s

एकै दिन ५८ हजार आवेदन

तुलसी सुवेदी

दक्षिण कोरियाले प्रदान गर्ने रोजगारीका अवसरप्रति युवाको आकर्षण बढ्दो देखिएको छ। आकर्षक कमाइ हुने भएपछि युवा कोरिया जान लालायित देखिएका हुन्।

ईपीएस कोरिया शाखाका अनुसार कोरिया रोजगारीका लागि आवेदन सुरु भएको पहिलो दिनमै ५७ हजार एक सय ९० जनाले पैसा जम्मा गरेका छन्। तीमध्ये ५३ हजार सात सय ३१ जनाको फारम रजिष्ट्रेसन भइसकेको छ। यो तथ्यांक शुक्रबार साँझ सवा ६ बजेसम्मको हो। कोरिया रोजगारीका लागि २४सै घण्टा अनलाइनबाट पैसा तिर्न र फारम भर्न सकिने व्यवस्था गरिएको छ। शाखा प्रमुख कृष्ण खनालका अनुसार कोरिया रोजगारप्रति युवाको क्रेज बढ्दै गएको छ। ‘एकैदिन करिब ५८ हजारले फारम भर्नु आकर्षण नै हो’, उनले भने, ‘यसपालि अनलाइनबाट भुक्तानी गर्न मिल्ने भएकाले फारम भर्नेको संख्या ह्वात्तै बढेको हो।’
 
कोरियाले यस वर्ष १० हजार ५० जना कामदार लैजाने तयारी गरेको छ। एकैदिनमा करिब ६ गुणा बढी कामदारले कोरियाका लागि फारम भरेका छन्। विगतका वर्षमा एकैदिनमा बढीमा ४० हजारको हाराहारीमा युवाले फारम भरेका थिए। कोरिया रोजगारीका लागि चैत्र १७ गते राति १२ बजेसम्म फारम भर्न सकिने छ। गतवर्ष ८२ हजारले मात्रै कोरिया रोजगारीका लागि आवेदन दिएका थिए। खनालले अनलाइनबाट पैसा भुक्तानी गर्ने व्यवस्था गरेकाले गतवर्षको जस्तो भीडभाड नभएको बताए। ‘केही व्यक्ति नबुझेर पहिलेजस्तै ठानेर लाइन लागेछन्’, उनले भने, ‘शुक्रबार दिउँसोदेखि लाइन कम भइसकेको छ।’
 
युवाले इ–सेवा, आईएमई, स्मार्ट बैंकिङ, ग्लोबल आईएमई बैंक तथा मोबाइल एप्सबाट समेत २४ डलर शुल्क जम्मा गर्न सक्ने छन्। खनालले आफूलाई सजिलो हुने गरी युवाले परीक्षा शुल्क जम्मा गर्न र फारम भर्न सक्ने बताए। पोखरा र काठमाडौंमध्ये परीक्षार्थीले आफूले चाहेको केन्द्र रोज्न पाउनेछन्। तर पोखरामा सुरुमा आउने १२ हजारले मात्र फारम भर्न पाउनेछन्। शाखाका प्रवक्ता शोभाकर भण्डारीका अनुसार अनलाइनबाट फारम भर्नेको संख्या अधिक छ। इ–सेवाबाट सवा ६ बजेसम्म २७ हजार सात सय ६२ जनाले कोरिया रोजगारीका लागि शुल्क बुझाएका छन्। आईएमईबाट १५ हजार सात सय ६२, स्मार्ट बैंकिङबाट एक सय ५५ र ग्लोबल बैंकबाट १४ हजार एक सय ८ जनाले परीक्षा दस्तुर बुझाएका छन्।
 
‘अनलाइनबाट भुक्तानी गर्ने व्यवस्थाले युवालाई फारम भर्न सजिलो भएको छ’ उनले भने। विगतको तुलनामा यसपालि निवेदन बढी पर्न सक्ने शाखाको अनुमान छ। शाखाका अनुसार कृषि क्षेत्रमा १६ हजार एक सय ४४ र उत्पादनतर्फ ३७ हजार पाँच सय ८८ जनाले फारम भरेका छन्। कोरियाले यस वर्ष उत्पादनमूलक क्षेत्रमा सात हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार कामदार लाने तयारी गरेको छ। सन् २०१९ को ईपीएस परीक्षा आगामी जेठ २५ र २६ गते हुँदैछ। कोरियाले १६ देशबाट वार्षिक ५० हजारदेखि ५५ हजार कामदार लाने गरेको छ। कोरियाले यस वर्ष नेपाली कामदारको कोटा दुई हजारले बढाएको छ।
 
अन्जानमा सास्ती
 
नबुझेर लाइन लाग्दा युवाले सास्ती पाएका छन्। परीक्षा दस्तुरका लागि कतिपय युवा आवेदन खुल्नु १२ घण्टाअघि नै लाइन लागेका थिए। अनामनगरको ग्लोबल आईएमईमा भेटिएका अधिकांश युवाले अनलाइन सिष्टमबाट फारम भर्न थाहा नपाएकाले लाइन लागेको बताएका थिए। दाङ हापुरेका रामकुमार खत्री ईपीएस (रोजगार अनुमति प्रणाली) भाषा परीक्षाका लागि अनामनगरस्थित ग्लोबल आइएमई बैंकमा बिहानै भेटिए। उनी अनामनगर सात बजे नै आइपुगेका थिए।
 
सरकारले ईपीएसका लागि अनलानइनमार्फत परीक्षा शुल्क बुझाउन सकिने व्यवस्था गरे पनि अधिकांश युवा बैंकमा लाइन लागेका थिए। बैंक १० बजे खुल्ने भए पनि युवा बिहानैदेखि लाइनमा लागेका थिए। ‘पहिला आउनेको सूची तयार गरी भौचर भरेका छौं’, उनले भने, ‘यसो गर्दा अनावश्यक लाइन लाग्नुपर्र्दैन।’
 
अनामनगर भेटिएका अधिकांश युवा अघिल्लो वर्षको परीक्षामा सहभागी भएका थिए। ईपीएसका निर्देशक खनालले बैंकमा लाइन लागेर सास्ती पाउनुभन्दा आफूलाई पायक पर्ने साइबारबाट फारम भर्नु सजिलो हुने बताए।
 
Published on: 23 March 2019 । Annapurna Post

Back to list

;