s

इपिएस परीक्षामा करिब ७५ हजार सहभागी,असार १६ मा नतिजा सार्वजनिक हुने

आगामी वर्ष कोरिया जान चाहने ७४ हजार ८ सय ६६ जना नेपाली युवाले भाषा परीक्षा दिएका छन् । आइतबार सम्पन्न नवौँ कोरियन भाषा परीक्षा (इपिएस–टपिक)मा गत वर्षभन्दा ६ हजार ४ सय ८३ जनाभन्दा बढी परीक्षार्थी सहभागी भएका हुन् ।
 
वैदेशिक रोजगार विभागको इपिएस शाखाका अनुसार आवेदन दिनेमध्ये ७ हजार ३ सय ९८ जना भने परीक्षामा अनुपस्थित भएका छन् । काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ गरी २८ सेन्टरबाट इपिएस परीक्षा लिइएको हो । यसपटकको परीक्षामा अर्काको नाममा परीक्षा दिने २ सय ४७ जना पक्राउसमेत परेका छन् । इपिएस परीक्षाको नतिजा आगामी १६ असारमा आउने इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए ।
 
परीक्षामा यसपटक ७ हजार १ सयजना पास गर्ने सिलिङ तय भएको शाखाले जनाएको छ । त्यसमध्ये ४ हजार ८ सयजना उत्पादनमूलक क्षेत्रमा र २ हजार ३ सयजना कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न आगामी वर्ष कोरिया जान पाउनेछन् । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली कामदारले कोरिया जानुअघि इपिएस–टपिक (कोरियन भाषा) परीक्षा अनिवार्य रूपमा पास गर्नुपर्ने प्रावधान छ ।
 
इपिएस कार्यक्रमअन्तर्गत सन् २००८ देखि यता करिब ५३ हजार नेपाली कामदार कोरिया गइसकेका छन् । ४ वर्ष १० महिनाका लागि कोरियामा काम गर्ने अनुमति दिइने भए पनि फर्किएकाहरूको तथ्यांक व्यवस्थित नहुँदा हाल त्यहाँ कार्यरत नेपालीको संख्या भने यकिन गर्न सकिने अवस्था छैन । कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्यका रूपमा रहेको छ । द्विपक्षीय सम्झौताका आधारमा सरकारले नै नेपाली कामदार कोरिया पठाउँदै आएको छ ।
 
Published on: 11 June 2018 | Naya Patrika

Back to list

;