s

एक महिनापछि फर्किने तयारी गर्दै थिए धिरज, छोराछोरीसँग कुरा गर्न फोन गरिरहन्थे सुरज

धनुषा मिथिला नगरपालिका-८ का २७ वर्षीय धिरज गुर्माछान मगर वैदेशिक रोजगारीका लागि कुवेत गएको चैतको अन्तिममा दुई वर्ष पूरा हुन्थ्यो। कुवेतमा रहेको पापाजन कम्‍पनीमा उनी कुक थिए।

दुई वर्ष पूरा भएसँगै चैत-वैशाखमा धिरज स्वेदश फर्किने तयारी गरिरहेका थिए।

आइतबार उनले धनुषामा रहेका बुवा बलबहादुर गुर्माछान मगरलाई फोन गरेका थिए। कुराकानी गर्दा उनले आफू भान्जाभान्जीका लागि सामान किन्न जान लागेको बताएका थिए।

'फर्किने बेला भयो। साथीभाइसँग भेटघाट गर्नु पर्‍यो भन्दैथियो,' बलबहादुरले भने, 'साथीहरूलाई भेटेर फर्किने बेला त्यस्तो भएछ।'

धिरजका साथीहरूले बताएअनुसार सोमबार साँझ साथीभाइसँग भेटघाट गरी खाना खाएर समुद्रमा घुम्न गएका रहेछन्। समुद्र घुमेर फर्किने क्रममा सोमबार मध्यराति दुर्घटनामा परेको हो।

धिरजले प्रत्येक साँझ एकपल्ट घरमा फोन गर्थे। सोमबार भने गरेनन्। आफूले गर्दा अनलाइनमा नदेखाएको उनी बताउँछन्।

'अनलाइनमा फोन नलागेपछि कतै व्यस्त होला भन्ने लाग्यो,' उनले भने, 'कुरा नभएको दोस्रो दिन छोराका साथीले दुर्घटनामा परेको जानकारी गराए।'

उनको परिवारले मंगलबार अपराह्नसम्म कुनै पनि जानकारी पाएका थिएनन्। राति ८/९ बजेतिर धिरजको साथीले उनकी जेठी छोरीलाई फेसबुकमा म्यासेज गरेर दुर्घटनामा परेको खबर सुनाएका थिए।

दुर्घटनामा परेको भनेपछि घाइते मात्र भएको होला भन्ने लागेको थियो। उनले भावुक हुँदै भने- 'बुझ्दै जाँदा घटनास्थलमै मृत्यु भएको रहेछ।'

छोराको मृत्यु भएको खबर सुनेपछि उनकी आमा बेहोस भइन‍्। धिरज घरका एक्ला छोरा हुन्। उनको तीन दिदी र एक बहिनी छन्।

धिरज घर फर्किएर केही समय परिवारको साथमा बस्न चाहन्थें। त्यसैले परिवारले उनी आउने दिन गनेर बसेको बुवा बलबहादुरले सेतोपाटीलाई जानकारी दिए।

एसएलसीसम्म मात्र अध्ययन गरेका उनी २१ वर्षको उमेरमा साउदी पुगे। त्यहाँ तीन वर्ष काम गरेर फर्किएका हुन्। उनी साउदीबाट स्वदेशमै केही व्यापार व्यवसाय गर्ने योजनाले फर्किएका थिए। तर कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी कुवेत गएको बलबहादुर बताउँछन्।

'कुवेतमा पनि ठीकठाकै थियो। राम्रै भइरहेको थियो, दुर्घटनाले ज्यानै लियो,' बलबहादुरले भने।

कुवेतस्थित रहेको नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमका अनुसार धिरजसहित ३ जना नेपालीको मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएको हो।

उनीसँगै नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की,अछाम पञ्चदेवल विनायक नगरपालिका-५ का सुरजबहादुर कडायतको मृत्यु भएको हो।

उनीहरू साथी-साथी हुन्।

अछाम पञ्चलदेवल विनायक नगरपालिका-५ का सुरजबहादुर कडायतको बारेमा पनि हामीले उनका परिवारसँग कुराकानी गरेका छौं।

उनका बुबा नरबहादुर कडायतका अनुसार २६ वर्षीय सुरज कुवेत गएको डेढ वर्ष भयो। उनी पापाजोन कम्पनीमा वेटर कामका लागि गएका थिए।

सुरजको परिवारसँग अनलाइनमा कुरा भइरहन्थ्यो। उनको दुई छोरी र एक छोरा छन्।

बच्चासँग कुराकानी गर्नका लागि भए पनि उनले फोन गरिरहन्थे। आइतबार फोनमा कुराकानी हुँदा आफू ठीकठाक भएको जानकारी गराएको सुरजका बुबा नरबहादुरले जानकारी दिए।

'दुई दिनअघि ठीकठाक भएको मान्छे दुई दिनपछि मृत्यु भएको खबर आयो,' सुरजका भतिज दिनेश कडायतले भने, 'काकी (डल्ली कडायत) लाई मेनपावरले फोन गरेर मृत्यु भएको खबर गरेको हो।'

मंगलबार दिनभर अनलाइन नहुँदा कुनै काममा व्यक्त भएको हो कि भनेर परिवारले सोचेका थिए। तर नराम्रो खबर सुन्नुपरेको दिनेशले जानकारी दिए।

सुरज लामो समय भारतमा काम गरेपछि कुवेत गएका थिए। आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन उनी विदेशिएका थिए। तर अंकल बाकसमा फर्किने भए भन्दै दिनेश भक्कानिए।

साथीहरूसँग साँझ खानपिन गरेर घुम्न निस्किएको र कोठामा फर्किने बेला दुर्घटनामा परेको दूतावासले जनाएको छ। शव ल्याउन प्रक्रिया थालिएको उनीहरूले बताएका छन्।

Published on: 15 March 2024 | Setopati

Link

Back to list

;