s

ईपीएसको काम अब फ्याम्समार्फत

काठमाडौँ, भदौ १० गते । रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाबाट हुने काम अबदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फ्याम्स)मार्फत हुने भएको छ ।

सो शाखाले ईपीएसबाट दक्षिण कोरिया जानका लागि गर्नुुपर्ने सबै प्रक्रिया आउँदो सोमबारदेखि फ्याम्समार्फत गर्ने भएको हो । फ्याम्स श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अनलाइनबाट जानकारी गराउने प्रणाली हो ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीबारे एकद्वार प्रणालीमार्फत जानकारी दिने उद्देश्यले २०७६ देखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा सोमबारदेखि ईपीएस शाखा पनि जोडिने भएको छ । सो शाखाका निर्देशक पुष्पराज कटुवालले हालसम्म ईपीएसमार्फत दक्षिण कोरिया जानेको छुट्टै तथ्याङ्क राख्ने गरेको भए पनि अबदेखि फ्याम्समा नै जोडिने जानकारी दिनुभयो ।

यो प्रणालीमा यसअघि नै वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैङ्क तथा बीमा कम्पनी एवं सीपमूलक तालिम प्रदायक संस्था जोडिएका छन् ।

निर्देशक कटुवालले ईपीएस शाखाबाट अनलाइन प्रणालीमा यसअघि काम गर्न थालिसकेको र यसैलाई फ्याम्समा जोडने काम मात्रै बाँकी रहेको र सोमबारदेखि जोडिने बताउनुभयो ।

Published on: 29 August 2022 | Gorkhapatra

Link

Back to list

;