s

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई नेपाली बहराइन र साउदी अरबमा पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्त विदेशमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा एकजनालाई बहराइन र अर्कालाई साउदी अरबबाट पक्राउ गरेको हो । 

कास्कीका अशोक गुरुङ बहराइनबाट र उदयपुरका गोविन्द मगर साउदी अरबमा पक्राउ परेका हुन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका दुवैजना वैदेशिक रोजगारीका क्रममा त्यहाँ पुगेका थिए । दुवैलाई नेपाल ल्याउन प्रहरीको इन्टरपोल शाखाले कूटनीतिक पहल अघि बढाएको छ । 

पोखरामा हत्या, बहराइनमा हतकडी

साढे १५ वर्षअघि पोखरामा भएको एक हत्याका आरोपी हुन्, अशोक गुरुङ । गत २९ मंसिरमा उनलाई बहराइनको प्रहरीले पक्राउ गरेको हो । गुरुङलाई नेपाल ल्याउन कूटनीतिक माध्यमबाट सुपुर्दगीको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

२९ वैशाख ०६३ मा उनले पोखराको सातमुहानेमा रोजन राईको हत्या गरेका थिए । आपसी विवादमा झगडा हुँदा टाउकोमा चिर्पटले हानेर राईको हत्या गरिएको थियो ।

त्यसयता फरार रहेका गुरुङ बहराइन पुगेको सूचना पाएपछि प्रहरीले उनलाई रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोलबाट गत २७ मंसिरमा रेड नोटिस जारी भएको थियो । त्यसको दुई दिनपछि बहराइनमा उनी पक्राउ परेका हुन् ।

बहराइनले एक महिनाभित्र सुपुर्दगीका लागि कूटनीतिक माध्यमबाट आउन नेपाललाई पत्राचार गरेको छ । सोहीअनुसार नेपाल प्रहरीले गुरुङविरुद्धको अभियोगबारे गृह र परराष्ट्र मन्त्रालय हुँदै बहराइनलाई पत्राचार गरेको थियो । त्यसका आधारमा त्यहाँको अदालतले सुपुर्दगी गर्न आदेश दिएपछि नेपाल ल्याइने प्रक्रिया अघि बढ्नेछ । दुई देशबीच सुपुर्दगी सन्धि नहुँदा उनलाई साउदीले निष्कासन गरी नेपाल पठाउनेछ । 

प्रेमिकाका आमा–बुबा हत्या गरेर साउदी गएका थिए मगर

इन्टरपोलबाट रेड नोटिस जारी भएका गोविन्द मगरलाई इन्टरपोलकै सहयोगमा प्रहरीले पक्राउ गरेको हो । उदयपुरका मानबहादुर तामाङ र उनकी श्रीमती हर्कमायाको हत्या अभियोग उनीमाथि छ ।

 

आफूसँग प्रेम–सम्बन्ध भएकी छोरीको अरूसँग विवाह गरिदिएको रिसमा उनले युवतीका आमा–बुबाको बीभत्स हत्या गरेका थिए । मगरले सुरुमा मानबहादुरमाथि आक्रमण गरेका थिए । हर्कमाया रोक्न आउँदा उनको समेत हत्या गरेका थिए । 

घटनापछि फरार मगरविरुद्ध गत वर्ष माघमा रेड नोटिस जारी भएको थियो । उनलाई लिन नेपाल प्रहरीको टोली साउदी अरब जान लागेको प्रहरी स्रोतले जनाएको छ ।

६ देशमा प्रहरी सहचारी खटाउन प्रस्ताव

अन्तरदेशीय प्रकृतिका अपराधको सहज अनुसन्धान र नियन्त्रणका लागि ६ देशमा प्रहरी कन्सुलर राख्न नेपाल प्रहरीले पुनः प्रस्ताव गरेको छ । मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । त्यस्तै, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको कार्यालयमा पनि सहचारी खटाउन प्रस्ताव गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दर्जाको सहचारी खटाउन प्रहरीको प्रस्ताव छ । प्रहरीले पटक–पटक यस्तो प्रस्ताव गरे पनि सरकारले निर्णय गरेको छैन । हाल भारतको नेपाली दूतावासमा मात्र नेपाल प्रहरीका सहचारी छन् ।

खासगरी, धेरै नेपालीको बसोवास रहेको देशमा सहचारी खटाउन प्रस्ताव गरिएको छ । ती देशसँग मानव तस्करी, हुन्डीलगायतका अपराधको अनुसन्धानमा पनि सहज हुने प्रहरी अधिकारीहरूको भनाइ छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहजीकरणका लागि स्थायी प्रतिनिधिको कार्यालयमा सहचारी खटाउन प्रहरीले प्रस्ताव गरेको जनाएको छ ।

६ देशमा प्रहरी सहचारी खटाउन प्रस्ताव 

अन्तरदेशीय प्रकृतिका अपराधको सहज अनुसन्धान र नियन्त्रणका लागि मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई)मा प्रहरी सहचारी खटाउन प्रहरी प्रधान कार्यालयद्वारा गृहलाई पत्राचार

Published on: 28 December 2021 | Nayapatrika

Link

Back to list

;