s

एकपटकको नेपाली सधैंको नेपाली

रामप्रताप थापा

नेपालबाट विदेश जाने क्रम रोकिएको छैन । विभिन्न देशमा पुगेका नेपाली संगठित हुने क्रम पनि बढेको छ । यो विदेशप्रतिको आकर्षण होइन, बाध्यता हो । साथै उनीहरूले विदेशी नागरिकता लिनु भनेको उनीहरूले त्यो देशप्रति गरेको सेवा र बौद्धिक क्षमताको कदर हो । ती देशले उनीहरूलाई निरन्तर रूपमा त्यहीँ राख्नका लागि पनि नागरिकता दिएका हुन् । ज्ञान आर्जन, रोजगार लगायतका अवसरको खोजीमा विदेश जानुपर्ने बाध्यता पनि छ । तर विदेश गए पनि कसैले आफ्नो देशलाई बिसर्ंदैनन् । आर्जित ज्ञान, सीप र पुँजी कसरी जन्मभूमिमा लान सकिन्छ, अधिकांशका मनमा यही प्रश्न सधैं उठिरहेको हुन्छ । यसको प्रमाण यहाँ आइरहेको ठूलो रकमको रेमिट्यान्स पनि हो । पैसामात्र होइन, ज्ञान, सीप र नयाँ-नयाँ व्यवसायसहित नेपाल फर्किने नेपालीहरूको संख्या विस्तारै बढिरहेको छ । विदेशमा धन कमाएका नेपालीले सञ्चार, जलविद्युत्, बैंक तथा वित्तीय, पर्यटनजस्ता क्षेत्रमा अर्बौं लगानी गरेका उदाहरण छन् । विदेशमा लगानीका अवसर नभएर होइन, देशको मायाले पनि पुँजी, ज्ञान र सीप यहाँ आएको हो ।

चीनमा पहिले लगानी भित्र्याउने आप्रवासी चिनियाँहरू नै थिए । भारतको बैंगलोरलाई सूचना क्रान्तिको नमुनासरह बनाउने विदेशमा ज्ञान, सीप र धन कमाएका भारतीयहरू नै हुन् । जापानको अर्थतन्त्रमा पनि विदेशबाट सिकेर आउनेको योगदान निकै ठूलो छ । थुप्रै देशमा यस्ता उदाहरण छन् । यदि संसारभरि फैलिएका नेपालीहरूको सीप र पुँजीलाई परिचालन गर्ने हो भने नेपाल पनि केही वर्षभित्रै यस्तै उदाहरण बन्न सक्छ ।

सन् १९७० दशकयता विश्वमा भएको राजनीतिक परिवर्तन र यातायातको सुगमताले आप्रवासीको संख्या बढेको छ । यसभन्दा अघि पनि देश-विदेश जाने प्रचलन नभएको होइन । तर विशेषगरी सन् १९९० पछि उच्चशिक्षा तथा रोजगारीको अवसर खोज्दै विदेश जाने नेपालीहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । यसपछि विकसित-अल्पविकसित देशले अप्रवासीका लागि नीतिहरू बनाउन थाले । जस अनुसार विश्वका झन्डै १ सय ५० देशले द्वैध नागरिकतालाई पहिलो प्राथमिकतामा राखेका छन् । विगत एक दशकयता नेपालमा पनि विदेशमा बस्ने नेपालीप्रति देशको के दायित्व हुन्छ भन्ने बहस भइरहेको छ । यस्ता बहसमा विदेशमा बस्ने अधिकांश नेपाली देशभित्र आर्थिक विकास र सामाजिक क्षेत्रमा ठूलो योगदान दिन सक्छन् भन्नेमा स्पष्ट देखिन्छन् ।

नयाँ बन्ने संविधानमा नेपाली नागरिकता निरन्तरताको व्यवस्था हुनसक्यो भने यसबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो जन्मभूमिमा सीप, ज्ञान र धन लिएर आउने आधार तयार हुन्छ । यसले जहाँ रहे पनि मेरो देश नेपाल हो, त्यहीँ केही गर्छु भन्ने महसुस गराइरहन्छ । यो एउटा गर्व गर्ने विषय पनि हो । विदेशबाट आफू आउनेमात्र होइन, पर्यटन प्रबर्द्धन, निकासी व्यापार विस्तार लगायत धेरै क्षेत्रमा आप्रवासी नेपाली सक्रिय हुनसक्छन् । देशको सद्भावना दूतका रूपमा काम गर्न सक्छन् । साथै वैधानिक रूपमा त्यहाँका सरकार र नागरिकसँग नेपालको पक्षमा बहुआयामिक लबिङ पनि गर्न सक्छन् । यसले नेपाललाई फाइदाबाहेक कहीँ पनि बेफाइदा हुँदैन । नेपालमा तोकिएको मिति र प्रक्रियाअनुसार नै संविधान निर्माण  भइदिएको भए  हामीले  नागरिकताको विषयमा यतिसम्म हन्डर र दुःख भोग्नु पर्दैन थियो । किनभने तत्कालीन संविधानसभाका सदस्यहरूदेखि प्रमुख राजनीतिक दलका शीर्षसम्म गैरआवासीय नेपालीहरूका लागि नागरिकताको व्यवस्था गर्न सकारात्मक भइसकेका थिए ।

तर एनआरएनलाई नेपाली नागरिकता दिनै हुन्न भन्नेमात्रै होइन, विदेश गएका नेपाली अब नेपाल फर्किनु पनि कुनै आवश्यकता छैन भन्नेसम्ममा तर्कहरू यदाकदा सुनिँदै आएका छन् । हाम्र्रो भनाइ कुनै पनि नेपालीले विदेशी नागरिकता प्राप्त गरेमा निजको नेपाली नागरिकता स्वतः खारेज हुने वा त्याग्नुपर्ने प्रावधान झििकदिने वा विदेशी नागरिकता लिँदा नेपाली नागरिकता त्याग गर्नुपर्ने बाध्यता नरहने भन्ने सुझाव तत्कालीन संविधानसभाका सदस्य, दलका नेता र नेपाल सरकारलाई दिइएको हो । तर वास्तविकतालाई बुझ्ने हो भने हाम्रो माग दोहोरो नागरिकता थिएन र होइन । सत्यता के हो भने यो दोहोरो नागरिकता अर्थात नेपाली नागरिकता कायम राख्ने माग युरोप अमेरिकामा बसोबास गरिरहेका नेपालीको मात्र नभई सम्पूर्ण गैरआवासीय नेपालीको संयुक्त चाहना र माग हो ।

हामी विदेशमा रहँदा पनि नेपाली भएर बस्न पाउने अनि हाम्रो देश नेपाल हो भन्ने गौरव गरेर देश जान पाइयोस् भन्ने हो । नत यो हाम्रो पुस्ताका लागिमात्र अत्यन्त आवश्यक कुरा हो । यो त हाम्रो पुस्तौं-पुस्ता सन्ततिहरूका लागि हो भन्ने कुरामा विश्वस्त बनाउन हामीले बिभिन्न किसिमका छलफल र अन्तरक्रियामात्रै होइन, सबैजसो शीर्ष नेता र सरकारी अधिकारीहरूलाई व्यक्तिगत रूपमा भेटेर पनि भन्यौं । विदेशमा आउने हरेक नेतालाई गैरआवासीय नेपाली साथीहरूले पनि बिभिन्न किसिमले भनिनै रहनुभयो । फलस्वरुप हामीले कार्यदलको तर्फबाट राजनीतिक दलदेखि भोलि संविधान लेख्ने  हैसियतमा रहेका नेतादेखि दलहरूसम्मलाई नागरिकता नहुँदाको अवस्था र दिँदा नेपालले पाउने फाइदाका बारेमा एक हदसम्म कन्भिन्स गर्न सक्यौं । तर कर्मचारी प्रशासन र केही  बुद्धिजीवीहरूले  यो विषयलाई सहज रूपले लिन सकिरहेको देखिँदैन ।

नागरिकता शब्दसँग नागरिकका नागरिक अधिकार बिभिन्न रूपले गाँसिएका हुन्छन् । त्यसैले अहिलेको गैरआवासीय नेपालीसम्बन्धी ऐनले गरेको परिचयपत्रले गैरआवासीय नेपालीको आकांक्षा पुरा गर्दैन । नेपालीसँग कानुनी रूपमा उसको सम्बन्धको आधारलाई चुस्त-दुरुस्त राखिरहनका लागि गैरआवासीय नेपाली निश्चित समयमा नेपाल आउनु अनिवार्य हुनसक्छ, जसले नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटनलाई परिणाममुखी सहयोग हुन्छ । जबकि एक व्यक्ति नेपाल आएर र्फकंदा कम्तीमा दुई-तीन लाखसम्म खर्च गरेको हुन्छ, जुन पर्यटन विकासमा सकारात्मक उपलब्धि हो । त्यसका लागि राज्यले गैरआवासीय नेपालीहरू लिन होइन, नेपाललाई दिन आइरहेका छन् भन्ने सोचको विकास गरेर उनीहरूको लागि ढोका खुल्ला गर्ने अवस्थामा पुग्नुको विकल्प छैन ।

आज विश्व बैंक लगायत अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले गैरआवासीय नागरिकको लगानीको अत्यन्त महत्वपूर्ण स्थान हुने कुराको पुष्टि गरेका छन् । दोहोरो नागरिकता प्रावधानले नेपाली संस्कृति र समाजसँग विदेशमा आफ्ना आमाबुबा मार्फतमात्रै सम्पर्कमा आएका दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई नेपाल भित्र्याउन हौसला दिनेछ । संसारमा पुगेर आफ्नो पौरखमा धन, विद्या, बुद्धि आर्जन गरिरहेका नेपाली र तिनका सन्तति नेपालप्रति बफादार भइरहनसकेमा नेपाल राष्ट्र कमजोर होइन, समृद्ध बन्छ । त्यसका लागि नेपालको नागरिकताले एउटा जीवन्त तन्तुको काम गर्छ ।

तीव्र गतिले आर्थिक वृद्धि गरिरहेका दुई छिमेकी मुलुकहरूबीच राष्ट्रियताको जगेर्ना गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न देशभित्र वा बाहिर जहाँ बसेका भए पनि सबै नेपालीलाई एकजुट गर्नु समयको आवश्यकता भएको छ । बीपी कोइराला भन्नुहुन्थ्यो, राष्ट्रियता भनेको भूगोलमात्र होइन, जनता हुन् । आज हामीले बिर्सन नहुने कुरा के हुन् भने नेपाली जनता नेपाल भित्रमात्र सीमित छैनन्, आफ्नो पौरख देखाउंँदै संसारभरि फैलिएर रहेका छन् । देशभित्र बसेका हुन् वा विदेशमा सबै नेपालीले हातेमालो गरी अगाडि बढेमा मात्र एउटा सक्षम र समृद्ध नेपालको निर्माण सम्भव छ । एक्काइसौं शताब्दीमा पनि आफ्नै माटोमा जन्मिएका आफ्नै दाजुभाइ, दिदीबहिनीहरूलाई बाहेक गरेर नेपालको विकास सम्भव छैन । त्यसैले आशा गरौं, एक पटकको नेपाली सधैंको नेपाली भन्ने हाम्रो अभियानलाई दोस्रो संविधानसभाको चुनावमा भाग लिन लागिरहेका राजनीतिक दलहरूले मात्रै हैन, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी र सञ्चार क्षेत्र सबैको समर्थन प्राप्त हुनेछ । त्यसो त सकारात्मक सुझाव र स्वस्थ आलोचनालाई गैरआवासीय नेपालीहरूले सधैं स्वागत गरेकै छन् ।

Published on: 24 September 2013 | Kantipur

Back to list

;