s

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

काठमाडौँ, वैशाख २९ गते । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।

सो शाखाका अनुसार उत्पादनतर्फ पहिलो चरणको परीक्षामा सहभागी ४० हजार ५८० जना सहभागी भएका थिए । यो सङ्ख्या तीन चरणको भाषा परीक्षासहित छनोट गरिने १६ हजार चार सय हो । सो शाखाका अनुसार गएको फागुन पहिलो सातादेखि चैत २४ सम्म ४७ हजार ५१५ जनाका लागि लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । सो शाखाका अनुसार भाषा र सिप परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीलाई वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने गरी नाम नम्बर सार्वजनिक गरेको छ । स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगनखेल, शुव्रmराज ट्रपिकल अस्पताल टेकुु, नेपाल कोरियामैत्री अस्पताल भक्तपुर र निजामती अस्पताल मीनभवन तोकिएको इपिएस शाखाले जनाएको छ ।

पहिलो चरणको सिप परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संशोधन विभाग (एचआरडी) ले बिहीबार राति सार्वजनिक गरेको जनाइएको छ । गएको फागुुन २७ गते भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको एचआरडीले वैशाख ९ गतेदेखि १५ सम्म सिप परीक्षा सञ्चालन गरिएको थियो । इपिएस शाखाले कोरियन भाषा र सिप परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने र रोजगारीको छनोट प्रव्रिmयामा सामेल हुनु रोस्टरमा सूचीकृत हुनु मात्रै भएको जनाएको छ ।

कोरियामा नेपाली युवाको माग बढ्न थालेपछि इपिएस अन्तर्गत १६ देशमध्ये नेपालबाट धेरै श्रमिक लैजाने योजना अनुसार सिप परीक्षाको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागि आवेदन दिने नेपालीको सङ्ख्या धेरै भएपछि तीन चरणमा परीक्षा भइरहेको छ । तीन चरणकै परीक्षा सम्पन्न गर्न १० महिना अर्थात् २०८१ साल पुससम्म लाग्ने सो शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिनुभयो । उहाँले भाषा परीक्षाका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएकोमा १६ हजार चार छनोट गरेर पठाउने योजना रहेको बताउनुुभयो । हाल उत्तीर्ण भएका युवालाई जुन महिनामा हुने रोजगारदाता छनोटका लागि तयार हुन भनिएको छ ।

दक्षिण कोरियाले इपिएस अन्तर्गत सन् २०२४ का लागि नेपाललाई तोकेको कोटा थप गरेका कारण यो वर्ष हालसम्मकै धेरै नेपालीले कोरियाको रोजगारी पाउने सम्भावना छ । २०२३ सालमा इपिएस अन्तर्गत १९ हजार ६९८ नेपाली कोरिया प्रवेश गरेकामा २०२४ सालको हालसम्म दुई हजार ७९२ जना गइसकेका छन् । यसबाहेक दक्षिण कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकोमा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रसमेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतको वर्षभन्दा सन् २०२४ मा अझ बढी सङ्ख्यामा नेपाली श्रमिक कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको छ । कोरियाले यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने आश्वासन दिएको छ ।

आवेदन दिएका ६९१ जनाको सेवा परिवर्तन

यसैबिच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका ६९१ जनाको सेवा परिवर्तन भएको छ । इपिएस कोरिया शाखाले कृषि तथा पशुुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाका लागि आह्वान गरेको सूचनामा तीन हजार पाँच सय जनाले सेवा क्षेत्र परिवर्तनका लागि आवेदन दिएकोमा त्यो सङ्ख्याको मात्रै सेवा क्षेत्र परिवर्तन भएको हो ।

सो शाखाका अनुसार सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपालीलाई क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिएको थियो ।

Published on: 13 May 2024 | Gorkhapatra

Link

Back to list

;