अन्यत्रै बाट आएकाहरु एक त घर फर्किन पाएका छैनन् अर्कोतिर उद्योग बन्द हुदाँ समस्यामा परेका छन्। विशेषगरी महिला, बालबालिकाहरुलाई मध्यनजर गर्दै संचालकहरुले नै सबै व्यवस्थापन मिलाई दिएका हुन्।  

लकडाउनले मजदुरको रोजीरोटी गुमेपछि त्यसपछि हुने खाद्य संकट टार्न उद्योगका संचालकहरुलाई आग्रह गरिएको थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन्।

‘लकडाउनका कारण मजदुरहरु काम विहीन भएका छन्, काम नभएपछि छाक टार्न गाह्रो हुन्छ,’ उपाध्यक्ष रुपाखेतीले भनिन्, ‘छाक टार्न गाह्रो हुनेभएपछि उद्योगका संचालकहरुसंग नै समन्वय गरेर व्यवस्थापनका लागि आग्रह गरेका हौं।’ थाक्रेमा संचालित तीनवटा इट्टा उद्योगमा करिब पाँच सय जना मजदुरहरु कार्यरत छन्। 

सरकारले लकडाउनले जिल्लाका विभिन्न उद्योग, कल–कारखाना लगायत विकास निर्माणका क्षेत्रमा मजदुरी गर्न आएकाहरु केहि आफै पनि सकसपूर्ण तरिकाले फर्किए। केहि नजिक जिल्लाका मजदुरहरुलाई उद्योग आफैले नै सवारीपासको व्यवस्था मिलाएर घर पठाइदिएका छन्। सवारी साधनको खर्च, खाजासहितको व्यवस्था मिलाई पठाइएको संचालकहरूको भनाई छ। धुनीबेसी र थाक्रेमा संचालित इट्टा उद्योगहरुका मजदुर प्रायजसो बाहिरी जिल्ला र भारतका छन्।

धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका अनुसार नगरपालिकाभित्र मात्रै २७ वटा इट्टा उद्योग छन् जसमा साढे ८ हजारभन्दा बढी मजदुरहरु कार्यरत छन्। ‘दुई हजार मजदुरहरु लकडाउन अगाडि नै गएका छन् भने बाँकीहरु उद्योगमा नै छन्’, मेयर आचार्यले भने, ‘मजदुरहरुलाई बाहिर निस्कन नदिई उद्योगमा नै खाद्यन्न सामग्रीहरु पु¥याउने गरी संचालकहरुले नै व्यवस्थापन गर्नुभएको छ।’ केही मजदुरहरुले घर फर्काइदिन आग्रह गरेपछि सवारीसाधनको व्यवस्थापन नहुदाँ नसकिएको मेयर आचार्यले बताए। 

लकडाउनले घर फर्किन नसकेर अलपत्र बनेका बर्दियाका मजदुरहरु क्वारेन्टाइनमा बसेका छन्। नीलकण्ठ नगरपालिका वडा नंं. ३ मा निर्माण गरिएको क्वारेन्टाइनमा २० जना मजदुरहरुलाई खानाको व्यवस्थासहित राखिएको छ। लकडाउनको अवधिमा खान नपाएकै कारण कतै जानु नपर्ने र जसलाई बिहान, बेलुका खानकै समस्या छ, त्यस्ता श्रमिकलाई उद्योग आफैले खाद्यन्नको व्यवस्थापन गरिदिएको संचालकहरुले बताएका छन्।

Published on: 4 April 2020 | Nagarik

Link

Back to list

;