s

एकै दिनमा सच्यायो अध्यागमनले परिपत्र

काठमाडौँ — एउटा मुलुकको रोजगार भिसा अवधि कायम रहेको तर श्रमस्वीकृति नलिएको व्यक्तिलाई भिजिट भिसामा प्रस्थान अनुमति दिने कि नदिने भन्ने विषयमा अध्यागमन विभागले एकै दिन फरक–फरक परिपत्र गरेको भेटिएको छ ।

गत कात्तिक २६ गते गृह मन्त्रालयले गरेको मन्त्रीस्तरीय निर्णयलाई थप प्रस्ट पार्ने भन्दै विभागले पुस ७ मा गरेको परिपत्रमा गृहले आपत्ति जनाएपछि अघिल्लो परिपत्रलाई उल्टाइएको हो । चलानी नम्बर ६४९ को पत्रमा विभागले विमानस्थल अध्यागमनका नाममा पहिलो परिपत्र गरेको थियो । विभागका महानिर्देशक ईश्वरराज पौडेलको हस्ताक्षर रहेको परिपत्रमा खाडीका ६ देश र मलेसियाको रोजगार भिसा प्राप्त गरेको तर श्रमस्वीकृति नपाएको व्यक्ति ती मुलुकमा पर्यटक भिसामा जान खोजे अनुमति नदिने व्यहोरा थियो ।

उक्त परिपत्रमा गृहसचिव प्रेमकुमार राईले आपत्ति जनाएपछि महानिर्देशक पौडेलले अघिल्लो पत्रको निर्देशन उल्टाउने गरी सोही दिन दोस्रो पत्र काटेका हुन् । चलानी नम्बर ६५१ रहेको दोस्रो पत्रमा ‘निर्णय कार्यान्वयन नगर्ने सम्बन्धमा’ भन्ने विषय राखिएको छ । दोस्रो पत्रमा एउटा मुलुकको म्यादसहितको रोजगार भिसावाहकले श्रमस्वीकृति नलिएको अवस्थामा सोही मुलुक वा अन्य मुलुकमा भिजिट भिसामा जान दिने सम्बन्धमा अन्योल भएको उल्लेख छ । दोस्रो पत्रमा लेखिएको छ, ‘यो विषय हाल गृह मन्त्रालयसमेत पठाई छलफलकै क्रममा रहेको हुँदा हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न अनुरोध छ ।’

आफैंले दिएको निर्देशन उल्ट्याउनुपर्ने अवस्थामा उनी किन पुगे त ? स्रोतका अनुसार मन्त्रीस्तरीय निर्णय उल्टाएको भन्दै अध्यागमनकै कर्मचारीले गृहसचिव राईलाई ब्रिफिङ गरेपछि राईले उक्त कुरा गृहमन्त्री रामबहादुर थापासमक्ष पुर्‍याएका थिए । त्यसलगत्तै गृहकै निर्देशनमा महानिर्देशक पौडेललाई परिपत्र उल्टाउन निर्देशन दिइएको थियो । श्रम विभाग स्रोतका अनुसार व्यक्तिगत पहलमा श्रमस्वीकृति लिने अनि सोही मुलुकमा रोजगार भिसामा पठाउने सेटिङमा अध्यागमनकै केही कर्मचारीको संलग्नता देखिन्छ । महानिर्देशकको परिपत्रले त्यस्तो सेटिङ कमजोर हुने भएपछि केही कर्मचारीले त्यसविरुद्ध गृहसचिवलाई गुहारेका थिए ।

पुस ३ मा पनि दुबईको पर्यटक भिसा देखाएर कतार पुग्न खोजेका ९ नेपालीलाई विमानस्थल अध्यागमनको सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेका थिए । ती नौ जनासँग कतारको रोजगार भिसा थियो तर उनीहरूले श्रमस्वीकृति नलिईकन पर्यटक भिसामा कुवेत हुँदै दुबई पुग्ने र त्यहाँबाट कतार जाने योजना बनाएका थिए । अध्यागमन कक्ष पार गरेका नौ जनाको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीहरूको खानतलासी गरेको थियो । सोही क्रममा उनीहरूको साथबाट कतारको कामदार भिसा र अन्य कागजात फेला परेको थियो ।

यसअघि घरेलु महिला कामदारका निम्ति प्रतिबन्धित देशमा उडाउन संगठित समूहले झन्डै यस्तै शैलीमा विमानस्थल अध्यागमनका कर्मचारीलाई झुक्याएका थिए । असोज १२ मा पाँच नेपाली महिलाले नक्कली भारतीय मतदाता परिचयपत्र लिएर भारत जाने भन्दै अध्यागमन पार गरेका थिए ।

विमानस्थलको अन्तिम सुरक्षा कक्षमा जाँचका क्रममा मात्रै उनीहरू नेपाली भएको र अध्यागमन जाँच गर्नकै निम्ति मात्र उनीहरूले नक्कली भारतीय मतदाता परिचयपत्र देखाएर परिचय छल्न बुर्का लगाएको खुलेको थियो । एयर इन्डियाको बोर्डिङ पास देखाएर अध्यागमन जाँच पास गरेका पाँचै जना महिलाको साथबाट प्रहरीले ओमनको भिसा र ओमन एयरको बोर्डिङ पास लुकाएको खुल्यो ।

Published on: 5 January 2020 | Kantipur

Link

Back to list

;