s

इपिएस परीक्षाको आवेदन लिन ४५ लाखको सफ्टवेयर प्रस्ताव

रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखाले परीक्षाका लागि आवश्यक आवेदन अनलाईन मार्फत लिनका लागि आवश्यक सफ्टवेयर निर्माणका लागि करिब रु. ४५ लाखको प्रस्तावसहित श्रम मन्त्रालयसँग स्वीकृति मागेको छ।
 
शाखाले ३ इन्जिनियर समुहले गरेको लागत अनुमानअनुसारको लागत प्रस्तावसहितको स्वीकृति माग गरिएको लामाे समय बितिसकेकाे भए पनि हालसम्म स्वीकृति नअाएकाे शाखाका निर्देशक डिल्लिराम बास्तोलाले बताए।
 
'सफ्टवेयरलगायत सम्पूर्ण नयाँ संरचना तयार गर्न करिब ३ करोड रुपैयाँ लागि यसअघिको अनुमान थियो,' उनले भने, 'अहिले भने सफ्टवेयरका लागि मात्र करिब ४५ लाख रुपैयाँ प्रस्ताव गरिएको हो ।' सफ्टवेयरका लागि आवश्यक प्राविधिक सहयोग मानव संसाधन विकास विभाग(एचआरडी) कोरियाले गर्ने र आर्थिक लगानी नेपाल सरकारकै रहने सहमति कोरियासँग भएको उनले बताए । सफ्टवेयरमार्फत फारम भर्ने व्यवस्था मिलाउन सकिए दिनभर लाइनमा बसेर फारम भर्नुपर्ने बाध्यताबाट कोरिया जान चाहने युवाहरु मुक्त हुने विश्वास शाखाको छ। अनलाईनमार्फत फारम भर्न सक्ने व्यवस्थाले युवाहरुले घरमै बसेर विनाझञ्झट फारम भर्न सक्ने सुविधा प्राप्त गर्ने निर्देशक बास्तोलाको भनाई छ ।
 
एक वर्षको परीक्षाका आवेदन संकलनमा मात्रै इपिएस शाखाले करिब १ करोड रुपैयाँ खर्च गर्ने गरेको बताउँदै उनले यसको आधा रकममै धेरै वर्षसम्मलाई काम लाग्ने सफ्टवेयर निर्माण गर्न सकिने उनले बताए।एउटा सफ्टवेयर निर्माण गर्न जति बढी रकम पनि लगाउन सकिने भएकोले आफ्नो आवश्यकता अनुसारको सफ्टवेयर बनाउन आफूहरु लागि परेको उनको भनाइ छ । शाखाले यसअघिका वर्षहरुमा काठमाडौं, धरान, पोखरा, बुटवल र डडेलधुराबाट आवेदन संकलन गर्ने गरेको थियो ।
 
कोरियाले वार्षिक ५ देखि ७ हजारसम्म नेपाली युवालाई कोरिया भाषा परीक्षाबाट छानेर छनोट सूचीमा राख्ने गरेको छ । एक वर्षको परीक्षामा करिब ५० हजार युवाले सहभागिता जनाउने गरेका छन् । कोरियाले नेपालसहित १५ देशबाट औद्योगीक र कृषि तथा पुशुपालन गरी दुई क्षेत्रमा काम गर्ने कामदार इपिएसमार्फत छनोट गरेर लाने गरेको छ ।
 
Published on: 31 December 2015 | Nagarik

Back to list

;