s

एकै दिन पाँच कफिन

रक्सीको लतमा फसेका पतिलाई नेपाल फर्काउन मलेसिया गएकी डोल्मा गोले उनको शव लिएर फर्किइन् । शोककै बीच डोल्मालाई परिवार पाल्नकै लागि फेरि मलेसिया हान्निनुपर्ने हतारो छ । गोलेजस्तै कफिनमा फर्किएका अन्य चार जनाका आफन्त पनि अब परिवार कसरी धान्ने भन्ने चिन्तामा छन् ।

त्रिभुवन विमानस्थलमा बिहीबार एकै दिन ५ वटा शव आइपुगे । चारवटा मलेसियाबाट आएका थिए भने एउटा कतारबाट । वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी ५ मध्ये एक जना थिए, आइतसिंह गोले ।

मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ नेपालीमध्ये आइतसिंह एक थिए । ८ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि डोल्मामाया गोले आफैं ४ वर्षअघि त्यहाँ गएकी थिइन् । हिरापुर–९ सर्लाहीका आइतसिंह अवैध कामदारका रूपमा बसेका थिए भने डोल्मा वैध बाटोबाट गएकी थिइन् । केहीअघि नेपाल फर्किएकी डोल्मा एक महिनाअघि फेरि मलेसिया पुगेकी थिइन् ।

‘आइतबार बिदाको दिन थियो । बाहिरै मदिरा पिएर बेलुका कोठामा आउनुभएको थियो । त्यो दिन खासै केही भएन,’ त्रिभुवन विमानस्थलमा डोल्माले भनिन्, ‘सोमबार ड्युटी गएर फर्किनुभएको थियो । म ड्युटीबाट कोठामा आउँदा एकदमै स्याँस्याँ गरिराख्नुभएको रहेछ । मैले औषधि लिएर आए । तुरुन्तै अस्पताल लिएर जाने अवस्था थिएन ।

अवैध रूपमा बसिरहेकाले उहाँ पनि जान मान्नुभएन । विषालु मदिरा शरीरमा फैलिँदै गएछ । मंगलबार बिहान म ड्युटी गएँ । कोठाबाट ५ मिनेटमा हिँडेर कम्पनी पुगिन्थ्यो । उहाँ आराम गर्छु भन्दै कोठामै बस्नुभयो । दिउँसो आँखा देख्न छोड्नुभएछ । दम पनि बढेछ । छिमेकी भाइले फोन गरेर बोलाएपछि म गएँ । उहाँ निकै गलिसक्नुभएको थियो । नजिकैको क्लिनिकमा लिएर गएँ । क्लिनिकले एम्बुलेन्स बोलाएर अस्पताल पठाइदियो । अस्पताल पुग्दा उहाँको ज्यान गइसकेको थियो ।’

आइतसिंह आफू गएको कम्पनी छाडेर बसेका थिए । उनले घरमा नियमित पैसा पठाउन पनि छोडेका थिए । उनीहरूका तीन छोराछारी छन् । ‘पतिले पैसा नपठाएपछि उनीहरूलाई हुर्काउन, पढाउन गाह्रो भयो, उहाँले धेरै रक्सी खान थाल्नु भएछ । थाहा पाएपछि बच्चाहरूलाई बहिनीको जिम्मा लगाएर श्रीमान्लाई सपार्न र फर्काउन आफैं मलेसिया गएँ,’ डोल्माले भनिन्, ‘रक्सी खान कम भइसकेको थियो । कहाँबाट विषाक्त रक्सी भेट्नुभयो, थाहै भएन ।’

शव ल्याउन पनि कठिन भयो । ‘शव ल्याउन जहाजमा ३३ सय रिंगेट लाग्यो । मेरो टिकटको २२ सय,’ डोल्माले भनिन्, ‘म काम गर्ने कम्पनीमा झन्डै ३ सय नेपाली छन् । उनीहरूले सहयोग गरे ।’

गोले दम्पतीका १७ र १५ वर्षका छोरी छन्, छोरा १० वर्षका । सर्लाही लगेर श्रीमान्को अन्त्येष्टि गरेपछि डोल्मा फेरि मलेसिया जाने योजनामा छिन् । ‘कम्पनीले २५ दिनको बिदा दिएको छ । श्रीमान्को काम सकेपछि मलेसिया फर्किन्छु । बच्चाहरूको जिम्मेवारी मेरै काँधमा छ,’ उनले भनिन् । 
***
नाम्काकोट–५, नवलपरासीका ३० वर्षीय दुर्गासिंह रानाको शव पनि थाई एयरवेजको त्यही उडानमा आइपुग्यो । पतिको शव बुझ्न गाउँबाट दुई काखेबालक च्यापेर २४ वर्षीया हेमती राना त्रिभुवन विमानस्थल आएकी थिइन् ।

शव कहाँ आउँछ, कसरी बुझ्ने नबुझेर उनी अलमलिरहेकी थिइन् । उनलाई पतिको मृत्युको कारणबारे पनि केही बताइएको छैन । ‘मलाई श्रीमान्को मृत्यु कसरी भयो, कसैले केही भनेको छैन,’ हेमतीले भनिन्, ‘शव बुझ्न काठमाडौं आउनु भनेर फोनमा खबर आएको थियो ।’

उनीसँगै आएका आफन्त जसबहादुरलाई पनि पूर्ण जानकारी छैन । दुर्गा मलेसियामा आल्मुनियमको काम गर्थे । ‘श्रीमान् चार वर्षअघि मलेसिया गएका हुन् । त्यसपछि नेपाल आएका थिएनन्,’ उनले भनिन्, ‘कुनै–कुनै महिना १०/१५ हजार रुपैयाँ पठाउँथे । घर आउनू भन्दा आउँछु मात्रै भन्थे ।’

हेमतीले पतिको शव गाउँ लगिनन् । ‘हामी चार/पाँच जना आफन्त आएका छौं । पशुपतिमै अन्त्येष्टि गर्छौं । गाउँ लिएर जान सम्भव छैन । मोटरबाटो छैन,’ जसबहादुरले भने, ‘यो बाकस बोकेर जाने बाटो पनि छैन । मोटरबाट झरेर तीन घण्टा हिँड्नुपर्छ ।’ 
***

३५ वर्षीय धर्मेन्द्र साह गुप्ताको शव लिन दाजु राजकिशोर साह र भान्जा धीरज साह आइपुगेका थिए । भिन्डावर–७, रौतहटका धमेन्द्र ६ वर्षअघि मलेसिया गएका थिए । ‘श्रीमतीको उपचारका लागि काठमाडौं आएको थिएँ । एक्कासि धर्मेन्द्रको शव बुझ्न आउनु भन्ने खबर आयो,’ राजकिशोरले भने । उनीहरू शव गाउँ लिएर जाने तयारीमा छन् ।

गत कात्तिकदेखि बिरामी परेका धर्मेन्द्र असोज २ गते नेपाल आउँदै थिए । ‘विमानस्थल आइसकेपछि उनलाई बिरामी देखेर विमान चढ्न दिइएन । अस्पताल लगियो,’ दाइ राजकिशोरले भने, ‘असोज ३ गते अस्पतालमै मृत्यु भएछ ।’ बिरामी परेपछि उनले घरमा पैसा पनि पठाउन सकेका थिएनन् । धर्मेन्द्रका तीन छोरी र एक छोरा छन् । छोरीहरू १३, ११ र ६ वर्षका छन् भने छोरा ९ वर्षका छन् । ‘उनीहरूको त बिचल्ली भयो,’ राजकिशोर भावुक भए, ‘अब सब भगवान् भरोसा छ ।’ 
***

सिरहाका रामकिशोर मण्डलको शव लिन मध्याह्नसम्म विमानस्थलमा कोही आइपुगेको थिएन । थाई एयरवेजबाट १२:३० बजेको उडानमा शव आइपुगेको थियो । ७ वर्षदेखि मलेसियामा कार्यरत मण्डलको मेसिन चलाउने क्रममा दुर्घटनामा परी असोज ५ गते मृत्यु भएको थियो ।

‘हामीलाई शुक्रबारमात्रै शव आउने खबर आयो,’ छोरा विजय मण्डलले टेलिफोनमा भने, ‘बिहीबारै आएछ ।’ कार्गोले मण्डलका सम्पर्क व्यक्तिको नाम र ठेगाना नै गलत पठाएको रहेछ । त्यसैले पीडित परिवारले बेलैमा सूचना पाएनन् । शव आइपुगेपछि बल्ल खबर भयो । काठमाडौंमै रहेका विजयले साँझ पिताको शव बुझे । 
***

१४ वर्षीय विगनकुमार साह तेली त्रिभुवन विमानस्थलको आगमन कक्षबाहिर यताउति गरिरहेका थिए । उनी आफ्ना काका र गाउँलेको साथ लागेर कतारमा मृत्यु भएका पिता रामबाबुको शव लिन आएका थिए । ‘काकाहरू भित्र शव लिन जानुभएको छ । मलाई बाहिर बस्दा हुन्छ भने,’ उनले भने । विगनको घरमा आमा र तीन वर्षका भाइ छन् ।

रौतहटका ४९ वर्षीय रामबाबुको काम गर्ने क्रममा खसेर भदौ ३० गते मृत्यु भएको थियो । ८ महिनाअघि कतार गएका उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । विगन जयकिसान उच्च माविमा ८ कक्षामा पढ्छन् । उनले आफ्नो घरको आर्थिक अवस्था नाजुक भएको बताए । ‘आमालाई सम्झाउन सकिरहेको छैन । अहिले नै मैले के गर्ने ?,’ उनी चिन्तित भए, ‘अब मेरो पढाइ रोकिन्छ कि जस्तो लागेको छ ।’

उनले पिताको शव गाउँ नै लिएर जाने बताए । ‘सबैले गाउँमै ल्याउनुपर्छ भनेका छन्,’ उनले भने, ‘हाम्रो घर नजिक खोला छ । त्यहीँ लैजाने हो ।’

Published on: 29 September 2018 | Kantipur

Back to list

;